बलात्कारका घटना बढ्न थालेपछि त्यसको विरोधमा प्रदर्शन गरेका छन् । युवाहरुको समुहले बलात्कार विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा आइतबार धर्ना दिएको थियो ।
उनीहरुले बलात्कारको विरोधमा कालो पहिरन लगाएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । विभिन्न हाते ब्यानर तथा शरिरमा बलात्कार विरुद्धका नारा कोरेर युवा युवतीहरुले शान्तिपूर्ण रुपमा धर्ना दिएका हुन् ।
धर्नामा बसेका युवाहरुले बलात्कारीहरुलाई हदैसम्मको कारबाहीको माग गरेका थिए । धर्नामा बसेका युवायुवतीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग समेत गरे ।
‘बलात्कारीलाई फाँसी दे’ लेखिएको प्लेकार्डसहित धर्ना दिन पुगेका जिल्लाका युवायुवतीले यस्तो माग गरेका हुन् । विभिन्न बाल क्लव तथा युवा क्लवमा आवद्ध युवायुवतीहरुले विभिन्न ९ बुँदे माग राख्दै प्रशासन अगाडि धर्ना दिएका थिए ।
उनीहरुले संविधानको धारा संसोधन गरेरै भएपनि बलात्कारीलाई फाँसी वा हदैसम्मको कारवाही हुनुपर्ने माग राखेका थिए । उनीहरुले पछिल्लो समय बलात्कारका घटना बढेको भन्दै चिन्ता व्यक्त गरे ।
यसैबीच आइतबार नै बर्दियाको बाँसगढी बलात्कार र तेजाव आक्रमण विरुद्ध प्रदर्शन गरिएको थियो । युवाहरुको समुहले बाँसगढी बजारमा कालो पहिरन लगाएर बलात्कार र तेजाव आक्रमणको विरुद्धमा प्रदर्शन गरेका थिए ।
बाँसगढीको खनाल चोकदेखि सुरु भएको विरोध प्रदर्शन एसओसएस चोकमा गएर समापन भएको थियो । एसओसएस चोकमा विभिन्न नारा देखिएका प्ले कार्डहरु उनीहरुले प्रदर्शन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्