कोहलपुर ।
नेपालगञ्जस्थित भेरी अस्पतालका चार कर्मचारी र ११ व्यवसायी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ४ जना अस्पतालका कर्मचारी र ११ जना व्यवसायीक फर्मका सञ्चालक गरी १५ जनाविरुद्ध बिहीबार अख्तियारले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । गत साउन ८ गते अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालका कम्प्यूटर अपरेटर अरूणराज खनालको कार्यकक्षबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ सहित उनलाई समेत नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपछि अस्पतालका लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर अरूणराज खनाल, लेखापाल इन्द्रबहादुर खत्री र सह–लेखापाल प्रेमबहादुर खत्रीसमेतको योजना र मिलेमतोमा आर्थिक वर्ष ०७६÷०७७ मा सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिसन लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो । चारै जनालाई १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन आउने सजाय माग गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
बरामद नगद, बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका लाख ६६ हजार ५ सय मुल्यका तीन थान मोवाइलसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र अपुग बिगो १ लाख ३२ हजार ५९५ रुपैयाँ सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत गर्न हुन समेत मागदाबी लिइएको छ । अख्तियारका प्रवक्ता अधिकारीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कर्मचारीहरुलाई घुस÷रिसवत उपलब्ध गराएको देखिएकोले ११ वटा व्यवसायीक फर्मलाई पनि विशेष अदालतमा आरोप–पत्र दायर गरिएको उल्लेख छ ।
घुस दिएको भनी मुद्दा दर्ता गरिएको नेपालगञ्जका व्यावसायिक फर्मका सञ्चालकहरुमा नेपाल स्टोरका सञ्चालक साहिद हुसैन हलवाई, श्री लुम्बिनी स्टेशनरी नेपालगञ्जका सञ्चालक पूर्णिमा भण्डारी, श्री कमला इन्टरनेशनल तथा कृष्ण इन्टरनेशनल नेपालगञ्जका सञ्चालक दिपेन्द्र अग्रवाल, श्री हनुमत स्टेशनरी एण्ड अर्डरसप्लायर्सका सञ्चालक राजेन्द्रकुमार सोनी, इन्फोसिस बाँके खजुराका सञ्चालक सुदिप रिजाल, रोशनी स्टील फर्निचर उद्योगका सञ्चालक इजामुद्दिन खाँ, रवि इलेक्ट्रिकल सप्लायर्सका सञ्चालक अब्दुल अली अन्सारी, अम्बे फर्निसिंङ गार्डेनका सञ्चालक पंकजकुमार श्रेष्ठ, बागेश्वरी विज्ञापन सेवाका सञ्चालक ज्ञानबहादुर वली, न्यु निजाम स्टोरका सञ्चालक कमालुद्दिन मुकेरी र ओसियन इन्टरनेशनल तथा पश्चिमान्चल डिस्ट्रिव्यूटरका सञ्चालक अबनिश कुमार अग्रवाल छन् ।
यी फर्मका सञ्चालकहरुले कम्तीमा २० हजार रुपैंयाँदेखि एक लाख ६१ हजार रुपैयाँसम्म घुस दिएको आरोप–पत्रमा उल्लेख छ । सबै फर्मका सञ्चालकलाई फरक फरक बिगो, कसुर तथा सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए । उनीहरुले अस्पतालका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह–लेखापाल प्रेम बहादुर खत्रीलाई घुस÷रिसवत रकम उपलब्ध गराएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्