प्रदेश नम्बर ५ राजधानी देउखुरी, नाम लुम्बिनी प्रस्ताव



शिवु खनाल,दाङ ।

प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सभामा पेश गरेको छ । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा पेस गरेका हुन् । दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

प्रदेशको स्थायी राजधानी प्रस्ताव गरिएको दाङ देउखुरीको भालुवाङ क्षेत्र ।                                    तस्विरः शिवु खनाल


‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गर्छु,’ मन्त्री केसीले संसदमा भने, ‘प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्छु ।’ नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । मन्त्री केसीले प्रतिपक्षीलगायत सांसदलाई नाम र राजधानीमा समर्थन जनाइदिन पनि आग्रह गरेका थिए । उनले उक्त प्रस्ताव गरेलगत्तै विपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख पूर्णबहादुर घर्तीले संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए । यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले जानकारी दिए । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्षको सहमतिपछि प्रदेश सरकारले राजधानी र नामबारे शुक्रबार प्रदेश सभामा प्रस्ताव लगेको हो । अब प्रदेश मन्त्रीपरिषद्को यो निर्णयसँगै उक्त विवाद टुंगिएको छ । नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरणसम्बन्धी छलफल संसदमा सुरू भएको जानकारी दिए । राजधानी र नामांकरणका लागि दुई तिहाई मत
चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ ।

यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए । नेकपा संसदीय दलको आज शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ । यसअघि गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको
छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १७ गते शनिबार