बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकाले नगरबासीबाट लिँदै आएको भूमि करमा ५० प्रतिशत रकम छुट दिने निर्णय गरेको छ । नगरपालिकाले नगरको सातौं नगरसभाबाट भूमिमा लिँदै आएको करमा ५० प्रतिशत रकम छुट दिने निर्णय गरेको हो ।
कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थतिलाई दृष्टिगत गरी करमा छुटको योजना ल्याएको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।
भूमि करका साथै नगरपालिकाले विगतमा उठाउँदै आएको व्यवसाय कर, उद्योग कर, सटर भाडा कर, घर बहाल करलगायत अन्य सबै प्रकारका करमा पनि ३० प्रतिशत छुट गर्ने निर्णय गरेको उनले बताउ । ‘कर छुट योजनाले नगरबासीलाई केही हदसम्म राहत मिल्नेछ’ नगर प्रमुख अधिकारीले भने ।
नगरपालिकाले नगरबासीबाट नागरिकता सिफारिसबाफत कुनै पनि शुल्क नलिने निर्णय समेत गरेको छ । कोरोना महामारीका बेला नगरबासीलाई आर्थिक भार केही हदसम्म भए पनि कम होस् भन्ने मनसायले कर तथा शुल्क छुटको योजना ल्याएको उनले जानकारी दिए ।
महामारीका बेला नगरपालिकाले कर तथा विभिन्न शुल्कमा दिएको छुटले राहत मिलेको स्थानीय रामकेशर चौधरी बताए । यसैगरी नगरका जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना भाइरसको प्रभाव अवधिभर कुनै पनि बैठक भत्ता नलिने निर्णय गरेका छन् । महामारीमा बैठकका नाममा भत्ता लिनु उचित नभएको हुँदा यसको प्रभाव नसकुन्जेल जनप्रतिनिधि र कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरिएको नगरप्रमुख अधिकारीले बताए ।
कोरोनाका कारण देश–विदेशबाट रोजगार गुमाएर आएका युवाहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याइएको उनले जानकारी दिए । ‘नगरपालिकाले बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गरी स्वरोजगारको अवसर सिर्जना गर्ने नीति तथा कार्यक्रम ल्याएको छ’ उनले भने, ‘यसबाट बेरोजगारलाई केही सहज हुनेछ ।’









प्रतिक्रिया दिनुहोस्