सहज वातावरण बनाइदिने प्रतिवद्धता



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले निर्माण व्यवसायीहरुलाई सहज वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बसेको नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन सम्बन्धी प्रि–विड बैठकमा उनले सो कुरा बताएका हुन् । ‘राज्यको नीति÷नियम अनुसार निर्माण व्यवसायीले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री, वितरण गर्न कठिनाई हुने परिस्थिती रहेको छ’ उनले भने, ‘निर्माण व्यवसायीलाई काम गर्ने वातावरण सहज बनाउन संघ र प्रदेश सरकारको जिम्मेवारी पनि उत्तिकै रहेको छ ।’

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि राप्तीसोनारीका विभिन्न खोला तथा नदीमा ठेक्का खुल्ला गरिसकेको छ । गत भदौं १९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको गाउँपालिकाले यही असोज १७ गते बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र असोज १८ गते दिउँसो १२ बजेसम्मका लागि बोलपत्र दर्ता गर्नुपर्ने अन्तिम मिति तोकेको उनको भनाई रहेको थियो । ‘अब गाउँपालिकाले सुरक्षाको जिम्मा लिन्छ’ उनले थपे, ‘यसमा हामी निर्माण व्यवसायीहरुलाई प्रतिबद्धता दिन चाहन्छौं ।’

गाउँपालिकाले नदीजन्य पदार्थको ठेक्का सञ्चालन गरेर वार्षिक करोडौंको राजश्व उठाउने गरेको स्मरण गराउँदै अध्यक्ष थारुले सुरक्षा निकायसँग समन्वय गरेर यहाँको सुरक्षा व्यवस्था गरी सहज रुपमा काम गर्ने वातावरणमा बनाउने प्रतिबद्धता जनाए । निर्माण ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष सुरेशकुमार चन्दले राप्तीसोनारीमा सुरक्षाको समस्या देखिरहेको बताएका थिए । ‘निमार्ण व्यवसायीहरुले ठेक्का पार्नुहुन्छ’ उनले भने, ‘तर विभिन्न तह र तप्काबाट प्रेसरहरु आउने भएकाले यसलाई गाउँपालिकाले सम्बोधन गर्नुपर्दछ । सुरक्षा निकायको कार्यालय समेत यहाँ राखेर निर्माण व्यवसायीहरुको सुरक्षामा ध्यान दिइयोस् ।’

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले नदी तथा खोला बन्द भएपनि चोरी निकासी नरोकिएको बताइन् । ‘गाउँपालिकाले नीति, नियम अनुसार नदीजन्य पदार्थ बिक्री वितरण गर्न सहजीकरण गर्न तयार रहेको छौं । राज्यको कानुन सबैले पालना गर्नुपर्छ’ उनले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नदीजन्य पदार्थ बिक्री, वितरण गर्ने जिम्मा स्थानीय सरकार दिइएकोले व्यवस्थित रुपले ठेक्का सञ्चालन गर्ने तयारीमा गाउँपालिका रहेको जानकारी दिए । ‘नदीजन्य पर्दाथ अनुगमन गर्न जिल्लामा छुट्टै समिति रहेको छ’ उनले भने, ‘गाउँपालिकाले पनि आफ्नो तर्फबाट निरन्तर अनुगमन गरेर चोरी, निकासी हुन बन्द गर्नेछौं ।’ नदीजन्य पदार्थको ठेक्का ब्यवस्थापन सम्बन्धी प्रि–विड बैठकमा आएका निर्माण व्यवसायीहरुले आफुलाई विश्वास दिएको भन्दै खुसी व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार