30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

थलिइन् क्यान्सरपीडित बृद्धा, युवाले थाले क्यान्सरपीडित आमा बचाउँ अभियान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

बर्दिया ठाकुरबाबा–२ कर्मलाकी ५८ वर्षीया वन्धरा कामी क्यान्सरले थलिएको २ महिना भयो । अहिलेसम्म उनले उपचार पाएकी छैनन् । प्रारम्भिक जाँचबाट उनलाई स्तन क्यान्सर भएको चिकित्सकले जनाएका छन् । वन्धरालाई वर्षदिन अघि स्तनमा घाउ देखिएको थियो । समयमै उपचार नपाउँदा त्यो घाउले अहिले क्यान्सरको रुप लिएको छ ।

उपचार खर्चको अभावमा उनी अस्पताल जान सकेकी छैनन् । सुकुम्बासी बस्तीमा सानो टहरोबाहेक उनीसँग केही छैन । उनका सन्तान पनि छैनन् । पती सामुदायिक वनका चौकीदार छन् । पतीको सामान्य कमाईले यो परिवारको छाक जेनतेन टरेको छ । क्यान्सरको उपचारका लागि खर्च जुटाउने उनको कुनै उपाए नै छैन । साझविहानको छाक जेनतेन टारेको यो परिवार यतीखेर बिचल्लीमा छ । क्यान्सर अस्पतालसम्म पुगेर उपचार गर्ने यो परिवारको सपना नै भएको छ ।

‘जेनतेन साझविहानको मुख जोरेका छांै । यसैमा यस्तो विपत आइ पर्यो । उपचारका लागि खर्च जुटाउने कुनै उपाय नै छैन । अब त रोग र भोक दुबैले मरिने भइयो,’ क्यान्सरपीडित वन्धराले वेथा सुनाइन् । जतीजती दिन बित्दै छ, उनको व्यथा पनि झनै बढ्दै गएको छ । समयमै उपचार गर्न नपाउँदा उनको रोग पनि बल्झिदै जान थालेको छ । ‘समय बित्दै गएको छ । रोग झनै गाझिदै गएको छ । उपचार गर्ने कुनै उपाए नै छैन । मृत्यु कुरेर बस्नु परेको छ,’ पीडित वन्धराले पिँडा पोखिन् ।

क्यान्सरपीडित बन्धराको पिँडामा मलम लगाउन स्थानिय २ जना युवा आर्जन रिजाल र जेनिश थापाले ‘क्यान्सरपीडित आमा बचाउँ अभियान’ पनि चलाएका छन् । तर अभियानबाट क्यान्सर रोगको उपचारमा लाग्ने खर्च जुटाउन मुस्किल परेको अभियानका युवा आर्जन रिजालले बताए । अभियानबाट संकलन भएको रकमले पीडित बृद्धालाई उनीहरुले एक महिना अघि क्यान्सर अस्पताल भरतपुर चितवनसम्म पुर्याएका थिए । त्यहा पहिलो चरणको चेकजाँच मात्र भएको युवा आर्जनले बताए । चिकित्सकले बृद्धाको स्तन क्यान्सर दोस्रो चरणमा पुगेको बताएको अभियानका अर्का युवा थापाले बताए । चिकित्सकले उनलाई तत्काल केमो थेरापी पद्धतीबाट उपचार गरि अप्रेशन गर्नु पर्ने बताएको युवा आर्जनले सुनाए ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:46:22 AM  |