पीडित भन्छन्, ‘साथीले नै पराईको भूमिमा लिएर ठगे, धम्कि दिए, पैसा लुटे । अहिले खुलेयाम हिडिरहेका छन् । हामीलाई न्याय चाहियो ।’ जागिर लगाइदिने आस्वासन दिएर युवाहरुको लाखौं रुपैयाँ ठगी गर्ने दुवैजना अहिले बाँकेमा नै खुलेआम हिडिरहेका छन् ।
शुभाकर विश्वकर्मा/डिल्ली शाही । कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका–३ का चित्र बहादुर सुनार स्नातक तह पढ्नको लागि काठमाडौं गएका थिए । संगीतमा रुचि राख्ने उनको पढाईसँगै संगीत सिक्ने र साइट जागिर गर्ने उद्देश्य थियो । काठमाडौ गएपछि उनले संगीत पनि सिक्न पाए, सानो जागिर पनि । एकदिन उनको आफ्नै गाउँका एकजना साथीसँग फेसबुकमा कुराकानी भयो । कुराकानीको क्रममा ती साथीले आफू भारतको एक प्रतिष्ठित कम्पनीमा काम गर्ने र कमाई राम्रो हुने जानकारी दिए ।
उनी थिए, बैजनाथ–३ कै गणेश परियार । (नाताले चित्रका नाति, सँगै पढेकोले उनी साथी नै भन्थे ।) गणेशलाई चित्रले भने, ‘कस्तो छ त्यहाँको अवस्था । म संगीत पनि सिक्न चाहन्छु । जागिरको अवस्था के छ ?’ गणेशले संगीतको लागि नभएपनि जागिरको लागि भने आफूले हाकिमलाई सोध्ने जानकारी गराए । घरको आर्थिक अवस्था समेत कमजोर भएका चित्रलाई राम्रो जागिरको खाँचो थियो । गणेशले महिनामा भारु १८ हजार रुपैयाँ कमाई हुन्छ भने । पछि दुई– चार दिनपछि फेरी फेसबुकमा भने, ‘मैले कुरा गरेको छु । १–२ जनाको लागि मात्र ठाउँ रहेछ । जागिरको लागि नागरिकता र प्रमाणपत्र समेत आवश्यक हुन्छ ।’
पछि चित्रले घरमा आमालाई कुरा सुनाए । आमाले राम्रो हुने भए जाने सल्लाह दिइन् । भारतमा धेरै नेपाली ठगिन्छन् भन्ने सुनेका चित्रलाई अझै पूर्ण रुपमा विश्वास लागेको थिएन । उनले गणेशका घर परिवार समेतलाई सोधे । सबैले राम्रो भएको बताए । साथीसँग कुरा भएपछि पढिरहेका उनी २०७५ माघ १ गते काठमाडौंबाट घर आए । थप कुरा बुझे गणेश गाउँकै साथी प्रकाश विकको घरबाट ५० हजार रुपैयाँ सापटि गरेर कम्पनीमा गएका रहेछन् । धेरै करकाप गरेपछि अन्नतः धेरै सपना बुनेर माघ अन्तिम साता उनी भेनासँग भारतको उत्तरप्रदेशको सितापुर गए ।
गेलेज ट्रेनिङ इन्डिया प्राइभेट लिमिटेड कम्पनीमा । ९० हजार ऋण निकालेर उनी त्यहाँ पुगेका थिए । केही दिन उनी कम्पनीमा बसे । पछि थाहा पाए । कम्पनीमा मानिसहरुलाई जागिर लगाइदिने नाममा ठगी धन्दा चल्दो रहेछ । आफ्नै साथीबाट भोगेको दुव्र्यवहार सम्झिदै उनी भन्छन्, ‘सबै मैले खर्च गर्थे उसको लागि । साँघुरो कोठा, पशुलाई दिने जस्तो खाना । सयौं जना एउटै कोठामा बस्ने रहेछन् । महिना बित्यो तलब आउँदैन । आस्वासन मात्रै दिने ।’ हदै भएपनि उनले साथीहरुलाई घर जाने बताए । तर उनलाई घर आउन पनि दिइएन । उनी बिरामी परे । औषधि समेत कसैले गरिदिएन । सधै धम्कि मात्रै दिने ।
उनका अनुसार ९ महिनापछि हजारांै पटक अनुनय गरेपछि घर आउन दिए । धन कमाउन गएका उनी घरमा आउँदा विरुप भएर आए । चेक गराउँदा चौथौ तहको जन्डिस भएको रहेछ । केही महिना औषधि गरे । जागिरको नाममा बेरोजगारहरुलाई प्रलोभन देखाउने, त्यहाँ लिएर ठग्ने र बाहिर आउन खोज्दा धम्कि दिने भएकोले चित्रलाई जान मन त थिएन । तर नागरिकता, अन्य सर्टिफिकट, सबै त्यहाँ थियो । केही दिन मै फर्किन्छु भनेर गए । त्यहाँ जाँदाउनलाई फर्किन दिइन । सबै डकुमेन्टहरु लुकाईदिने, केही बोल्यो की बन्द कोठामा लिएर धम्कि दिने गरे ।
गणेश सहितका अन्य केटाहरुले मारिदिने धम्कि समेत दिन थाले । यसरी उनको विना कमाई, १९ महिना बित्यो । त्यहाँ उनी मात्र थिएनन् बैजनाथ कै धेरै जना थिए । उनीहरु पनि गणेशकै मातहतमा गएका थिए । उनी मध्येका एक, बैजनाथ– १ का सम्मान देवकोटा समेत हुन् । उनी त्यहाँ ८ महिना बसे । उनले पनि ८ महिनाको अवधिमा तलबको नाममा एक सुको समेत पाएनन् । उनी पनि २०७५ माघ ११ गते त्यहाँ पुगेका थिए । उनले सपनामा पनि सोचेका थिएनन् । आफूसँगै पढेको हुर्केको साथीले ठग्ला भनेर । ‘म यहाँ प्राविधिक शिक्षा पढिरहेको
थिए । साथीले भनेपछि राम्रै होला भनेर गए । त्यहाँ जाँदा त मान्छे ठगी गर्ने धन्दा चल्दो रहेछ ।
पछि धेरै दुःख गरेर फर्किए ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । गणेश मार्फत सितापुरस्थित गेलेज ट्रेनिङ इन्डिया प्राइभेट लिमिटेडमा भारु १८ हजार ‐नेपाली २८ हजार रुपैयाँ) दिएका थिए । बैजनाथ–२ आशाराम थारु पनि त्यही कम्पनीबाट ठगिने मध्येका एक हुन् । आफ्नै ठाउँमा एक ग्यारेजमा काम गरिरहेका उनीलाई पनि आर्थिक प्रलोभन देखाएरै त्यहाँ लगिएको थियो । उनले आफूलाई शुरुमा जाँदा नेपाली ३५ हजार तलब पाइन्छ भनेर लगि ठगिएको बताए ।
आठ महिना त्यहाँ बसेका उनी त्यहाँबाट फर्किएपछि भने ऋण तिर्न नसकेर बसिरहेका छन् । ‘गाउँका धेरै जना गइरहेका थिए । मलाई पनि प्रलोभन देखाएर लगियो । अफिस हुन्छ भनियो । धेरै तलब छ भनियो । पछि त ठगे । रिक्तो हात फर्किए’ उनी आफ्नो दुःख सुनाउँछन् । त्यही कम्पनीमा २०७५ सालको फागुन महिनामा बैजनाथ–१ का हेमराज बस्याल पनि त्यहाँ पुगे । गाउँमा तेक्वान्दो गुरु उनलाई गणेशले नै त्यहाँ पु¥याएका हुन् । उनी भन्छन्, ‘बच्चाहरुलाई तेक्वान्दो सिकाउँथे । त्यही वर्ष बैंकबाट लोन निकाएर घर लगाएका थियौं । ऋण थियो । यहाँको कमाईले पुग्थेन । गणेशले पनि कुरा गरिरहेको थियो । दुईचार रुपैयाँ कमाउँला भनेर गएको थिए । पैसा ठगिएर, कुटाई खाएर धन्न बाँचेर घर आए ।’ उनीहरु मात्रै होइन बैजनाथ १ सय भन्दा बढी ठगिएको उनीहरु बताउँछन् । पीडितहरु भन्छन्, ‘साथीले नै पराईको भूमिमा लिएर ठगे, धम्कि दिए, पैसा लुटे ।
अहिले खुलेयाम हिडिरहेका छन् । हामीलाई न्याय चाहियो । यहाँ प्रहरीले पनि हाम्रो दुःख बुझेन ।’ विभिन्न समयमा आफ्नै गाउँले, साथीबाट ठगिएका उनीहरुले बैजनाथकै गणेश परियार र प्रकाश थारुको नाममा जागिर लगाईदिन्छु भन्दै भारतमा लिएको तथा ठगी गरेको भन्दै उजुरी दिएका छन् । भाद्र १८ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा जागिरको प्रभोभन देखाएर पैसा ठगेको भन्दै उजुरी दिएको चित्रले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय कोहलपुरले ती व्यक्तिको नाममा ठाडो उजुरी आएको पुष्टि गरेको छ । मुद्दा शाखाका असई रणधिर जैशीले उनीहरुको नाममा चित्र सुनार लगायतका व्यक्तिले उजुरी दिएको बताए । उनका अनुसार उजुरी पर्नासाथ ईलाका प्रहरी कार्यालय वनकटुवालाई जानकारी गराइएको थियो ।
‘दुई जना व्यक्तिको नाममा उजुरी परेको छ । हामी केही दिनमा दुवै पक्षलाई बोलाएर यर्थात् बुझ्छांै । त्यसपछि थप प्रक्रिया अघि बढ्छ’ उनले भने । जागिर लगाइदिन्छु भन्दै गाउँका साथीहरुलाई भारत लिएका गणेशले भने आफूले चित्र लगायतका व्यक्तिलाई सितापुरमा लिएको स्वीकार गरेका छन् । उनले आफू पनि अरुको माध्यमबाट गएको भन्दै उनीहरुलाई पनि लिएको बताए । मिसन टुडे दैनिकसँग टेलिफोनमा कुराकानी गर्दै गणेश भन्छन्, ‘मलाई प्रकाश थारुले लिएको हो । राम्रो हुन्छ भन्थे । मैले पनि अरुलाई लिए ।
त्यहाँ कम्युटर सम्बन्धी जागिर पाइन्छ । तलब पनि धेरै हुन्छ भनेर गएको हो । म पनि ठगिए । अब त त्यहाँ जान्न ।’ यस विषयमा बुझ्न प्रकाश थारुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । युवाहरुलाई रोजगारी दिने भन्दै लाखौं रकम ठग्ने दुवैजना गणेश र प्रकाश बैजनाथमा नै घुमिरहेका छन् । पीडितहरुले भने प्रहरीले समेत आफुहरुलाई सहयोग नगरेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्