थारु समुदाय घर घरमै जितिया पर्व मनाउँदै



जितिया पर्व सुरु भएको छ । तीन दिन मनाइने जितियाको पहिलो दिन नदीमा जाने र माछा मारेर ल्याउने गरिन्छ । दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने गरिन्छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर सामूहिक रुपमा झाम्टा नाच्दै जितिया मनाउने गरिएकोमा यो वर्ष कुनै रौनक छैन ।

जितिया अन्तर्गत आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलर्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाको पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु भएको हो ।

अष्टमी तिथिमा निराहार व्रत हुन्छ । त्यसअघि अन्न र फलफूल ग्रहण गरिन्छ, जसलाई ‘ओठघन’ भनिन्छ । यसपल्ट तिथि हेरफेर भएकाले व्रतालुले ओठघन गर्न पाएका छैनन् । नवमी तिथिमा पूजापाठ गरेर पर्व समापन हुन्छ । व्रतालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्ने भएका छन् । यसवर्ष कोरोना महामारीका कारण घरघरमै जितिया पर्व मनाइँदै छ । सामूहिक नाचगान र भोजभतेरमा भने रोक लगाएको थारु कल्याणकारी संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार