कोहलपुर ।
मुखमा मास्क, हातमा पञ्जा सहित आइसोलेसन होटलको माथिल्लो सिँढी दुई जना ओर्लिए । उनीहरुको विदाई र हौसलाको लागि तीन जना तयारी अवस्था थिए । दुवैजना यूवा अवस्थाका थिए । झोला समेत बोकेका थिए दुवैजनाले । केही छिनमै उनीहरुको विदाईको लागि अनौपचारिक कार्यक्रम पनि सुरु भयो ।
आइतबार बाँकेको कोहलपुरस्थित होटल अतिथिको आइसोलेसन सेन्टरमा देखिएको दृष्य हो यो । आइतबार कोहलपुर –११ का एक दम्पतिले कोरोना जिते । उनीहरुको सम्मानका लागि हौसला प्रदान गर्दै नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेल सुरु मै बोले । ‘सर्वप्रथम यहाँहरुलाई बधाई हाम्रो तर्फबाट । दुवैजनाले १५ दिनमा कोरोना संक्रमणलाई जित्नु भएको छ ।
फेरी पनि एक साता तपाईहरु होम आइसोलसेनमा बस्नुपर्नेछ । त्यसपछि आवश्यक स्वास्थ्य सुरक्षाका साथ बस्नुपर्नेछ ।’ उनले भने । पोखरेलले फेरी बोले, तपाईहरुको लागि अर्को अवसर पनि छ । तपाईहरु संक्रमित हुनुभयो, कोरोना जितिपनि सक्नुभएको छ । अहिले प्लाज्मा थेरापीबाट पनि कोरोना संक्रमितको उपचार विधि सुरु भएको छ । चाहानुहुन्छ भने, संक्रमितको व्यक्तिको उपचारको लागि आवश्यक पर्ने प्लाज्मा थेरापी दिन सक्नुहुनेछ ।
त्यसपछि कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य नारायणी वली र वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रवक्ता माधव रिजालले संयुक्त रुपमा १४ दिन आइसोलेसन बसाई सकेको प्रमाणपत्र सहितको कागज र पुष्पगुच्छा सहित विदाई गरे । त्यसपछि बोल्दै कोरोना जितेका मध्येका पुरुषले आइसोलेसन बसाई अत्यन्तै राम्रो भएको र नगरपालिका तथा जनप्रतिनिधि तथा कर्मचारीहरुबाट निकै ठूलो सपोर्ट भएको बताए । उनका अनुसार १४ दिने आइसोलेसन बसाईको क्रममा कुनैपनि असुविधा भएन ।
‘काम गर्ने क्रममा संक्रमित भइयो, सकुसल कोरोना जितेको छु । कुनै पनि बेला आवश्यक प¥यो भने म अरुको संक्रमितको ज्यान बचाउनको लागि मेरो प्लाज्मा दान गर्न तयार छु । अहिले सम्मको सहयोगको लागि सबैलाई धन्यवाद’ उनले भने ।
उनी कोहलपुरस्थित एक बैंकका कर्मचारी हुन् । आइतबार उनी सहित उनकी श्रीमतीले समेत कोरोना जितेका छन् । प्लाज्मा थेरापीको विषयमा जिज्ञासा राख्दा कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा प्रवक्ता माधव रिजालले कहिलेसम्म अधिकांश कोरोना जितेका व्यक्तिहरुले जतिबेला पनि प्लाज्मा थेरापी दान गर्न तयार रहेको बताउने गरेका छन् ।
आवश्यक परेको बेला उनीहरुलाई जतिबेला पनि बोलाउन सकिने उनले बताए । प्रवक्ता रिजालका अनुसार कहिलेसम्म कोरोना जितेका
४–५ जना बाहेक सबैले प्लाज्मा दिन तयार रहेको भन्दै प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उहाँहरुको मञ्जुरी बिना प्लाज्मा दान हुदैन । इच्छुकहरुले चाँही आवश्यक परेको बेला सहयोग गर्छौ भन्नु भएको छ ।
अहिले ४–५ जना बाहेक अन्य व्यक्ति प्लाज्मा दिन तयार हुनुहुन्छ’ उनले भने । यस्तै उनले अहिलेसम्म कोहलपुर नगरपालिकामा देखा परेका संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्नु नपरेको बताए । यदि कसैलाई आवश्यक परेमा नगरपालिकाले समन्वय गरिदिने उनको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्