बाँकेमा हट्यो निषेधाज्ञा



कोहलपुर ।

बाँकेमा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । जारी निषेधाज्ञा १३ औं दिनमा शुक्रवार राती १२ बजेपछि लागू हुनेगरी हटाइएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जारी निषेधाज्ञा तत्कालको लागि हटाइएको जानकारी दिए । उनका अनुसार अहिलेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा थप नगर्ने निर्णय गरेको हो ।

‘अति नै कोरोना संक्रमित बढे भने पछि निर्णय हुन सक्छ’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाइ गरेर लगिनेछ ।’ बाँकेमा साउन १७ गते राती १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो । समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । लगातारको निषेधाज्ञाले जनजिवन प्रभावित बन्न थालेपछि प्रशासनले अन्य उपायहरु अबलम्वन गरेर शुक्रवार रातीदेखि लागू हुनेगरी निषेधाज्ञा हटाउँने निर्णय केही दिनअघि निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले माक्स नलगाएर हिँड्नेलाई कारबाही गर्ने बताए । जिल्लामा बिहीवारदेखि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका थिए भने शुक्रबारदेखि बजार व्यवसायसमेत खुलेका छन् । बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै गएको छ । आइतवारदेखि सरकारी कार्यालयहरु समेत सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सवारीमा जोर–बिजोर

निषेधाज्ञा हटेसँगै आजबाट बाँकेमा सार्वजनिक सवारी साधनहरु समेत खुल्ने भएका छन् । सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । ‘शनिवारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ’ उनले भने, ‘जोर–बिजोर प्रणलीलाई अटेर गरी सवारी साधन सञ्चालन गरे संक्रामक रोग निवारण ऐन र सवारी ऐन अन्तरर्गत जरिवाना २ हजारसम्म जरिवाना हुन्छ ।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक समेत रहेका प्रजिअ कुरुम्बाङले अनावश्यक हुने भिडलाई नियन्त्रण गर्नको लागि सवारीमा जोर–बिजोर प्रणाली लागू गरिएको बताए । आज शनिवार जिल्लामा बिजोर अंकका सवारी साधन मात्र चल्न पाउनेछन् । जोर अंकका सवारी चलेको खण्डमा कारवाही गरिने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

अटेर गरेर जोर अंकका सवारी चलाएको पाईएमा सवारी साधन नियन्त्रणमा लिएर २ हजार जरिवाना गरिनेछ । आज जोर अर्थात् अन्तिममा ०, २, ४, ६, ८ आउने निजी सवारी साधनलाई सडकमा चल्नलाई निषेध गरिएको हो । बाँकेमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि जारी गरिएको निषेधाज्ञा र चारकिल्ला तोकेर गरिएको शिलले केही राहत भए पनि पुनः नेपालगञ्ज तथा आसपासमा भिडभाड बढ्न थालेपछि जोर–बिजोर लागू गर्न परेको प्रजिअ कुरुम्बाङले बताए । सवारी साधन तथा यात्रुहरुले सरकारले तोकेअनुसारको मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिबार