नेपालगञ्ज
बाँकेमा पछिल्लो एकसाता कै सबै भन्दा बढी ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा बाँकेका मात्रै ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल बाँकेले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अस्पतालमा गरिएका कुल ३ सय ३२ नमूनाबाट बाँकेका मात्रै ४९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
नयाँ संक्रमितहरुमा जानकी ५ र खजुरा ४ का १÷१ जना, कोहलपुरका १५ जना र नेपालगञ्जका ३३ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर वडा नम्बर १ का ८ जना, २ का २ जना, ४ का २ जना, ५ का १ जना र ११ का २ जना रहेका छन । कोहलपुरका संक्रमितहरुमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन । त्यसैगरी नेपालगञ्जका १४ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको आरडिटि ÷पिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बाँकेमा ५ सय ४७ जना पोजेटिभ भएकोमा ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन ।
तर शुक्रबार भने एकमुष्ट रिर्पोट सार्वजनिक गरिएको छ । संक्रमितको उमेर, लिङ र ठेगाना केही पनि खुलाइएको छैन । यस अघि भने बाँकेले हरेक दिन संक्रमितहरुको सम्पूर्ण विवरण खुलाउने गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले अघिल्लो दिनकै सबै संक्रमितलाई आइसोलेसनमा राख्न नसकेकाले नयाँ संक्रमितको एकमुष्ट संख्या मात्र उल्लेख गरेको बताए । उनका अनुसार एकैदिन धेरै संख्यामा संक्रमित थपिएपछि व्यवस्थापनको चूनौति थपिएको छ । बाँकेमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
फेरी लम्बियो निषेधाज्ञा
बाँकेमा गत आइतबार देखि जारी निषेधाज्ञा २७ गते सम्म लम्बिएको छ । एकसाता देखि बाँकेमा लगातार कोरोना संक्रमित बढ्न थालेपछि बाँकेमा दोस्रो पटक निषेधाज्ञा लम्ब्याइएको हो । जारी निषेधाज्ञाको समय शनिबार राति १२ बजे सकिदैछ । तर शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २६ गते मंगलबार राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालगञ्ज उपमहानगरपालिकाका चार वटा सिमानामा २४ गते राती देखि २७ गते सम्म पूर्ण सिल गर्ने निर्णय गरिएको जनाइएको छ । सिल गरिएका स्थानमा स्वास्थ्य सुरक्षा, एम्बुलेन्स शबवाहन दमकल बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिनडुल गर्न समेत पूर्णतया निषेध‐ एरिया सिल) गर्ने निर्णय गरिएको हो ।
सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकसम्म चोकबाट, चारबाहिनी चोक,पिपलचौतारा हुँदै बाँके गाउँसम्म पूर्ण निषेध गरिएको छ । यस्तै बाँके गाउँ देखि, रिङरोड,आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोक देखि बसपार्क हुँदै पुष्पलाल चोक भित्रको चार किल्ला रहेको छ । माथि उल्लेखित स्थानहरुमा जथाभावि रुपमा हिनडुल गर्ने, नियमको पालना नगर्ने तथा बाधा पुयाउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० र स्थानी प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्