नेपालगञ्ज ।
बाँकेका तीन स्थानबाट आइतबार २०१ जनाको स्वाब संकलन गरिएको छ । पीसीआर जाँच गर्नको लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । शनिबार आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज र आइतबार यातायात व्यवस्था कार्यालयका एक÷एक जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।
आइतबार नै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व कार्यालयबाट ६८, यातायात व्यवस्था कार्यालय क्षेत्रबाट २८ जना र त्रिभुवन चोकको मिठाइ पसल आसपासबाट १ सय १५ जनाको स्वाब संकलन गरिएको थियो ।
‘समुदाय स्तरमा नै कोरोना देखिन थालेपछि स्वाब संकलन गरेर परीक्षण तिव्र पारेका छौं’ उनले भने, ‘शनिबार संक्रमित पुष्टि भएकी अर्की मजदुरी गर्ने महिलाको समेत कन्ट्याक्ट ट्रेसिङ गरे स्वाब संकलन गर्नेछौं ।’ तीनवटै क्षेत्रबाट कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिहरुमध्ये २०१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि भेरी अस्पताल पठाइएको छ ।
कोहलपुर क्षेत्रबाट गत ८ गते लिइएका ९३ वटा मध्ये ९१ जनाको रिपोर्ट भने नेगेटिभ आएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । तीमध्ये २ महिलाको भने कोरोना पोजिटिभ आएको छ । त्यसैगरी ९ गते नरैनापुर गाउँपालिकाबाट संकलन गरिएका २६ स्वाबको समेत कोरोना रिपोर्ट नेगेटिभ आएको छ । #file Photo









प्रतिक्रिया दिनुहोस्