कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१२ जानकी नगरस्थित रोहिणी खोलामा बालुवाको तटबन्ध निर्माण गरिएको छ । बाढीबाट हुने जोखिम न्युनिकरण र खेतीयोग्य जमिन कटान रोक्नको लागि बालुवाको तटबन्ध निर्माण गरिएको हो । वर्षायाम शुरु भएसँगै खेतीयोग्य जमिन कटानका साथै बस्ती समेत जोखिममा परेपछि सुरक्षाकर्मी तथा स्थानीयहरुको सहभागितामा कोहलपुर १२ को जानकी नगर टोलमा तटबन्ध निर्माण गर्ने कार्य जारी छ ।
केही दिनअघि आएको बाढीले १२ नम्बर वडा र १३ नम्बर वडा जोड्ने पक्की पुल भत्काउँदै आसपासको क्षेत्रमा कटान गर्न सुरु गरेको थियो । अहिले १२ नम्बर वडा तर्फको जानकी नगर टोल क्षेत्रमा कटान रोक्नको लागि तटबन्ध निर्माण गरिएको हो । बाढीले लगातार कटान गर्न थालेपछि बस्ती नै जोखिममा परेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ लगायतको टोलीले यहाँको स्थलगत अनुगमन समेत गरेको थियो ।
आइतबार रोहिणी खोलामा आएको बाढीले तिव्र रुपमा कटान थालेपछि सोही दिन नै सुरक्षाकर्मीहरुले तटबन्ध लगाउन सुरु गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरीको टोली र स्थानीयले बालुवाको तटबन्ध निर्माणको काम थालेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बस्ती नै जोखिममा पर्ने देखेपछि तत्काललाई तटबन्ध गर्नको लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । ‘रोहिणी खोलामा बाढी आएपछि जानकीनगर टोल नै जोखिममा पर्ने देखियो’ उनले भने, ‘स्थलगत अनुगमन गर्दा जोखिम देखिएपछि सुरक्षाकर्मी परिचालन गरेर तटबन्ध निर्माण थालिएको हो ।’
बुधबारसम्म ६० मिटरमा बालुवा तथा तारजालीको प्रयोग गरेर तटबन्ध निर्माण गरिएको छ । लगातार तीन दिनसम्म पनि सुरक्षाकर्मी तथा स्थानीयहरु मिलेर विपत् जोखिमबाट बच्नको लागि पूर्वतयारी स्वरुप तटबन्ध लगाएका हुन् । तत्कालका लागि सबैभन्दा बढी कटानको जोखिम भएको क्षेत्रमा तटबन्ध बनाइएको छ । वर्षेनी कोहलपुरमा डुडुवा र रोहिणी खोलामा आउने बाढीका कारण ठूलो क्षति हुने गरेको छ । यस क्षेत्रमा पछिल्लो पटक २०७१ मा ठूलो बाढी तथा डुबानले यहाँका धेरै वडा प्रभावित भएका थिए ।
यस वर्ष पनि यहाँका विभिन्न वडामा खेतीयोग्य जमिनमा कटान, बस्ती जोखिम हुनुका साथै भौतिक संरचनाहरुमा क्षति पु¥याइसकेको
छ । गत आइतबार राती परेको अविरल वर्षाका कारण दुवै खोलामा पानीको बहाव बढ्दा जानकी नगर टोल, एकतानगर तथा चटार लगायतका क्षति पुगेको थियो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले डुडुवा र रोहिणी खोलाका कारण वर्षेनी वडा नम्बर ७, ८, १०, ११, १२ र १३ नम्बर वडा प्रभावित हुने गरेको जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले बताए । यता जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले वर्षायाममा जिल्लाभर हुने विपत्तिबाट सुरक्षित रहनको लागि प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गर्नुका साथै सुरक्षा संयन्त्र तथा अन्य पूर्व तयारी गरिएको बताएको छ । समितिले जुन सुकै क्षेत्रमा वर्षा तथा बाढीका कारण क्षति भएमा वा जोखिम रहेमा विपत् व्यवस्थापन समितिलाई जानकारी दिन आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्