कोहलपुर ।
बाँकेबाट प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पूर्वसैन्य कमाण्डरसहित दुईजनालाई गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले राँझाबाट पूर्वसैन्य कमाण्डरसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको हो । मंगलबार बिहान नेपालगञ्ज उपमहानगरपालिका– २० राँझाबाट विप्लव समूहका कुमार भनिने चित्रबहादुर बिक र सुरेश रावतलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले चित्रबहादुर विप्लव समूहको भेरी कर्णाली न्याय विभागका पूर्वप्रमुख र पूर्वसैन्य कमाण्डर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘पक्राउ परेकामध्ये चित्रबहादुर विप्लव समूहको भेरी कर्णाली न्याय विभागका पूर्वप्रमुख र पूर्वसैन्य कमाण्डर रहेको खुलेको छ’ उनले भने, ‘चित्रबहादुरसँग पक्राउ परेका रावत पनि विप्लव समूहकै कार्यकर्ता हुन् ।’ उनीहरुलाई राँझा क्षेत्रमा चन्दा असुली गर्दै आएको आरोपमा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
‘चित्रबहादुर र उनका सहयोगीलाई चन्दा असुली गर्दै गर्दा पक्राउ गरिएको हो’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘चन्दा असुली गरिरहेको अवस्थामा राझाँबाट पक्राउ गरेका हौं । उनीहरुले कोसँग कति चन्दा असुली गरे त्यो अनुसन्धानबाट खुल्नेछ ।’ दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । पछिल्लो समय विप्लव समूहका गतिविधी बढ्न थालेपछि प्रहरीले पनि सुक्ष्म रुपमा गतिविधीहरु नियालिरहेको छ । सोही क्रममा मंगलबार उनीहरु चन्दा उठाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।









प्रतिक्रिया दिनुहोस्