एकिकरणमा जुट्यो ‘हाम्रो मध्यवर्ती’ सहकारी



सुदीप अधिकारी । बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिका –१ भुरिगाउँ बजारमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले नगरमा सहकारी एकिकरणको अभियानलाई व्यापक बनाउँदै गएको छ । नगरमा रहेका सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरि सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सबल सहकारी स्थापना गरि सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्धेश्यका साथ हाम्रो मध्यवर्ती सहकारीले नगरमा एकिकरण अभियानलाई तिब्रता दिएको हो । एकिकरण अभियान जुटेको हाम्रो मध्यवर्ती सहकारीले हालसम्म ८ वटा सहकारी संस्थालाई एकिकरण गर्न सफल भएको छ । छोटो समयमा धेरै सहकारी संस्था एकिकरण गर्न सफल यो सहकारी जिल्लाकै पहिलो हो ।

नगरमा स्थापना भई बचत तथा ऋणको काम गर्ने एकल उद्धेश्य बोकेका सहकारीहरुलाई हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीले एकिकरण गर्दै आएको छ । सुरुमा नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारीको नामबाट संचालन भएको सहकरीले २०७४ सा सालदेखि एकिकरण अभियान चलाएको थियो । पहिलो चरणमा प्रयत्न बचत तथा ऋण सहकारी, श्रीकृष्ण सहकारी र जनचेतना सहकारी एकिकरण गरि हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी नामाकरण गरियो । दोस्रो चरणमा जागृती महिला बचत, कर्णाली बचत र जलेश्वर सहकारीलाई एकिकरण गरियो । पछिल्लो समय हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी र राधाकृष्ण बचत तथा ऋण सहकारी बिच पनि एकिकरण भएको छ । सोमबार एकिकरण घोषण समारोहमा प्रतिनिधी सभा सदस्य तथा पूर्व सिँचाइ मन्त्री सञ्जय गौतमले राधाकृष्ण बचत तथा ऋण सहकारी र हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था एकिकरण भएको औपचारिक घोषण गरे ।

एकिकरणसँगै सहकारीको नाम परिवर्तन भई हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि.नामाकरण भएको छ । एकिकरणसँगै सहकारीको कारोवार र शेयर सदस्यको संख्यामा पनि उल्लेख्य बृद्धि भएको सहकारीले जनाएको छ । ८ वटा सहकारी संस्था एकिरकण भई बनेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीले हाल ३० करोड २५ लाख रुपैँया बराबारको कारोवार गरिरहेको सहकारीका व्यवस्थापक गणेश थापाले जानकारी दिए । व्यवस्थापक थापाका अनुसार एकिकरण पश्चात संस्थामा शेयर सदस्यको संख्या ७ हजार भन्दा बढी रहेको छ । सहकारीको शेयर पूँजी ३ करोड ५० लाख पुगेको छ । भने हालसम्म सहकारीले २१ करोड ५० लाख बचत संकलन गरेको छ । सहकारीका विभिन्न कोषमा १ करोड २५ लाख रुपैँया रहेको व्यवस्थापक थापाले बताए । सहकारीले १७ प्रकारका बचत सुविधा, १४ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ ।

सहकारीका अध्यक्ष नवराज न्यौपाने एक सक्षम सहकारी अभियन्ता हुन् । सक्षम सहकारी अभियन्ताका कारण नगरमा सहकारी एकिकरण अभियानले मूर्तरुप पाउन थालेको सहकारीकर्मी फिरु थारु बताउँछन् । उनी भन्छन, ‘जिल्लाले एक सक्षम सहकारी अभियन्ता पाएको छ । उनको प्रभावकारी एवं कुशल नेतृत्वका कारण सहकारी एकिकरण अभियान सफल हुँदै गएको छ ।’ ठाकुरबाबा नगरपालिका १ भुरिगाउँबजारमा मुख्य कार्यालय रहेको यो सहकारीले आफना शेयर सदस्यहरुलाई ६ वटा सेवा केन्द्र, २ वटा बचत संकलन केन्द्र र केन्द्रिय कार्यालय मार्फत सदस्यलाई सेवा दिँदै आइरहको सहकारीका व्यवस्थापक गणेश थापाले बताए । सहकारी एकिकरण भएपछि सदस्यका सेवा सुविधामा थप विस्तार भएको सहकारीका सदस्य बद्री कठाएतले बताए ।

शेयर सदस्य कठायत भन्छन्, ‘एकिकरणले सहकारीको कारोवार बढ्दै गएपछि हामी शेयर सदस्यका लागि पनि सहकारीले सेवा सुविधा बढाएको छ । उद्यम, व्यापार व्यवसाय गर्नका लागि हामीलाई बैँक मुख ताक्नु परेको छैन ।’ सहकारी ऐन २०७४ मा सहकारीमा दोहोरो सदस्यता अन्त्य गर्ने, सहकारी संस्था एकिकरणलाई अभियानका रुपमा संचालन उल्लेख भए बमोजिम नगरमा एकिरकणको अभियानलाई तिब्रता दिइएको जिल्लाका सहकारी अभियन्ता तथा हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने, ‘पछिल्लो समय सहकारी संस्थाको उद्धेश्य तथा कार्यक्षेत्रको आधारमा सहकारीलाई गाभ्न र गाभिन प्रोत्साहन गर्ने राज्यको निती अनुरुप नै एकिकरण अभियान थालिएको हो ।’

आगामी दिनमा थप सहकारी संस्थालाई एकिकरण गर्दै जाने सहकारी संस्थाको योजना रहेको न्यौपाने बताए । सहकारीका सदस्यको सन्तुष्टिलाई प्राथमिकता दिँदै सदस्यलाई घरदैलोमै सेवा दिने र बचतको माध्यमबाट सुखी समृद्ध सदस्य निमार्ण गर्दै उत्पादनमूलक कार्यमा सदस्यलाई अग्रसर गराउने सहकारी अभियान रहेको अध्यक्ष नवराज न्यैपानेले बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २३ गते मंगलबार