कोहलपुर ।
लेभल–३ कोभिड अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई महिलाको जटिल खालको शल्यक्रिया गरिएको छ । केही साता अघि उनीहरुको जटिल शल्यक्रिया सफलताका साथ गरिएकोमा संक्रमितहरुले कोरोनालाई समेत जितिसकेका छन् । काठमाडौं बाहिरका अस्पतालमा पहिलोपटक कोहलपुर मेडिकल कलेजमा पहिलोपटक संक्रमितको जटिल खालको शल्यक्रिया गरिएको हो ।
अस्पतालमा जटिल स्वास्थ्य समस्या भएर भर्ना भएकामध्ये दुई जना महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालका सहायक निर्देशक डा.नितेशकुमार कनोडियाले मिसन टुडेलाई जानकारी दिए । ‘जटिल स्वास्थ्य समस्या भएर भर्ना हुनुभएकी दुई महिलाको केही साताअघि सफल शल्यक्रिया गरेका थियौं’ उनले भने, ‘उहाँहरु दुवै जनाले कोरोनालाई समेत जितिसक्नुभएको छ ।’ कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुवैलाई आइसोलेसन वार्डबाट नर्मल वार्डमा सारिएको छ । लेभल– ३ कोहलपुर मेडिकल कलेजमा शुरुमा अछाम चौरपाटी ५ की २५ वर्षकी गर्भवती महिलाको ठूलो आन्द्राको र त्यसपछि कपिलवस्तुको कृष्णनगरकी २७ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो ।
कपिलवस्तुकी महिलाको आज शनिबार डिस्चार्ज गरिने अस्पतालका सहायक निर्देशक कनोडियाले बताए । अछामकी महिलाको अवस्था समेत सामान्य रहेकाले केही दिन डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । कोरोना संक्रमित भएर जटिल स्वास्थ्य समस्या भएका ५ जनाको अस्पतालले उपचार गरेको मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए । त्यसैगरी जटिल समस्या भएर उपचार गर्न आएका ८२ वर्षका एक वृद्ध शल्यक्रिया बिना नै कोरोना जितेर घर फर्केका छन् । अस्पतालका कोरोना फोकल पर्सन डा.दिनेश श्रेष्ठका अनुसार रुकुम पश्चिम सानोभेरी नगरपालिका १ का ८२ वर्षका वृद्ध आन्द्रा गुजुल्टेका कारण पेट दुख्ने समस्या लिएर २२ जेठमा अस्पताल भर्ना भएका थिए ।
‘सुरुमा अप्रेशन गर्ने भनेका थियौं । औषधि सेवनबाट नै उहाँको रोग निको भयो ।’ पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो । संक्रमितहरुको शल्यक्रिया र उपचारमा खटिएका अस्पतालका चिकित्सकलगायत एक सय ३६ को कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । लेभल–३ अस्पतालमा उपचारमा आएकामध्ये बाँके बैजनाथ गाउँपालिका ६ की ४६ वर्षकी महिला र कैलालीको लम्कीचुहा नगरपालिका २ की महिलाको भने उपचारको क्रममा निधन भएको थियो । उनीहरुको मृत्यु पश्चात मात्र कोरोना पुष्टि भएको हो । अस्पतालले अहिलेसम्म ५ जना कोरोना संक्रमितको उपचार गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्