नेपालमा कोरोना कहरका बीच नयाँ राजनीतिक नक्साले चर्चा पायो । यो बिषयले नेपालमा मात्र होइन खासगरी भारतीय मिडियामा समेत हलचल मच्चायो । नेपाल सरकारले ६ दशकदेखि भारतीय अतिक्रमणमा परेको भूमि आफ्नो नक्सामा समावेश गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक ग¥यो । राजनितिक नक्सा जारी गर्दा नेपालीहरुले खुसी मनाए । नेपालमा बस्ने नेपालीले मात्र होइन विश्वका जुनसुकै देशमा बस्ने नेपालीले खुसीयाली मनाएका थिए । यसअघिका विभिन्न निर्णयहरु गर्दा विवादित हुने राजनितिक दलहरु राष्ट्रियताको यो बिषयमा भने एकढिक्का भएका छन् । बेला बेला छिमेकी मुलुक भारतको हेपाह प्रवृत्ति सहदैं आएको नेपालले राष्ट्रियताको मामिलामा भने कुनै सम्झौता गरेन ।
यसपटक अब भारतबाट हुने हेपाह प्रवृत्ति आफुहरुलाई सह्य हुँदैन भनेर देखाएको समेत छ । ६ दशकदेखि गुमेको भूमि आफ्नो नक्सामा राखेको छ । यस विषयमा संविधान संशोधनमा राष्ट्रिय एकताले दक्षिणी छिमेकी भारतसँग केही दुरी बढेको देखिन्छ । अहिले पनि भारतीय प्रहरी नेपाली भूमि कालापानीमा फौज बनाएर बसेको हुँदा सरकारले फिर्ता पठाउनको लागि पहल गर्नुपर्ने देखिन्छ नै । नक्सा जारी गरेरै भएपनि नेपालले आफ्नो एक इन्ची भूमि मिच्न दिदैनौं भन्ने संकेत त दिएको छ । तर त्यहाँबाट भारतले आफ्नो फौज फिर्ता गर्छ कि गर्दैन त्यो हेर्न त केही समय कुर्नेपर्छ । यो विवाद आएपछि भारतले कुटनितिक पहल मार्फत समस्याको समाधान गर्न नेपाल सरकारले खोजेको हो । तर भारतले कुनै चासो दिएन । अझै पनि दुवै देशका प्रधानमन्त्री स्तरमा सिधा वार्ताको गर्नुको विकल्प छैन ।
यस कार्यमा सरकारले छिटो भन्दा छिटो पहल थालेमा अहिलेकै जस्तै अभूतपूर्व एकता हुनेछ । केपि ओली नेतृत्वको वर्तमान सरकारले अहिले चालेको कदम अभूतपूर्व हो । यो कदम सबै क्षेत्रबाट प्रंशसा भइरहेको छ । अबको बाटो भनेको भूमि फिर्ता गर्ने हो । देशभर भएका विभिन्न विचार र सिद्धान्तका पार्टीहरु यस विषयमा भने एकै ठाउँमा उभिएर देशको राष्ट्रियता जोगाउने विषयमा हरेक नेपाली एकजुट हुन्छन् भन्ने गत्तिलो सन्देश भारतलाई दिएका छन् । यो नेपालका राजनीतिक दलहरुको ७२ को भूकम्पपछि भएको असाधारण राष्ट्रिय सहमति समेत हो । देशका अन्य विषयहरुमा समेत यस्तै गरी दलहरुले अभूतपूर्व एकता गर्दै जानुपर्छ । त्यसो हुन सके राष्ट्रियता मात्र जोगिदैन, भारतले कब्जा गरेका अन्य भूमि समेत फिर्ता आउँनेछन् ।









प्रतिक्रिया दिनुहोस्