कोहलपुर ।
रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई लिएर बाँके र बर्दियाका विभिन्न स्थानहरुमा आइतबार विरोध प्रर्दशन गरिएको छ । चौरजहारी नगरपालिका वडा नम्बर ८ मा जेष्ठ १० गते भएको घटनामा ५ जना मृत भेटिएका छन् भने अझै पनि एक जना वेपत्ता नै रहेका छन् । दलित अगुवाहरु यस घटनालाई जातीय नरसंहारको विकृत रुप भएको बताउँछन् । कोहलपुरमा आइतबार सोही घटनाको बिषयलाई लिएर संयुक्त दलित संघर्ष समिति बाँकेको आयोजनामा विरोध प्रर्दशन गरिएको थियो । विरोध कार्यक्रमको कोण सभामा बोल्दै पूर्व सिचाई राज्य मन्त्री दलबहादुर सुनारले रुकुम पश्चिममा दलित र गैर दलित यूवालाई कुटिकुटि, लखेटि लखेटि गरिएको हत्या कुनै पनि नागरिकले सहनै नसक्ने गम्भीर प्रकृतिको अपराध भएको बताए । उनका अनुसार उक्त अमानवीय हत्या श्रृंखला बुर्जुवा सोचले प्रेरित हो ।
पूर्व सिचाई राज्य मन्त्री सुनारले नवराज विक सहितका ६ जनालाई हत्या गर्ने कार्यमा संलग्नलाई कुनैपनि हालतमा सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने माग समेत गरे । ‘रुकुम हत्या काण्ड जातीय नरंसहार हो । यसको विरुद्धमा हामी निरन्तर विरोध गरिरहन्छौ । सरकारले यसको निस्पक्ष छानविन गर्नुपर्छ । होइन भने अब हामी निर्णयक आन्दोलनको मैदानमा उत्रन्छौ ।’ उनले भने । पूर्व संविधान सभा सदस्य आशा विकले समाजमा अहिले पनि जातीय विभेदका घटना हुनु भनेको अत्यन्तै दुःखत भएको बताइन् ।
देशमा कम्युनिष्ट पार्टीको सरकार भएको अवस्थामा पनि जातको आधारमा मानिसको हत्या हुनु सोच्नै नसकिने अवस्था रहेको बताइन् । ‘यो हत्या सामान्य अवस्था होइन, यसको छानविन हुनै पर्छ’ उनले भनिन्, ‘दोषि माथि कारबाहीको माग गर्छौ, दोषि पत्ता नलगाएमा सम्पूर्ण देशभरका दलित समुदाय एक भएर सडक देखि सदनसम्म आन्दोलन हुन्छ ।’ यता संयुक्त दलित संघर्ष समिति बाँकेले घटनाका दोषिलाई कारबाही, मृतकलाई सांस्कृति शहिद घोषणा, घाइतेहरुको उपचारको लागि माग गरेका छन् ।
यसैबिच चौरजहारीमा भएको घटनाको विरोधमा बर्दियामा पनि प्रदर्शन गरिएको छ । जिल्लाको सदरमुकाम गुलरिया, मधुवन, ठाकुरबाबा, बाँसगढी नगरपालिकालगाएतका स्थानमा दलित अधिकारकर्मीहरुको अगुवाइमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो । हत्यारालाई कारवाही गर । मानवअधिकारको रक्षा गर । घटनाको सत्यतथ्य छानविन गर लगाएतका प्ले कार्ड र व्यानरसहित विरोध प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय र विभिन्न पालिकाका नगरप्रमुखहरु मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।
घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको नगर स्तरिय दलित उत्थान सञ्जाल ठाकुरबाबाका अध्यक्ष रामप्रसाद वादीले बताए । रुकुमको घटनाले सिंगो मानव समाज आक्रोशित हुनुका साथै दलित सञ्जाल स्तव्ध भएको र उक्त घटनाले संविधान र लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गरेको अध्यक्ष वादीले बताए । ज्ञापनपत्र बुझाउँदै दलित सञ्जालका अध्यक्ष रामप्रसाद वादीले अन्तरजातिय प्रेम सम्वन्ध र दलित भएकै कारण कथित माथिल्लो जातीबाट यस्तो अमानविय कार्य हुनु निकै दुखद भएको बताए । बाँसगढीमा समेत दलित सेवा संघ उपशाखा बाँसगढीको अगुवाईमा समेत विरोध प्रर्दशन गरिएको थियो ।
प्रर्दशनमा दलित अगुवा, दलित जनप्रतिनिधीसँगै विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले समेत एक्येबद्धता जनाएका थिए । दलित सेवा संघकी केन्द्रिय सहअध्यक्ष भुमी विकले कोरोना भाईरसले आतंकित बनाईरहेको बेला रुकुममा घटेको घटनाले दुखित बनाएको बताईन । ‘नेपालमा विभिन्न खालका दलितका आन्दोलन भए, १० बर्षे जनयुद्ध भयो’ उनले भनिन् ‘के अब दलितले गैरदलितसँग प्रेम गरेकै आधारमा हत्या गरियो दोषीलाई कडा कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो ।’
युवा सरोकार समिति बाँसगढीका संयोजक रेशम अधिकारीले आजको युगमा नयाँ युवा पुस्ताले जातिय छुवाछुतलाई स्वीकार नगर्ने बताए । उनले विरोध प्रदर्शनलाई समर्थन गर्दै रुकुम जाजरकोट हत्याकाण्ड निर्मम र मानवता विरोधी भएकोमा गम्भिर ध्यानाकर्षण समेत भएको जनाए ।









प्रतिक्रिया दिनुहोस्