क्रसरमा काम गर्ने २ भारतीयमा कोरोना पोजिटिभ देखियो



बर्दिया ।

बर्दियाको कर्णाली (गेरुवा) नदीस्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीय नागरीकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भारत उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा निवासी दुई जना मजदुरमा कोभिड–१९ पोजिटिभ देखिएको हो । लकडाउनका अवस्थामा केही दिनअघि मात्र उनीहरु भारतस्थित आफ्नो घर गएका थिए । उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको भनी भारतीय प्रहरी अधिकारीबाट पत्र प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

पत्रमा उल्लेख गरिएअनुसार बैशाख ५ गते (अप्रिल १७) मा उनीहरु भारत स्थित आफ्नो घर पुगेका थिए । परीक्षणका क्रममा बैखाश ८ गते पोजिटिभ भेटिएपछि भारतीय अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुलाई सोही दिन पत्राचार गरी जानकारी गराएको उनले बताए । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार कोठियाघाट क्षेत्रमा काम गर्ने मजदुरहरुमा कोरोना पोजिटिभ भेटिएकाले आवश्यक कारवाही चलाउन भारतीय अधिकारीबाट नेपाललाई अनुरोध गरिएको छ । नेपाली उद्योगमा कार्यरत भारतीयमा कोरोना पोजिटिभ भेटिएपछि बर्दियास्थित कोठियाघाट क्षेत्रलाई चारैतिरबाट लक गरिएको उनले जानकारी दिए ।

‘क्रसर धेरै अघिदेखि नै बन्द अवस्थामा छ’ उनले भने, ‘कामदारहरुलाई नेपालमै वा भारत जाने क्रममा संक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ जिल्लामा भाइरस ट्रान्सफर मिडियम (भीटीएम) किट नहुँदा अन्य कामदारको स्वाब संकलनमा कठिनाई परेको छ । शंकास्पद सबै नेपाली कामदारको पोलिमेरस चेन रियाक्सन (पीसीआर) प्रविधि मार्फत डीएनए परिक्षण गर्ने प्रशासनको तयारी छ ।

भारतबाट नेपाल फर्कन लागेका बर्दिया ठाकुरबाबा नगरपालिका निवासी एक नेपालीलाई भारतको बहराइचमा कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएपछि ठाकुरबाबा नगरपालिकामा थप कडाई गरिएको छ । लकडाउनका कारण घर फर्कन नपाएका कोरोना संक्रमित नेपाली मजदुर हाल भारतीय आइसोलेशनमा उपचाररत छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १४ गते आइतबार