विपन्नको साहारा बन्दै विष्ट : व्यक्तिगत खर्चमा ५६ घरधुरी गन्धर्वलाई गरे सहयोग



कोहलपुर :

लकडाउनको चपेटामा परि निकै कष्टकर दैनिकी बिताइरहेका यहाँका ५६ घरधुरी गन्धर्व समुदायलाई राहत मिलेको छ ।

यस अघि बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा बसोबास गर्दै आएका सुकुम्बासी तथा गन्धर्व समुदायलाई लकडाउनका कारण दैनिकी गुजारा गर्न मुस्किलमा परेका उनीहरुलाई एक व्यक्तिबाट राहत मिलेको छ ।

उक्त समाचार प्रकाशित भएपछि एक युवाले व्यक्तिगत खर्चमा खाद्यान्न सहयोग गरेका छन् । हाल काठमाडौँमा बस्दै आएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–६ उर्थू गाउँका मनकारी अमर विष्टले प्रति परिवार ३० केजी चामल, एक पाकेट नून र तेल सहयोग गरेका हुन् ।

स्थानीय सरकारबाट समेत सहयोग प्राप्त नगरेका उनीहरुले समाचारका प्रशासन भएकै आधारमा सहयोग प्राप्त गरेको भन्दै खुसी प्रकट गरेका छन् ।‘हाम्रो घरमा बिहान –साँझ के खाने टुंगो थिएन, छोराछोरीलाई के खुवाउने आफू के खाने चिन्ता हुन्थ्यो, भगवान रुपि सहयोग गर्ने व्यक्तिको जय होस्’ पहिलो पटक खाद्यान्न प्राप्त गरेपछि माया परियारले भनिन् । उनको आठ जनाको परिवार छ ।

पहिलो पटक नै राहत स्वरुप खाद्यान्न प्राप्त गरेका शुरेस गन्धर्वले अहिले सम्म कसैले पनि आफूहरुलाई सहयोग नगरेको र एक जना व्यक्तिबाट सहयोग पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।‘अब केही दिन भएपनि पेटभरी खान पाइने भयो, अरुकोमा माग्न नपर्ने भयो, सहयोग गर्नेलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु ।’ खुसी प्रकट गर्दै गन्धर्वले भने ।

लामो समयदेखि कोहलपुरका विभिन्न स्थानमा घुमन्ते र भूमिहिन तथा सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका सुकुम्बासी र गन्धर्वहरुले ठूलो मात्रामा सहयोग पाउँदा निकै खुसी समेत व्यक्त गरेका छन् । कोहलपुरका ६ वटा वडामा गन्धर्वहरु बस्दै आएका छन् । उनीहरुको मुख्य पेसा नै सारंगी बजाउने र दैनिक ज्याला मजदुरी गर्ने हो ।

लकडाउनका कारण उनीहरुको विचल्ली नै भएको थियो भने भोकमरीको समेत सम्भावना बढेको थियो । ‘लकडाउनका कारण बाहिर निकस्न पाएका थिएनौ,घरमा खाने अन्न समेत थिएन’ केही वर्ष देखि उक्त बस्तीमा सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका टेक बहादुर राना भन्छन,‘हामी माथि निकै ठूलो दया भएको छ, यो गुन कहिल्यै बिर्सने छैनौ । मनकारी व्यक्तिलाई सधै भलो होस् । स्थानीय सरकारले प्रदान गर्ने सहयोग भन्दा बढी सहयोग पाएपछि गन्धर्व समुदाय दंग छ ।

गन्धर्व समुदायका अगुवा वीर बहादुर गन्धर्वका अनुसार गरिब, आर्थिक अवस्था कमजोर भएका गन्धर्वहरुले सहयोग पाउनु निकै खुसीको कुरा हो ।‘जिन्दगीका ६ दशक गीत गाएरै बिताए, आजको दिन सबै भन्दा खुसी मिलेको अनूभव भएको छ, अहिले अलि अस्वास्थ छु,निको भयो भने उहाँको जयजयकार गर्दै गीत गाउँनेछु ।’ हर्ष प्रकट गर्दै उनी भन्छन् ।

गन्धर्व समुदायलाई सहयोग गरेका विष्ट उनीहरुको दुःख र समस्या केही दिनको लागि भएपनि समाधान होस भन्ने उद्देश्यले आफ्नो खर्च कटाएर सहयोग गरेको बताउँछन् । विष्ट भन्छन्,‘यो विपत्तिको बेला हो, लकडाउनले सबैभन्दा बढी मारमा कामगरी खाने मान्छे छन्, केही दिन भएपनि राहत होला भन्ने उद्देश्यले मैले सहयोग गरेको हुँ ।’

पहिलो चरणमा ५६ जनालाई सहयोग गरेको भन्दै दोस्रो चरण पनि यहीँ क्षेत्रका अन्य विपन्न र बेसाहारा समुदायलाई सहयोग गर्ने विष्टले बचन दिएका छन् । यस अघि विष्टले जुम्लाका एक दृष्टिविहीन परिवार, अपांगता भएकी किशोरीका परिवार र एक दलित बस्तीलाई व्यक्तिगत खर्चमा खाद्यान्न सहयोग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २७ गते बिहीबार