थारु संग्रहालय निर्माण स्थल गौचरनमा परिणत



पुरु खनाल । राजापुर ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ मा निर्माणाधिन थारु संग्रहालय निर्माण स्थल गौचरनमा परिणत हँुदै गएको छ । स्थानीय सरकारको पहलमा २ वर्ष अघि ग्वारीमा ४ विगाह क्षेत्रफलमा निर्माण थालिएको संग्रहालय निर्माण स्थल संरक्षण अभावमा गौचरनमा परिणत हुँदै गएको हो । दुई वर्षको अवधिमा डिपिसी गरेर चार वटा पर्खाल मात्र ठड्याइएको छ । निकै तामझामका साथ निर्माण कार्य सुरु गरिएको संग्रहालय निर्माणमा भने ढिलाई भइरहेको छ । सरोकारवालाले ध्यान नदिँदा संग्रहालय निर्माणको काम अलपत्र अवस्थामा रहेको स्थानीयबासीहरु बताउँछन् ।

संग्रहालय गेट अगाडि पसल सञ्चालन गरिरहेका स्थानीय सन्तोष चौधरीले संग्रहालय बन्ने भएपछि स्थानीय स्तरको विकास र संस्कृति संरक्षणको आशा गरेपनि काम हुन नसकेको बताए । लामो समयसम्म पनि कुनै काम नभएपछि संग्रहालय निर्माण हुने वा नहुने आशंका लाग्न थालेको उनी बताउँछन् । ‘लोप हुन लागेका थारु संस्कृति संरक्षण हुने आशा गरिएको थियो, नयाँ पुस्ताले ति हाम्रा वस्तु हेर्न पाउने थिए’ उनले भने, ‘तर लामो समयदेखि निर्माण स्थल गौचरनमा परिणत हँुदा समेत कसैले चासो देखाएका छैनन् ।’

अर्का जेष्ठ नागरिक स्थानीय सुरजलाल चौधरी आफ्नो ठाउँका संस्कार र संस्कृति जोगाउन सबै लाग्नु पर्ने बताउँछन् । उनले छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न समेत माग गरे । आफ्नो वडामा निर्माण हुन लागेको संग्रहालय थारु जातिको मात्र नभई यो क्षेत्र र नेपालकै सम्पत्ति भएकाले निर्माण गर्न सबै लागि रहेको वडाध्यक्ष धरणीधर थारुले बताए । प्रदेशबाट यसै आर्थिक वर्षका लागि बजेट विनियोजन भएकाले संग्रहालय निर्माण हुनेमा विश्वस्त रहन उनले स्थानीयबासीलाई आग्रह गरेका छन् ।

बर्दिया क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सांसद दिपेश थारुले प्रदेशले डिपिआरका लागि १५ लाख छुट्याएर काम गर्न जिम्मा दिइ सकेको र डिपिआर पछिको योजनाबाट दु्रत गतिले प्रदेश तथा केन्द्रीय सरकारको लगानीमा निर्माण हुने जानकारी दिए । संग्राहालय निर्माण योजनामा आफु नै प्रत्यक्ष जोडिएको बताउँदै उनले यो क्षेत्रको पहिचान निर्माण हुनेमा ढुक्क रहन आग्रह गरे ।

सानो योजना र लगानीले संग्रहालय पूर्ण नहुने भएकाले विस्तृत योजना र दीर्घकालिन सोचका साथ निर्माण हुने भएकाले केही ढिलाई हुन पुगेको उनको भनाई रहेको थियो । यो क्षेत्रमा संग्राहालय निर्माणले स्थानीय जातिको पुराना वस्तुका संरक्षणका साथै विकासको लहरले पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २६ गते सोमबार