कोहलपुर ।
लहरै बस्ती, निलो टिनले छाएको चिटिक्क परेको घर, वरीपट्टी पानीको ट्यांकी र पारिलो घामसँगै भिमसरा गायन घाम ताम्दै थिईन् । टहटह टल्केको घामको झुल्कासँगै उनको मुहारमा समेत निकै चमक देखिन्थ्यो । सँगै घरको आँगनमै बसेर छिमेकी कृष्णा नेपाली ‐बादी) लुगा धोईरहेकी थिईन् । छेउमै रहेका उनका अपांग देवर ह्विल चियरमा बसीरहेका थिए । गायन र नेपालीको हाउभाउ हेर्दा निकै फुर्तिलोपन झल्किन्थ्यो ।उनीहहरु मात्रै होईन् वर्षौ देखी भूमिहिन, सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका गन्दर्भ समुदाय धेरै जनाको मनमा खुसी छाएको छ । कोहलपुर नगरपालिका, ११ लोकनगरमा बसोबास गर्दै आएका गन्दर्भहरुको बास झुप्रोबाट पक्की घरमा भएको छ । त्यहाँ ‐गन्दर्भ टोल) मा स्थानीय सरकारको सहयोगमा १० वटा पक्की घर निर्माण गरिएको थियो ।
कोहलपुर ११ मैै रहेको डुडुवा नाला नजिकै सुकुम्बासीको रुपमा बस्दै आएका यहाँका गन्दर्भ बस्ती नै स्थानान्त्रणको लागि लोकनगर पु¥याईएको छ । पहिलो चरणमा १० जनलाई पक्की घर दिलाईएको छ । ५५ वर्षीय भिमसराले दशकौं लामो घुमन्ते जीवनबाट पक्की घरमा बसोबास पाएकोमा खुसी व्यक्त गरिन् । ‘सिंहदरबार गाउँ गाउँमा आएको अनुभव भईरहेको छ, निकै खुसी छौं’ उनले भनिन् । उनका अनुसार सारंगी रेटेर जीवनयापन गरिरहेका गन्दर्भहरुलाई सरकारले सहयोग गरेको हो ।
अर्की स्थानीय कृष्णा नेपाली ‐बादी) पनि सांसद र स्थानीय सरकारले आफ्नो समुदायका समस्या बुझिदिएको बताउँछिन् । ‘सरकारले हामीलाई घर दिएको छ’ उनले भनिन्, ‘सरकारले अन्य सुविधा समेत दिएको भए निकै सहज हुने थियो ।’ उक्त बस्तीमा अहिले पक्की घरको मात्रै सुविधा रहेको छ । अन्य आधारभुत आवश्यकताको भने सुविधा अझै प्रदान भएको छ । २०७६ मंसिर १३ गते १० घरदुरी गन्दर्भहरुलाई पक्की घरमा सारिएको थियो तर अझै सम्म अन्य सुविधा भने प्रदान गरेको छैन् ।
गन्दर्भ समाजका अध्यक्ष समेत रहेका गन्दर्भ टोलका अध्यक्ष दल बहादुर गायन अन्य सुविधाको लागि नगरपालिकासँग माग गरिरहेको बताए । उनका अनुसार अहिले १० घर परिवारको लागि २ वटै मात्रै विद्युतका मोटर जडान गरिएको छ । ती मिटर पनि दुई महिनाको लामो संघर्षपछि नगरपालिकाले प्राप्त गरेको उनले बताए । केही दिनमा विद्युत्का पोलहरुको पनि व्यवस्था गरिने आश्वासन स्थानीय सरकारबाट पाएको उनको भनाई रहेको छ । पानी सबै घरमा व्यवस्था भएपनि अपुग छ । यस्तै प्लाईउड, विद्युत मिटर र शौचालयको राम्रो व्यवस्था छैन । १० परिवारको लागि सामुहिक शौचालय छ । यद्यपी लामो समयको संघर्ष पश्चात पक्की घर पाएकोमा भने उनीहरु निकै खुसी छन् । अध्यक्ष गायनले डुडुवाको खोलामा बसीरहेका अन्य १४ घरदुरीलाई छिट्टै लोकनगरको नगर विकास समितिको गन्दर्भ टोलमा सार्ने प्रक्रियाको लागि पहल भईरहेको जानकारी दिए ।
स्थानीय सरकारले फागुन महिनाबाट भवन निर्माण कार्य सुरु गर्ने बताएको उनले जनाए । स्थानीय सरकारको पहलमा जम्मा २५ घरधुरी गन्दर्भलाई पक्की घरमा सारिनेछ । उक्त बस्तीमा एक गन्दर्भ सँस्कृति संरक्षणको लागि संग्राहालय निर्माण गरिने भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतका अनुसार लामो समय देखी भूमिहिन, सुकुम्बासीको रुपमा बसोबास गरिरहेका गन्दर्भहरुलाई सुरक्षित तथा पक्की घरमा सारिएको हो । नगर प्रमुख रावतले कोहलपुरमा रहेका अन्य गन्दर्भ समुदायहरुको समेत पक्की घर निर्माणको लागि पहल भईरहेको बताए । संघीय सरकारको १ करोड सहयोग र कोहलपुर नगरपालिकाको २५ लाख लागतमा पक्की घर निर्माण गरिएको उनले जानकारी दिए । कोहलपुरका नगरपालिकाका करिब ६ वडामा गन्दर्भ समुदाय बसोबास गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्