सँस्कृति संरक्षणका लागि नेवारी भोज



बुटवल ।

लायन्स क्लव अफ बुटवलले नेवारी संस्कृतिको संरक्षण र प्रवद्र्धनकालागि सोमबार बुटवलमा ‘नेवारी भोज तथा सांस्कृतिक कार्यक्रम’ गरेको छ । नेवार समुदायले मनाउने पर्व तथा आजापुजा, बिवाह ब्रतबन्धमा हुने भोज भतेरमा परम्परागत पद्धति अवलम्बन गर्दै नेवारी भोज तथा सांस्कृतिक कार्यक्रम गरिएको हो । विश्वहिन्दु महासंघको हलमा भएको कार्यक्रमको उद्घाटन गर्दै रोटरी क्लवका मल्टिपल काउन्सील चेयर प्रसन सुनिल ओझाले सबै जातजातीमा हुने संस्कृतिको आ–आफ्नै महत्व हुने बताए ।

उनले त्यस्ता कला तथा संस्कृतिको संरक्षणका लागि सम्बिन्धित समुदायले नै अग्रसरता देखाउनु पर्ने बताउँदै नेवारी संस्कृतिको संरक्षणका लागि कार्यक्रम गरेकोमा लायनेश क्लव अफ बुटवललाई धन्यवाद ज्ञापन गरे । क्लवकी अध्यक्ष पुजन श्रेष्ठले नेवार समुदायको परम्परा देखी हुँदै आएको सँस्कृति बिस्तारै हराउँदै जान लागेकाले त्यसको संरक्षण र प्रवद्र्धनकालागि कार्यक्रम गरिएको जानकारी गराईन् ।

यस क्षेत्रकै पुरानो महिलाहरुको क्लवले यहाँको सामाजिक रुपान्तरणको अभियानमा काम गर्दै आएको बताउँदै उनले नयाँ पुस्तामा पनि आफ्नो संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको र यस्ता कार्यक्रमलाई निरन्तर रुपमा गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । त्यस्तै लायन्स क्लवका पूर्व डिष्ट्रिक्ट गभर्नर महेन्द्र नारायण श्रेष्ठ र नेवा पुचः बुटवलका अध्यक्ष काजिमान श्रेष्ठले नेवार समुदायको संस्कृति बिस्तारै हराउँदै गएको वेलामा लायनेश क्लवले गरेको यो कार्यक्रमले पुरानो पुस्तालाई आफ्नो संस्कृतिको बारेमा सम्झाउने र नयाँ पुस्तालाई जानकारी गराउने काम गरेको बताएका थिए ।

नेवारी भोज तथा सांस्कृतिक कार्यक्रममा चिउरा, भटमास, आलु, तामा, बोडी, सिमी, मिक्वा, टमाटर, सोयाविन, मासु लगायतका बिभिन्न नेवारी परिकार राखिएको थियो भने कुमारी नाच, मञ्जुश्री, सिसया हेगु, लिंखहोया, सिमाखानाच, छ्यापुँजु, जीगुबैस खल लगायत नेवारी संस्कृतिका नृत्यहरु प्रदर्शन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ७ गते मंगलबार