नेपालगञ्ज ।
थारु समुदायको माघे सक्रान्तिको अवसरमा बाँकेको नेपालगञ्जमा आइतबार माघी महोत्सव मनाइएको छ । बाँकेको बिभिन्न क्षेत्र, स्थानबाट आएका व्यक्ति थारु सांस्कृतिक झल्किने झाँकी तथा चर्चित कालाकाहरुको उपस्थितिमा नेपालगञ्ज माघी महोत्सव–२०७६ मनाएका हुन् । महोत्सवका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो कला, संस्कृतिको सम्मान र संरक्षणमा लाग्न जरुरी रहेको बताए ।
‘हरेक समुदायमा पर्वको आ–आफ्नै महत्व रहेकाले यो कला संस्कृतिको संरक्षण भोलि इतिहास बन्नेछ’ उनले भने, ‘यो महोत्सवले पनि थारु समुदायलाई संस्कृतिको टेवाका लागि सक्रिय बनाउनेछ ।’ कार्यक्रममा बाँकेका बिभिन्न क्षेत्रका थारु अगुवाहरुले चाडपर्वले सबै समुदायलाई भाइचाराको सम्बन्ध निर्माणमा जोड दिने गरेकाले सबैको अस्तित्व नै देशको सांस्कृतिक अस्तित्व रहने बताएका थिए । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । ‘माघ महोत्सव’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक झुम्रा, लठ्ठहवा, हुरदुङग्वा, छोक्रा, मयुर र दफ नाच प्रस्तुत गरिएका थिए ।
त्यस्तै महोत्सवमा थारु समुदायका चर्चित कलाकार विवश चौधरी, विश्वसागर परियार, करन चौधरी, राम थारु, सुनिता दहित, सुमित्रा चौधरी, राधा चौधरी, खेम भौगरिया, सोहनलाल थारु, प्रमिला थारु, सत्यनारायण चौधरी (फेटारा) देवदास, सविना चौधरी, निरमला चौधरी, राजकुमार चौधरी, संन्जिता चौधरी लगायतले समेत प्रस्तुती दिए । साथै पछिल्लो समय थारु समुदायकी चर्चित गायक तथा मोडल श्रीदेवी चौधरीले समेत आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासुका परिकारहरु अथितिहरुलाई खुवाइएको प्रचार प्रसार समितिका संयोजक भगतराम थारुले बताए । यस्तै कार्यक्रममा थारु कला संस्कृति र थारु समुदायको लागि योगदान पु¥याएका ५ जना व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्