कर्णालीमा बाल विवाह न्युनिकरण अभियान, धामी र पुरोहितलाई प्रशिक्षण



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशमा बालविवाह बिरुद्धको अभियानमा प्रहरी सक्रिय भएको छ । भयावह अवस्थामा रहेको बालविवाह न्युनिकरण गर्नको लागि प्रहरीले अभियान थाल्ने भएको हो । प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर कर्णाली प्रदेश प्रहरी कार्यालयले १० वटै जिल्लामा बालविवाह न्युनिकरणको विशेष थालिको हो । बाल विवाह न्युनिकरणको अभियान अन्तर्गत धामी र पुरोहितलाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

कर्णाली गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, देखासिकीका बालविवाह बढ्दै गएको छ । यस्तै बढ्दो आधुनिकीकरण, सामाजिक तथा साँस्कृतिक कुसंस्कारका कारणले गर्दा पछिल्लो समयमा बालविवाह बढ्दै गएको प्रहरीले जनाएको छ । नेपालमा १४ वर्ष भन्दा तल उमेर समुहको ११ प्रतिशत, १५ वर्ष देखि १९ वर्ष सम्मको उमेर समुहका ४९ प्रतिशत बाालविवाह हुने गरेको छ । २० देखि २४ बर्ष सम्मकाको २९ प्रतिशत, २५ देखि २९ सम्मकाको ८ प्रतिशत र ५ प्रतिशत ३० वर्ष देखी माथी उमेर समुहका युवायुवती विवाह गर्ने गरेका जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द जोशीले कर्णालीमा पनि प्रत्येक वर्ष बालविवाहको दर बढ्दै गएको बताए । उनका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३÷०७४ मा तीनवटा बालविवाहको मुद्दा दर्ता भएकका छन् । ०७४÷०७५ चार वटा मुद्दा दर्ता भएका छन । भने ०७५÷०७६मा १९ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै यसै आर्थिक बर्षको ३ महिनामा तीन वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ । जसमध्ये कर्णाली प्रदेशमा आर्थिक बर्ष ०७३÷०७४ मा २१, ०७४÷०७५ मा ४७, ०७५÷०७६ मा ४७ र यसै आर्थिक बर्षमा १७ वटा गरि चार वर्षको अवधिमा प्रहरीले १४४ वटा बालविवाहमा उद्धार गरि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा प्रत्येक वर्ष बालविवाहको दर भने बढ्ने गरेको पाइएको छ । कर्णाली प्रदेशमा सामाजिक विकृतीका रुपमा रहेको बालविवाह न्युनिकरणका लागि प्रदेश प्रहरी कार्यालयले पहल थालेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जोशीले बताए । सबै जिल्लामा धामी र पुरोहितलाई बाल विवाह बिरुद्धको अभियानमा सक्रिय बनाउने प्रशिक्षण गराईने बताईएको छ । सोही अनुसार केही जिल्लामा प्रशिक्षण सुरु गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार