दुर्घटनामा एकको मृत्यु



कोहलपुर/  सुर्खेत नेपालगन्ज सडकखण्ड अन्तर्गत बाँकेको गनापुर नजिकै शनिबार बेलुका सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भारतीय यु.पी.४० एसी ६६२४ नम्बरको कारले भे६प १४०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालगन्ज उपमहानगरपालिका–७ रानी तलाउका अन्दाजी २५ वर्षीय सौरभ सिंहको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका अर्का १९ वर्षीय गौरभ झा गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएपनि मोटरसाइकल चालक सिंहको उपचारकै क्रममा ज्यान गएको हो ।

गम्भीर घाइते झाको भने यहाँ उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश कुमार सिंहले जानकारी दिए ।

ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्याल कोहलपुरले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ९ गते शनिबार