कोहलपुर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कोहलपुर बाँकेको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । कोहलपुरमा सम्पन्न अधिवेशनबाट यम रावत अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । रावतको अध्यक्षतामा सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
जसको सचिवमा गोविन्द सुवेदी, कोषाध्यक्षमा रमेश खत्री चयन भएका छन् । यस्तै सदस्यहरुमा मूक्ति शाह, भोजेन्द्र रेग्मी, प्रभात भारती र रविन्द्र रेगमी रहेका छन् ।
कार्यक्रममा बोल्दै (प्याब्सन)का महासचिव राजेन्द्र बानियाँले निजी विद्यालयको विकल्प नभएको बताए । बाँकेको कोहलपुरमा शनिबार सम्पन्न नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को प्रथम नगर अभिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
महासचिव बानियाँले गुणस्तरिय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयहरुको विशेष भुमिका रहेको बताउँदै राज्यले निजी विद्यालयको उच्च सम्मान गर्नुपर्ने बताए । विद्यालयको समग्र विकासका लागि अभिभावक ,विद्यार्थी र विद्यालयको त्रिकोणात्मक सम्बन्ध राम्रो हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्याब्सन पूर्व केन्द्रिय उपाध्यक्ष नारायण सिग्देलले निजी विद्यालयहरुको हक र अधिकारका लागि प्याब्सनको गठन भएकाले यसको भावना अनुसार कार्य गर्न वर्तमान नेतृत्वलाई आग्रह गरे ।
प्याब्सन केन्द्रिय सदस्य डा. अर्जुन सिग्देलले संस्थागत विद्यालयहरुलाई राज्यले सहि नीति लिएको खण्डमा मुलुकको शैक्षिक विकास तिव्र गतिमा हुने बताएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष निम बहादुर चलाउनेले सरकारी विद्यालय र संस्थागत विद्यालयको शिक्षामा समानता आएमा शैक्षिक गुणस्तरमा वृद्वि हुने भन्दै राज्यले विभेदकारी नीति लिन नहुनेमा जोड दिए ।
कार्यक्रममा प्याब्सनलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएकालाई सम्मान गरिएको थियो । विगत लामो समयदेखि शिक्षामा योगदान पु¥याएका नारायण प्रसाद सिग्देल, डिल्ली शाह र लक्ष्मी सुवेदीलाई सम्मान गरिएको थियो ।
त्यस्तै प्याब्सनलाई सञ्चार माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै मिसन टुडे दैनिकका प्रकाशक तथा प्रधान सम्पादक विनोद पौडेल र बागेश्वरी टेलिभिजनका व्यवस्थापक चेतकान्त भट्टाराईलाई सम्मान गरिएको छ भने विभिन्न पब्लिकेशनहरुलाई पनि सम्मान गरिएको थियो ।
प्याब्सन कोहलपुरका अध्यक्ष यम बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव आरबी कटुवाल, केन्द्रीय सदस्य डा. अर्जुन सिग्देल, कोहलपुर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष निम बहादुर चलाउने, विद्यालय निरीक्षक दान बहादुर बिष्ट, क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देल लगायत प्याब्सनमा आवद्व शिक्षकहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्