नेपालगन्ज/ सडक प्रयोग गरेबापत सर्वसाधारणले शुल्क तिर्नुपर्ने भएको छ । यातायात व्यवस्थित गर्ने नाममा नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणसँग शुल्क लिने भएको हो । उपमहानगरले नेपालगन्जका विभिन्न सडक छेउमा पार्किङस्थल तोकेर रकम असुली गर्ने भएको छ ।
नगरको ५० ठाउँमा पार्किङ्ग स्थल तोकेर कर लिन लागेको प्रशासकिय अधिकृत तोयनारायण सुवेदीले बताए । उनका अनुसार पार्किङस्थलका लागि टेण्डरसमेत आह्वान गरिएको छ ।
‘भदौंमा टेण्डर प्रक्रिया पूरा भएर ठेक्कामा जान्छ,’ उनले भने, ‘सवारी साधन पार्किङ गरेबापत ठेकेदारले निश्चित शुल्क लिनेछ ।’ उपमहानगरले ट्रक पार्किङ्गका लागि तीन स्थान तोकेको छ ।
सुर्खेतरोडको मनिकापुर तथा काराकाँदो क्षेत्रमा ट्रक पार्किङ्गका लागि स्थान तोकिएको उपमहानगरपालिकाले जनाएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पर्किङ्ग क्षेत्र छुट्याइएको छ ।
‘उक्त नियम कडाईका साथ लागू गरिनेछ,’ प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने ।’ उपमहानगरपालिकाले ५० ठाउँको पार्किङ्ग ठेक्काको न्यूनतम मूल्य २५ लाख रुपैयाँ राखेको छ ।
सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि ब्यवस्था गरिएको छ । पार्किङ्ग सेवा दिए बापत ठेकेदारले मोटरसाइकलको १०, जीपकारको २० र ट्रकको ४० रुपैयाँ लिने भएका छन् । यातायात साधनको दोहोरो कर तिर्नुपर्ने बाध्यता आएको सर्वसाधारणको गुनासो छ ।
सडकमा सवारी चलाएबापत यातायात कार्यालयमा कर तिरेपनि उपमहानगरपालिकाले सवारी साधन ब्यवस्थित गर्ने बहानामा सडकको कर लिन खोजेकोले सर्वसाधारण दोहोरो करको मारमा पर्ने स्थानीयले गुनासो गरेका छन् ।
सडकमा पार्किङ स्थल बनाउँदा बाटो साँघुरो हुने र यसले ट्राफिक ब्यवस्थापनमा झनै समस्या निम्त्याउने खतरा भएको सर्वसाधारणको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्