कोहलपुर/ समाचारको लेखेको विषयलाई लिएर राप्तीसोनारी साप्ताहिकका प्रकाशक तथा सम्पादक हेमन्त चौधरीलाई स्थानीय जनप्रतिनिधीहरुले दुव्र्यहार गरेका छन् ।
शनिबार राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, वडा नम्बर ३ र ४ का अध्यक्ष गंगाराम थारु र कान्छा थारु, कार्यपालिका सदस्य दमकला जैसी लगायतको समुहले पत्रकार चौधरीलाई धम्की दिदै दुव्र्यवहार गरेका हुन् ।
राप्तीसोनारी गाउँपालिका ३ मा भएको सडक पिच २४ घण्टा नबित्दै भत्किएको बिषयमा समाचार लेखेको भन्दै उनीहरुले चौधरीको घरमै पुगेर बुझेर मात्र समाचार सम्प्रेषण गर्न भन्दै धम्की दिएका हुन् ।
पत्रकार महासंघ बाँकेका शाखाका साधारण सदस्य समेत रहेका चौधरीमाथि गरिएको दुव्र्यवहारको सबैतिरबाट आलोचना गरिएको छ ।
पत्रकार चौधरीले सडक कालोपत्रे समाचार लेखेको विषयमा गाउँपालिका अध्यक्ष लाहुराम थारु, वडा नम्बर ३ का अध्यक्ष गगाराम थारु, वडा नम्बर ४ का अध्यक्ष कान्छा थारु र केही केटाहरुको समुहले घरमै आएर धम्की दिँदै ‘त जस्तो सयाँै पत्रकार मेरो पुच्छर भएर हिड्छ्न त के उखार्छस’ भन्दै धम्क्याएको पत्रकार चौधरीले बताए ।
सोही घटनाका बारेमा पत्रकार महासंघ बाँकेले प्रेस विज्ञप्ती जारी गरी पत्रकार चौधरीलाई घरमै पुगेर सार्वजनिक स्थलमा लगेर गुण्डाशैलीमा गरेको दुव्र्यवहार खेदजनक भएको जनाएको छ ।
स्थानीय निकायका गतिविधिहरुको निगरानी गरी समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म भएको र त्यसरी प्रकाशन÷प्रशारण गरिएको कुनै समाचारप्रति आपत्ति भए वा चित्त नबुझे खण्डन गर्न सक्ने र सम्बन्धित निकायहरुमा उजुरी दिनसक्ने कानुनी व्यवस्था हुदाँहुदै जिम्मेवार पदमा रहेका व्यक्तिबाटै प्रेस स्वतन्त्रतामाथि धावा बोल्न खोज्नु कदापी पनि महासंघलाई स्वीकार्य नभएको भन्दै पत्रकार हेमन्त चौधरीको धनको सुरक्षाकाको ग्यारेन्टी गरी सार्वजनिक रुपमा दुव्र्यवहार गर्ने जनप्रतिनिधिहरुलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
यता राप्तीसोनारी गाउँपालिकाले आइतबार एक पे्रस विज्ञप्ती जारी गर्दै पत्रकारिताको विकासप्रति राप्तीसोनारी गाउँपालिका सदैव सम्वेदनशिल, जिम्मेवार र प्रतिवद्ध भएको बताउँदै पत्रकार र पत्रकारका संघ संस्थासँग सहकार्य गर्दै आइरहेका बेला राप्तीसोनारी साप्ताहिक पत्रिकाका पत्रकार हेमन्त चौधरीसँग जनप्रतिनिधिले चासो राख्दै छलफल गरिरहेको विषयमा नेपाल पत्रकार महासंघ बाँके जस्तो संस्थाले एक्कासी एक पक्षिय रुपमा विज्ञप्ती प्रकाशन गरेकोमा आफूलाई गम्भीर चोट पुगेको विज्ञप्तीमा उल्लेख गरेको छ ।









प्रतिक्रिया दिनुहोस्