वास्तविक किसानलाई सहयोग : मन्त्री पौडेल



रावन बिश्वकर्मा बाँसगढी, २१ जेठ/ प्रदेश नम्बर ५ की कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले वास्तविक किसानलाई सहयोग गरिने बताएकी छन् । आइतबार बर्दियाको बाँसगढीमा कृषक समूह र सहकारी संस्थालाई सम्बोधन गर्दै आफू वास्तविक किसानको सहयोगका लागि प्रतिबद्ध र प्रयत्नशील रहने बताएकी हुन् ।

उनले किसानका समस्या समाधानका लागि सधैँ प्रतिबद्ध रहेको समेत बताइन् । उनले प्रदेश सरकारले कृषि तथा सहकारी संस्थाका विषयमा बनाएका नीति तथा कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।

फरक प्रसंगमा मन्त्री पौडेलले निर्वाचनका बेला आफूले वृद्ध भत्तालाई पाँच हजार पु¥याउने वाचा गरे पनि अहिलेको संघीय बजेटले त्यसको सम्बोधन गर्न नसकेको बताइन् । तर, अबको ५ वर्षभित्र आफूले गरेका वाचा पूरा गर्ने प्रतिबद्धतासमेत जनाइन् । बाँसगढी नगर प्रमुख शालिकराम अधिकारीले मन्त्री पौडेललाई खादा ओढाएर सम्मान र स्वागत गरेका थिए ।

मन्त्री पौडेललाई स्वागत गर्दै अधिकारीले भूमि व्यवस्थापन र कृषि उत्पादनको सम्भावनाका विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए । बाँसगढी नगर उपप्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, सबै वडाध्यक्षहरू, सहकारी संस्थाका पदाधिकारी, किसान, बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति थियो ।

छलफलपश्चात कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले बाँसगढी नगरपालिकाभित्र जैविक मल उत्पादन गर्ने उद्योगको सम्भाव्यताबारे बाँसगढी–४ मा भेटघाट र स्थानीयसँग छलफलसमेत गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २१ गते सोमबार