बालविकास शिक्षकहरुको उचित सेवा सुविधा व्यवस्थापनमा जोड



कोहलपुर,१३ जेठ/   बालविकासमा अध्यापन गराउने शिक्षकहरुको सेवा सुविधामा उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । बाँकेको कोहलपुरमा नेपाल बालविकास कोहलपुर नगर कार्यसमितिले आयोजना गरेको नेपाल बाल विकास नगर स्थानिय भेलामा सहभागि शिक्षकहरुले बालविकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरुको सेवा सुविधा समय अनुसार वृद्वि गर्न नसकेको भन्दै तत्काल राज्यले बालविकासमा अध्यापन गराउने शिक्षकहरुको उचित व्यवस्थापन गर्नका लागि पहल गर्न अनुरोध गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल बालविकास केन्द्रिय अध्यक्ष कृष्ण थापाले देशभरीका बालविकासमा अध्यापन गराउने शिक्षकहरुको तलब वृद्वि लगायतका अन्य सेवा सुविधाहरु वृद्वि गर्नका लागि सरकारसँग अनुरोध गरेकी छिन् । साथै उनले शिक्षाको जग नै बालविकास भएकाले राज्यले बालविकासमा लगानी गर्नुपर्ने बताउँदै आधुनिक र गुणस्तरीय शिक्षामा जोड दिनका लागि बालविकास केन्द्रलाई स्रोत साधानले पूर्ण बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका सभापति निम बहादुर चलाउनेले बालविकास केन्द्र शिक्षाको प्रमुख आधार भएकाले स्थानिय सरकारले बालविकास केन्द्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । साथै उनले बालविकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरुको सेवा सुविधा वृद्विका लागि स्थानिय सरकार लागि परेको बताउँदै स्थानिय सरकारले बालविकास केन्द्रको वृद्विका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुरका अध्यक्ष विनोद भट्टराईले बाल विकास केन्द्रमा शैक्षिक अभावका कारण बालबालिकाहरुलाई अध्यापन गराउन असहज भएकोले तत्काल स्थानिय सरकारले प्रविधिलाई जोड दिनुपर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ कोहलपुर नगरका सहसचिव धनराज रेग्मीले प्राथमिक शिक्षक बराबारको सेवा सुविधा हुनुपर्ने भन्दै विभिन्न सयममा सकारकारे ध्यानाकर्षण पनि गरिएको बताउँदै राज्यले तत्काल बालविकास केन्द्रको विकासका लागि पहल चाल्नुपर्ने बताए ।

नेपाल बालविकास कोहलपुर नगर अध्यक्ष सीता रिमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका भित्रका बाल विकास केन्द्रमा अध्यापन गराउने करिब ६० जनाको सहभागिता रहेको थियो । हाल कोहलपुर नगरपालिका भित्र ८९
वटा बालविकास केन्द्र रहेको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १३ गते आइतबार