प्रधानमन्त्री ओलीलाई जिग्रीको पत्र (के लेखेका छन् हेर्नुहोस्)



प्रधानमन्त्री ओलीलाई जिग्रीको पत्र
सम्माननीय प्रधानमन्त्री ज्यु,

यो पत्र एउटा क्रिकेटप्रेमी नेपालीको नाताले हजुरलाई लेख्दैछु ।

आज नेपालीको छोरो सन्दीप लामिछनेले आईपीएलमा सनसनी मच्चाइरहँदा आम नेपालीहरुको झैँ हजुरको पनि छाती गर्वले फुलेको होला । भोलि सन्दीप लामिछाने मेरो देशको भन्दा हजुरको पनि इज्जत बढ्ला । सन्दीप लामिछाने, पारस खड्का हरु खाली क्रिकेट मात्रै खेलिराका छैनन्, विश्वमा नेपाललाई चिनाइराका पनि छन् ।
धेरै दुःख गरेर हाम्रा खेलाडीहरुले नेपाललाई एकदिवसीय मान्यता दिलाएका छन् ।

तर बिडम्वना तिनै महान खेलाडीहरुलाई खेल्नको लागी हामीसँग एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम पनि छैन ।

अब हामीले ४ वर्ष भित्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण सम्पन्न गरेर धेरै भन्दा धेरै एकदीवसीय खेलहरु खेल्नु छ । त्यसको लागि विगत दुई महिनादेखि अन्तरराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण अभियानमा हामी रात दिन नभनी लागि रहेका छौँ ।

धुर्मुश–सुन्तली फाउन्डेसनको संयोजन र सरकारसँगको सहकार्यमा निर्माण हुने स्टेडियम को प्रस्तावना नेपाल सरकारसमक्ष पेस गरेको धेरै दिन भैसकेको छ । तर रकेटको गतिमा देश विकास गर्ने भनेर जनतासामु सपना बाँडेर जनताको जनमत प्राप्त गरी देश को कार्यकारी प्रमुख तपाईं स्वयम हुँदा समेत तत्काल यसको निर्णय लिन ढिला किन ?

हामी नेपाली जनताले हाम्रो क्रिकेट स्टेडियम हामी आफै बनाउछौँ, सरकारले जग्गा उपलब्ध गराइदिनु पर्यो । कुनै पनि हालतमा देश बन्नु पर्छ भनेर सकारात्मक् सोच राख्ने हामी युवाहरुले नेपाल सरकारसँग सहकार्य गर्न खोजेको मात्र हो ।

जसलाई तपाईँजस्तो देश बन्नु पर्छ भन्ने सोच राख्नु हुने प्रधानमन्त्रीले त अलिकति पनि विलम्ब नगरी तत्काल ‘निर्णय लिएर अगाडि बढ्नुहोस्, सरकार तपाईँहरुको साथमा छ भन्नु पर्ने हैन र ?’

युद्धपछि विकासको तीव्र गतिमा अगाडि बढिरहेको अफ्रिकी मुलुक इथियोपियामा यदि कुनै विदेशी नागरिकले लगानी गर्न चाहन्छ भने ४८ घण्टाभित्र त्यहाँको सरकारले सम्पूर्ण सरकारी प्रक्रिया पूरा गराउँछ ।

तर हामी त यही देशको नागरिक यही देश भित्र देशले गर्व गर्न लायक को स्टेडियम बनाउन खोज्दा सरकारलाई निर्णय गर्न कुन कुराले रोकिरहेको छ ?

‘सरकारले चाहे एक दिनमै के गर्न सक्छ’ भन्ने कुरा को पुष्टि भर्खरै सरकारले चालेको सिन्डिकेटविरुद्धको कदमबाट पनि स्पष्ट हुन्छ ।

हामी आशा गर्छौँ नेपाली क्रिकेटका लागि पनि त्यो एक दिन कत्ति पनि विलम्ब नगरी आउनेछ, अन्यथा नेपाली क्रिकेटलाई माया गर्ने हामीजस्ता लाखौं नेपाली जनता देशको झण्डा बोकेर हामीले प्रस्ताव गरेको जग्गामा झण्डा गाड्न बाध्य हुनेछौँ ।

तर हामीलाई विश्वास छ, तपाईँजस्तो विकासप्रेमी प्रधानमन्त्रीले हामीलाई झण्डा गाड्न बाध्य बनाउनु हुने छैन ।

जय नेपाल

जय नेपाली क्रिकेट

-ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १ गते मंगलबार