आगलागी पीडितहरुलाई राहत वितरण



कोहलपुर,२१ वैशाख/ राप्तीपारीका अग्नीपीडितलाई बिहीबार राहत बितरण गरिएकोे छ । बुधबार मध्यान्हमा बाँकेको नरैनापुर गाउँपालिका–६ जमुनीमा एक्कासी आगलागी हुँदा १६ घरटहरा जलेर नष्ट भएको थिए ।

जमुनिका अग्नी पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

उनले थप सहयोग र राहतका लागि जिल्ला दैबी प्रकोप उद्दार समिति र विभिन्न संघसंस्थासंग आग्रह गरिएको जनाए । खरले छाएका, जोडिएका घरहरु र आवश्यक सावधानी नअपनाउँदा गर्मीयाममा नरैनापुर क्षेत्रमा हरेक बर्ष आगलागी हुने गरेको छ ।

जीर्ण सडकका कारण सदरमुकाम नेपालगन्जबाट समयमै दमकल पुग्न नसक्दा क्षति बढी हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार