व्यवसाय सञ्चालनका लागि सामग्री वितरण



नेपालगन्ज,२४ चैत/    नेपालगन्ज उप–महानगरपालिका भित्र रहेका श्रमिक बालबालिकाहरुको परिवारहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका वडा नं. १०, ११, १२, १६ र १७ नं. वडामा रहेका आर्थिक रुपमा विपन्न श्रमिक परिवाको आयआर्जनमा सहजता ल्याउने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको हो । किराना व्यवसाय सञ्चालनको लागि ८ परिवारलाई सामग्री हस्तान्तरण गरिएको छ ।

नेपालगन्जमा सम्पन्न हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नं. १२ का वडा अध्यक्ष वुद्धिसागर सुबेदीले प्राप्त गरेको सहयोग सामग्रीको सही सदुपयोग गरी व्यवसाय सुरु गर्न सबैमा अनुरोध गरे ।

उनले आर्थिक रुपमा विपन्न परवारलाई गरिएको सहयोग आयआर्जनको महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । सहयोग प्राप्त गर्ने परिवारहरुले संचालन गर्ने व्यवसायको वडाबाट समेत अनुगमन गर्ने उनको भनाइ थियो ।

हस्तान्तण कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नं. १० का वडा सदस्य नर बहादुर बिष्ट, वडा नं. ११ का वडा सचिव चन्द्र कुमार गोडीया र वडा नं. १७ का वडा सदस्य फिरोज बेहनाले वडामा सहयोग पाउने परिवारलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोग सामग्री प्राप्त गरेपछि बोल्दै वडा नं. १७ का स्माइल बागवानले खुसी व्यक्त गरे । उनले प्राप्त सामग्रीले दैनिक आयमा सहजता ल्याउने बताए । त्यसैगरी वडा नं.१२ का ओम बहादुर थापाले आर्थिक अभावमा केही सामान राखेर घुम्ती पसल सञ्चालन गरिरहेको बताउँदै सामग्री पाउँदा व्यवसाय बढ्ने बताए । उनले व्यवसायलाई निरन्तरता दिने र बालबालिकाहरुलाई विद्यालय पठाउने प्रतिबद्धता गरे ।

कार्यक्रम अन्तरगत बासले ५ ओटै वडाका ८ परिवारलाई किराना सामग्री, ५ परिवारलाई बाख्रा, एक परिवारलाई कस्मेटिक र एक परिवारलाईसिलाइकटाइ व्यवसाय सञ्चालन गर्न मेसिन प्रदान गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २४ गते शनिबार