वैश्यद्वारा हृदयरोग निवारण प्रतिष्ठानलाई रु १ लाख बढी दान



नेपालगन्ज, ४ फागुन /   नेपाल हृदयरोग निवारण प्रतिष्ठान बाँके शाखाको अक्षय कोषका लागि नेपालगन्ज उपनगरपालिका निवासी धु्रव वैश्यले १ लाख १ हजार १ सय ११ रुपंैया चन्दादान गरेका छन् ।

हृदयरोग निवारण प्रतिष्ठानको सातांै वार्षिक साधारण सभाका अवसरमा वैश्यले आफ्ना आमा गुलाबवती र पिता होलीराम वैश्यको सम्झनामा उक्त चन्दादानगरेका हुन् ।

चन्दा दातालाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले खादा लगाई सम्मान गरेका थिए । प्रमुख राणाले बाँके जिल्लामा हृदयरोग निवारण प्रतिष्ठानद्वारा निर्माणधिन अस्पतालको निर्माणका लागि जिल्ला देखि प्रदेश सरकारसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिका निवासी स्व. शिवकुमारी हलवाईले चलअचल सम्पत्ति नेपाल हृदयरोग निवारण प्रतिष्ठान बाँके शाखालाई विगतमा दान गरेकी थिइन् । उनीबाट प्राप्त श्रीसम्पतिबाट खजुरारोड स्थित मुटुअस्पताल निर्माणाधिन रहेको छ ।

नेपाल रेडक्रस सोसाइटीका का.बा. अध्यक्ष एवं हृदयरोग निवारण प्रतिष्ठान बाँके शाखा कार्यसमिति सदस्य अजीतकुमार शर्माले महान चन्दादाता स्व.शिवकुमारी हलवाई प्रति सम्मान प्रकट गर्दै उनको चाहना बाँके जिल्लामा मुटु अस्पताल र सो स्थानमा राधाकृष्ण मन्दिर निर्माण गर्न गरेको स्मरण गराए ।

राधाकृष्ण मन्दिर निर्माण भइसकेको र बाँकी निर्माण कार्य आगामी दिनमा संचालन हुने जानकारी गराए । योजना अनुसार निर्माणाधिन मुटु अस्पताल आर्थिक अभावका कारण निर्माण कार्यमा गति लिन नसकेको जानकारी गराइएको थियो ।

साधारण सभामा प्रतिष्ठानका सचिव दोलखबहादुर डाँगीले वार्षिक प्रगति प्रतिवेदन र प्रस्तावित कार्यक्रम तथा कोषाध्यक्ष गोपीचन्द्र वर्नवालले वार्षिक आय व्यय रु १८ लाख ७८ हजारको वार्षिक प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । बन्दसत्रमा प्रस्तुत कार्यक्रम र बजेट माथि छलफल गरी सभासद्हरुले पारित गरेका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान बाँके शाखाका सभापति जगदीश प्रसाद वैश्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रतिष्ठानकी सदस्य निरञ्जना मल्ल र आजीवन सदस्य सुरेन्द्र श्रेष्ठ लगायतले विचार राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार