काठमाडौँ ।
दीपावली सकिन नपाउँदै मिथिलाञ्चलसहित देशभर श्रद्धा, निष्ठा र भक्तिभावका साथ मनाइने छठ पर्व सुरु भएको छ । पाँच दिनसम्म मनाइने यो पर्व मनाउनका लागि तराई मधेशसहित काठमाडौँका विभिन्न तलाउ, पोखरी तथा नदीहरू सजाइएका छन् । मिथिलाञ्चलको केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेष रूपमा सजाइएको छ ।
मिथिला संस्कृतिको अभिन्न अंगका रूपमा रहेको छठ पर्वका लागि जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम गरिएको छ । यी तलाउहरूको सरसफाइ तथा सजावटको तयारी एक महिना अघिदेखि नै सुरु भएको थियो ।
यसैगरी, वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरीस्थित छठघाटको पनि सरसफाइ तथा सजावट गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल तथा विभिन्न क्लब र सामाजिक संघसंस्थाहरूले समन्वय गरेर छठघाटमा आउने श्रद्धालु भक्तजनको सुरक्षा, सहजताको व्यवस्थापन गरिएको छ । घडीअर्वा पोखरीमा छठी माताको आराधनाका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने गर्छ भने करिब दुईदेखि तीन लाख श्रद्धालु भक्तजन सहभागी भएर छठ पर्व मनाउने गर्दछन् ।
पोखरी व्यवस्थापनका लागि वीरगन्जका व्यापारी, नागरिक समाज, चन्दादाता तथा विभिन्न सहयोगीबाट प्राप्त आर्थिक सहयोगमार्फत करिब २२ लाख रूपैयाँँ खर्चिइने छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । उक्त रकम घाटको सरसफाइ, सुरक्षा, बत्ती, सजावट तथा अन्य आवश्यक व्यवस्थापनलाई व्यवस्थित बनान प्रयोग गरिएको समितिले जनाएको छ । घडीअर्वामा हुने छठ पूजामा प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत निमन्त्रणा गरिएकाको छ ।
छठ पर्वकै अवसरमा वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ गरी प्रदूषण नियन्त्रणका लागि पहल गरिएको छ । उक्त नदीमा वीरगन्जका विभिन्न उद्योगबाट निस्कने रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसाउने गरिँदै आएकोमा सरकारले उद्योगमाथि निगरानी र अनुगमन कडा बनाएको जनाएको छ । छठ पर्वका अवसरमा नदी किनारमा पुगेर पूजा तथा अघ्र्य दिने श्रद्धालुहरूलाई स्वच्छ र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले सरकारी निकाय तथा स्थानीय तहले नदी सरसफाइ र प्रदूषण नियन्त्रणका गतिविधि अघि बढाएको दाबी गरेका छन् ।
यसै क्रममा उद्योग विभागले उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न पुनः निर्देशन दिएको छ । विभागले उद्योगहरूको संयुक्त अनुगमन तथा निरीक्षण गरी वातावरणीय मापदण्ड पालना भए नभएको जाँच गर्ने जनाएको छ । कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनका लागि पाँच बुँदे निर्णय गरेको थियो ।
बैठकले औद्योगिक क्षेत्रका उद्योगहरूलाई आफ्ना फोहोर पानी प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा मिसाएको पाइए सम्बन्धित उद्योग माथि कारबाही गर्ने निर्णय समेत गरिएको छ । त्यस्तै, साना तथा मझौला उद्योगबाट निस्कने औद्योगिक फोहोर पानी व्यवस्थापनका लागि साझा प्रशोधन केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययन गरिने निर्णय गरिएको छ ।
यसबाट छुट्टाछुट्टै प्रशोधन केन्द्र सञ्चालन गर्न कठिनाइ भएका उद्योगको फोहोरपानी समेत व्यवस्थित रूपमा प्रशोधन गर्न सकिने अपेक्षा गरिएको छ । बैठकले नगरपालिकाबाट निस्कने ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था गर्ने र सिर्सिया नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने पनि निर्णय गरेको छ । छठ पर्वको रौनक पछिल्लो समय मिथिलाञ्चलमा मात्रै सीमित छैन ।
पहिले पहिले पूर्वमा मात्रै मनाइने यो पर्व अहिले पश्चिम तराईसम्मै फैलिएको छ भने मिथिलावासीहरूको बसाइँ रहेका काठमाडांँलगायत अन्य स्थानमा पनि यो पर्व मनाइने क्रम बढेको छ । छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापन गरिएको छ । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम गरिएको छ ।
काठमाडांँको बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्रमा पनि घाट व्यवस्थापन गरिएको छ । यस्तै, विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गर्ने तयारी गरिएको छ । नेपालगन्ज पनि मैथिलहरूको बसोबास उल्लेखनीय भएको सहर हो । नेपालगन्जमा पनि छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ ।
नेपालगन्जमा छठ पूजाका लागि श्रद्धालुहरूको पहिलो रोजाइमा बागेश्वरी मन्दिर पर्ने गरेको छ । यसैगरी राप्ती नदीका साथै अन्य तलाउहरूमा पनि छठ मनाउने गरिन्छ । नेपालगन्जमा हरेक वर्ष छठ मनाउनेहरू बढिरहेका छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र ठाकुर बताउँछन् । पछिल्ला वर्षहरूमा बागेश्वरी मन्दिर परिसरको तलाउमा छठ पर्वका लागि सूर्यलाई अघ्र्य दिने श्रद्धालु तथा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ ।
छठ पूजा समिति नेपालगन्जले बागेश्वरी तलाउलाई छठ घाट तथा पूजास्थलको रूपमा व्यवस्थापन गरेको छ । तिहार अघिदेखि नै सजाइएको बागेश्वरी मन्दिरको तलाउलाई छठका लागि भनेर थप व्यवस्थापन गरिएको छ । छठ पूजा समितिले छठका अवसरमा प्रसाद वितरण लगायतका कार्यक्रमहरू पनि गर्दै आएको छ । यसैगरी कतिपय श्रद्धालुहरू डुडुवास्थित राप्ती नदीको सिधिनियाँघाटमा पनि छठ पूजा गर्न पुग्ने गरेका छन् ।
यसरी मनाइन्छ छठ
छठ पर्वकोको पहिलो दिन व्रतालुहरूले शुद्धता र चोखोपनमा विशेष ध्यान दिँदै व्रतको तयारी सुरु गर्छन् । छठ पर्वको प्रारम्भसँगै व्रतालुहरूले माछा, मासु तथा कोदोबाट बनेका खाद्य परिकार त्याग्ने परम्परा छ । पर्व अवधिभर शुद्धता, संयम र नियमपालनलाई विशेष महत्व दिइन्छ । यस वर्ष पर्वको दोस्रो दिन अर्थात् शुक्रबार नहाय–खाय विधिअनुसार पूजा गरिनेछ । यस दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने गर्दछन् ।
तेस्रो दिन शनिबार दिनभर उपवास बसेर साँझ सक्खरको रसमा पकाइएको खिर कुलदेवता तथा छठी मातालाई अर्पण गरी खरना विधि सम्पन्न गरिनेछ । यस वर्ष छठ पर्वको मुख्य पूजा आइतबार साँझ गरिने छ । यसलाई ‘संझुका अघ्र्य’ भनिन्छ । यस दिन दिनभर निराहार उपवास बसेका व्रतालुहरू साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्न जलाशय तथा छठघाट पुग्नेछन् । उनीहरूले घरमै तयार पारेका ठेकुवा, भुसुवा लगायतका प्रसाद सामग्रीसहित सूर्यदेवलाई अघ्र्य दिनेछन् ।
पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ व्रत समापन हुनेछ । यस विधिलाई पारणा भनिन्छ । पारणापछि व्रतालुहरूले परिवारजन तथा इष्टमित्रलाई प्रसाद वितरण गर्ने परम्परा छ । मिथिलाञ्चलमा तिहारलगत्तै मनाइने छठ पर्वलाई दोस्रो ठूलो पर्वका रूपमा लिने गरिन्छ । सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा कठोर व्रत गरेमा सन्तानको सुख, परिवारको समृद्धि, आरोग्यता तथा मनोकामना पूर्तिको हुने धार्मिक विश्वास रहीआएको छ ।
छठ पर्वले धार्मिक मान्यता तथा सांस्कृतिक महत्व बोक्नुका साथै यसले सूर्यजस्तो शक्तिको स्रोत र पर्यावरणीय सरंक्षणको चेतनालाई पनि बोक्ने संस्कृतिका जानकारहरूको मत छ । छठ पर्वका लाति तलाउ तथा नदी अनिवार्य रहने भएकोले यसले पर्यावरण संरक्षणको चेतनालाई बढावा दिने उनीहरूको मत छ ।









प्रतिक्रिया दिनुहोस्