शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिकामा एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सुरु हुने भएको छ । बाँके जिल्लामै दोस्रो सरकारी अस्पतालमा रूपमा कोहलपुर नगर अस्पतालले एन्टी–रेबिज भ्याक्सिन सेवा सुरु गर्ने भएको हो । हाल बाँकेको जिल्लाको एकमात्र नेपालगन्जस्थित भेरी अस्पतालमा मात्रै एन्टिरेबिज भ्याक्सिन सेवा सञ्चालनमा रहेको छ । कोहलपुर नगर अस्पतालको सेवा सुदृढीकरण गर्दै अस्पतालमा असोज १९ गतेदेखि नियमित रूपमा सेवा सञ्चालन हुने कोहलपुर नगर अस्पताल, कोहलपुर बाँकेले जनाएको छ ।
कोहलपुर नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माका अनुसार कोहलपुरमा पहिलोपटक सेवा सञ्चालनको लागि अन्तिम तयारी भइरहेको छ । सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, संरचना र अन्य सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । ‘कोहलपुर नगर अस्पतालको सुदृढीकरण गर्ने क्रममा यो सेवा सुरु हुन लागेको हो । अब कुकुर वा अन्य जनावरले टोकेको अवस्थामा रेबिज रोगबाट बच्नका लागि लगाइने एन्टिरेबिज भ्याक्सिन सेवा कोहलपुरमै सुरु हुन्छ,’ जनस्वास्थ्य अधिकृत विश्वकर्माले भने ।
एक वर्षअघि मात्रै सुरु भएको नगर अस्पतालमा कुकुर वा अन्य जनावरले टोकेको अवस्थामा अस्पतालमा बिरामी आएपछि उपचारको कुनै व्यवस्था थिएन । कुनै बिरामी अस्पतालमा आएमा नेपालगन्ज र निजी अस्पतालहरूमा फर्काउनुपर्ने स्थिति थियो । अब भने कोहलपुर नगरपालिका वडा नम्बर १ देखि १५ सम्मका नागरिकले एन्टिरेबिज भ्याक्सिन सेवा कोहलपुर नगर अस्पतालमै पाउने विश्वकर्माको भनाइ छ । कोहलपुरमा पहिलोपटक सुरु हुन लागेको एन्टिरेबिज भ्याक्सिन सेवाका लागि स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बुटवलले कोहलपुर नगर अस्पताललाई ५० वटा डोजको कोटा छुट्याएको छ ।
उनी भन्छन्, ‘यसअघि सेवा सुरु नभएको हुनाले बिरामी फर्काउनुपर्ने स्थिति थियो । अब भने नगर अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्छ । सेवाग्राहीको चापको आधारमा सेवालाई झन् बृहत्त बनाउने हाम्रो योजना रहेको छ ।’ सेवाग्राहीहरूको चाप र मागको आधारमा सेवाको दायरा बढाइने जनस्वास्थ्य अधिकृत विश्वकर्माले बताए । यस्तै, असोज १९ गतेदेखि सुरु हुने एन्टिरेबिज भ्याक्सिन सेवा लिनको लागि कोहलपुर नगरबासीलाई अपिलसमेत गरिएको छ । कुकुर वा अन्य कुनै जनावरले टोकेको वा रेबिजको जोखिममा परेका सेवाग्राहीहरूले समयमै अस्पतालमा उपस्थित भई वा सम्पर्क राखी आवश्यक एआरभी सेवा तथा चिकित्सकीय परामर्श लिनसमेत कोहलपुर नगर अस्पताल कोहलपुरले आह्वान गरेको छ ।
अस्पतालका अनुसार यो भ्याक्सिन कुकुरले टोकेका व्यक्तिहरूलाई लगाउने हो । कुनैपनि व्यक्तिलाई कुकुर वा अन्य जनावारले टोकेको खण्डमा पहिला पाँच पटक लगाइन्थ्यो । अहिले भने तीन पटक मात्रै लगाउँदा डोज पुग्ने विश्वकर्माको भनाइ छ । पहिलोपटक लगाएको तीन दिन र अन्तिमपटक सातौँ दिनमा अनिवार्य रूपमा खोप लगाउनुपर्ने उनले बताए । कोहलपुर नगर अस्पतालमा एन्टिरेबिज भ्याक्सिन सेवा सुरु भएपछि प्रति व्यक्ति प्रति डोजको १ सय रूपैयाँँ शुल्क निर्धारण गरिएको छ । जनशक्ति, पूर्वाधार लगायतमा खर्च गर्नको लागि प्रतिव्यक्ति १ सय रूपैयाँँ निर्धारण गरिएको अस्पतालले जनाएको छ । बिरामीको आर्थिक अवस्था तथा बिरामीको प्रकृति हेरेर निःशुल्कसमेत डोज लगाउन सकिनेसमेत उनले बताएका छन् ।
कोहलपुर नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यले पनि कोहलपुरमा पहिलोपटक सेवा सुचारु गर्न लागिएको बताए । नगर अस्पतालमा एन्टिरेबिज भ्याक्सिन सेवा सुरु हुनु कोहलपुर क्षेत्रको लागि कोशेढुंगा सावित हुने उनले बताए । उनले भने, ‘कोहलपुर नगर अस्पतालबाट अब एन्टिरेबिज भ्याक्सिन सेवा नियमित रूपमा सुरु भएको जानकारी गराउँदछौँ । कुकुर, बिरालो लगायतका जनावरको टोकाइ वा शंकास्पद सम्पर्कमा आएका नगरबासीहरूले आवश्यक स्वास्थ्य परामर्श तथा एन्टी– रेबिज भ्याक्सिन सेवा कोहलपुर नगर अस्पतालबाट लिन सक्नुहुनेछ ।’









प्रतिक्रिया दिनुहोस्