कथाः एउटा बुढो छहारी !



नव राज भट्ट

जुँगाको दुवै छेउ हल्का घुमुर्केको ,दाह्री खौरिएको , खुइलिएको तालुमा ढाका टोपी ढल्किएको , दौरा सुरुवाल र आसकोटमा सजिएर आनन्द भावमा गमिरहेका हुन्छन् हजुरबा । आज चौरासी वर्षको उमेर पुग्नु भएको छ उहाँ । त्यसै उपलक्ष्यमा उहाँको चौरासी पूजा लगाइन्छ । कुनै समय खिञ्चेतको नामले कहलिएको एउटा भेगमा नौ वटा गढी मध्य एउटा नौवाकोट पथ्र्यो भने अर्को गढी भैरुम कोट पथ्र्यो । केही गगनचुम्वी डाँडाहरुले घेरिएको त्यस गढीको मन्तिर अनगिन्ती थुम्काथुम्कीहरु थिए । जहाँ भित्र कैयन पुराना बस्तीहरु थियो । ती बस्तिहरु मध्ये एउटा थियो अमर बस्ती । जहाँ वर्षौँ देखि बुढो छहारी बनेर ठडिएर रहेका थिए खडक बहादुर उर्फ तीनै हजुरबा । मन्दमन्द हावाचल्छ ! आगनीको डिलमा हावाको रफ्तार सँगै चलमलाइरहेका हुन्छन् केही थान बकाइनाका पातहरु ! ढोकामाथि गौँथलीले माटाको सानासाना कंणबाट आफू बस्ने गुँड बनाएको हुन्छ । जहाँबाट निस्कँदै भुुर्रर आकासमा उँड्दै रमाइरहेका हुन्छन् केही गौँथलीहरु पनि । एउटा श्रद्धा ,प्रेम र अध्यात्मको रुपमा रहेको त्यो पवित्र महान कार्यमा सरिक भएर सायद ऊ पनि रमाइरहेको छ । आगन्तुकहरु अनगिन्ती हुन्छन् । एउटा जिँउदो इतिहाँस बोकेका हजुरबा प्राय ः धेरैका प्रेरणाका खानी थिए ! जसभित्र शिक्षा र सँघर्षका अनगिन्ती कथाहरु लुकेर रहेका होलान् । बेलाबखत पत्रपत्रीकाहरुमा पनि उहाँका अन्तरवार्ताहरु छापिरहेका नै हुन्थे । मान्छेहरु उहाँको बारेमा जान्न र बुझ्न निकै उत्सुकता देखाउँथे । यो उमेरमा पनि यतिको स्फुर्त शरिर , चिल्ला र चम्किला मुहार , टाठिएका आँखा गहकिलो आवाज , हेर्ने देख्नेहरु अचम्ममा पर्थे । र जसको राज जान्न चाहन्थे । चौरासी बसन्त पारगर्दा सम्म उहाँले सोचेका र भोगेका जिन्दगी जान्न जो कोही पनि आतुर नै थिए । जीवनको यतिलामो यात्रामा मान्छेका अनगिन्ती आरोह अवरोहहरु हुन्छन् । कैयन चाहना सँगै असँख्य चोटहरुले पनि राज गरेका हुन्छन् । पुराना पुस्ताका ति अनुभवका डायरीहरु नयाँ पुुुस्ताको लागि एक जिज्ञासा र मार्गदर्शन पनि हुनसक्छ । आगन्तुकहरु बिच हजुरबा सुनाउँदै थिए जिवनका शुरुवात देखीका आत्मकथाहरु । म पनि सुन्न निकै आतुर थिएँ र जान्न निकै लालायीत पनि । कुरा कताबाट शुरु गर्ने भन्ने अन्यौलमा रहेका हजुरबालाई मैले सोधिभ्याएँ ‘आजको दिन तपाईँले के सम्झिरहनु भएको छ हजुरबा ?’

सायद मेरा प्रश्नले उहाँलाई सजिलो बनाएको हुनसक्छ । हजुरबा मुस्कुराउँदै काहानी सुनाउनँ तम्सिए जसरी , “हनुमानले अशोक बाटिकामा सीता मातालाई राम काहानी सुनाएझैँ ।” आमा ,बुबा र गुरु जीवनको खास व्यक्तिहुन् , ‘भन्नुहुन्छ भने’ सर्व प्रथम उहाँहरुलाई सम्झिरहेको छु । जो बिना केही सम्भव छैन । सर्व प्रथम म उहाँहरु प्रति नमन टक्रयाउछु । ” भन्दै उहाँले वाल जीवन सम्झिए र बछेडाझैँै निश्छल निष्कपट रहेको वाल्यकाल जीवनकै उत्कृष्ट समय रहेको सन्दर्भ कोट्याए । हुन पनि हजुरबाले भन्न खोजेझैँ त्यो समय एउटा निर्दोष भावमा चन्चल भएर खेल्ने उमेर थियो । त्यहाँ न कसैको ईष्र्या, न घमण्ड न कुनै पिर चिन्ता नै हुने गथ्र्यो । न कुनै अभावको व्याकुलता न कुनै जिम्मेवारीको बोध ,मनमा उठेका तरंग र चञ्चलता सँगै खेल्ने दौडने त्यो वाल्यकालमा कुनै विठ्याँई भएपनि कुनै दोष अबगाल नलाग्ने ! जति नै बखान गरे पनि अधुरै रहने त्यो स्वर्णिम युग सम्झिएर त्यो बाल्यकाल फेरि दोहोरिएर फर्किएर आएपनि हुन्थ्यो भन्दै हजुरबा गम्भीर भए । त्यसैगरी युवा तन्नेरी अवस्थाको पनि रमाइलो कथा हाल्दै गए हजुरबाले । त्यो उमेर उडेको चरा खसाल्ने उमेर हो भन्ने गर्थे पहिलेका मान्छेहरू पनि ! बाल्यकाल अभिलाषा रहित चिन्ता र भयमुक्त भएर चल्ने मनसँगै दौडने ,साथीहरूसँग क्षणमै मिल्ने क्षणमै झगडा गर्ने कोही कसैसँग वैरभाव नराख्ने उमेर थियो भने युवा तन्नेरी उमेर भनेको रहर इच्छा र अभिलाषा सँगै वर्तमानको रमणीय पल र भविष्यको उन्नत चाहना बोकेर हिँड्ने उमेर रहेछ ! भन्दै हजुरबाले फर्किएर हेर्दै गए आफ्ना अतितका ऐनाहरु । ‘भन्नुहुन्छ भने ’ भन्ने थेगो हाल्दै युवा अवस्थामा गाउँघरमा कुनै आजापुजा हुँदा होस् वा बिबाह ब्रतबन्ध होस् , नाचगान गरेका कुराहरु पनि झिक्दै गए । “त्यतिबेलाको सम्झनाले सितल भरिएर कहिलेकाहीँ मनै आनन्द हुन्छ । यो बुढो शरीरमा नी ताकत भरिएर आएझैँ लाग्छ ! ” भन्दै लजाउँदै र मुस्कुराँउदै पनि जान्छन् हजुरबा । “गाउँघरमा नाचगान र दोहोरी चल्नेक्रममा कसैसँग माया प्रेम बस्यो । जागिर गर्न जाँदा पनि सम्झना अति आउनथाल्यो । त्यो बेलाँ कहिले चिठ्ठीको भरमा आफ्ना भावनाहरु साटासाट हुन्थे । र पनि हुलाक नजिक थिएन चिठ्ठी पठाउन पनि सजिलो हुन्थेन, ” भन्दै लामो श्वास तानेर विगतमा गहिरिँदै गए जसरी डाँडा माथि चढेर तल बेशी नियालेझँ नियाल्दै जान्छन् आफ्ना जिन्दगीका धरातलहरु ।
एकपटक दसैँ बिदामा घर आउँदा फेरी त्यही दोहोरीमा आफ्नी मायालु सँग भेट भएको र लामो समय माया पिरतीका बात हुनेक्रममा अब कहिल्यै नछुट्टिने बाचा गरेर काखमा सिरानी हालेर आफ्नी मायालुले आँसु खसालेका ति रमाइला दिनका कुरा झिकेर सबैलाई लठ्याए हजुरबाले ।

हजुरबाको पुरानो प्रेम काहानी सुनेर हजुरआमा लजाउँदै थिइन् । रहस्य तव खुल्यो हजुरबाले बताएका ति प्रेमिल कथा को हिरोइनको मुख्य पात्र तिनि हजुर आमा रहिछिन् । धरै मान्छेहरु थिए उहाँका कुराहरु सुनेर बसेका त्यहाँ । युवा रहर र राष्ट्र सेवाको भावनाले सेनामा जागिर खाएको कुरा झिके उहाँले । “कसरी पेन्सन पकाएर निस्किएँ पत्तै भएन ।” भन्दै ‘ भन्नुहुन्छ भने’ थेगो नछोडी जोस जाँगरले भरिएको कलकलाउँदो युवा उमेर राष्ट्रसेवामा समर्पित गरिएका उहाँका पुराना अनुभवहरु सुनेर मान्छेहरु मुकदर्शक भए । ‘इमान्दार भएर राष्ट्रको हितमा देश र जनताको सेवा गर्नु नै एउटा राष्ट्रसेवकको मूल कर्तव्य थियो ।’ भनेर नियम र अनुशासनलाई कडाइका साथ पालना गरेको कुरा झिक्दै गए । “जागिरबाट रिटायार भएपनि त्यहाँको ज्ञान ,सीप र असल संस्कारको पुरै हिँस्सा सामाजिक काममा लगाउन पाउँदा गर्विलो महसुुस हुन्छ” भन्दै जागिर गर्नेक्रममा धेरै देशहरू घुम्ने अवसर पाएको कुरा पनि सुनाउँदै गए । विकसित र अविकसित धेरै देश पुगेका हजुरबा वर्तमान अवस्थाको आफ्नो देश हेरेर अलि गमिलो बने । र स्वर्ग जस्तो आफ्नो देशमा कसैको आँखा नपरोस् भनेर पनि कामना व्यक्त गरे । र “पुर्खाले जोगाएको देश हो यो ।” भन्दै देशको अस्थिर राजनैतिक अवस्था सँझिएर पनि भावुक भए । जागिरबाट रिटायर भएपछि साथीभाइ र समाजको आग्रह अपेक्षा पछि चुनाव लडेर गा.वि.स. अध्यक्ष भएका पनि रहेछन् हज्रबा । गाउँको धारा पानी पाटि पौवा उहाँ अध्यक्ष भएको पालामा बनेका रहेछन् । बिजुली बत्ती र स्कुल उहाँकै पालामा आएको रहेछ । आफ्नो काम आफैले गर्नुपर्छ भन्ने मान्यता राख्ने हजुरबाले बेरोजगार युवाहरूलाई सीप ,ज्ञानको व्यवस्था गरेको कुरा पनि छर्लङ्ग पार्दै गए ।
“काम गर्न सजिलो पक्कै थिएन ,तर पनि हिम्मत हारिएन । चाहे सोचे जस्तो काम गर्न नसकेपनि जति गरियो निस्वार्थ भएर गरियो ,” भन्दै गर्विलो छाती गरे । रिटायर पछि समाज सेवामा लागेका हजुरबा समाजसेवामै लागेको कारण राजनीतिमा तानिएको कुरा अथ्र्याउँदै थिए । ‘भन्नुहुन्छ भने ’भन्ने उहाँको थेगो छँदैथियो “खासमा समाज सेवा र राजनीति फरक कुरा हैनन् । राजनीति पनि समाज सेवाको अर्को पाटो हो । ” भन्दै आफु राजनीतिमा आएको बताए । केहीबेर अलमल्ल परेर भैँमा केही खोजेझैँ यताउता हेर्दै थोता गिजा देखाएर खिस्स हाँस्दै हजुरबाले भने ,“ समाज सेवा र राजनीतिको उद्देश्य झट्ट हेर्दा उस्तै जस्तो लागे पनि आजसम्मको अनुभवमा यसको प्रकृति र प्रवृत्ति अलि फरक जस्तो लाग्छ । ‘समाज सेवा दिलले चलेझैँ राजनीति दिमाखले चलेको महसुस भयो ! ’ फरक यही देखेँ भन्दै वास्तवमा राजनीति समाज सेवाको एउटा मूल पाटो हो । राज्यको सबै पाटपुर्जा र अँग चलाउने राजनीति नै हो । तर राजनीतिमा असल मान्छेहरु पुग्ने हो भने सब ठिक हुन्छ । दीन, दुःखी ,रोगी, गरिबको असल साथी हुनुपर्छ राजनीति ,” भन्दै त्यहाँ भित्रको समानता र फरकपन पनि छुट्याउँदै गए ।

वास्तवमा हजुरबाका सोच र कामहरू एकदम पवित्र थिए । जीवनलाई नदी सँग तुलना गरेर संघर्ष , गति र लक्ष्यको कुरा गर्थे । प्रकृतिले मानिसलाई धेरै थोक दिएकोछ तर मानिसले प्रकृति सँग त्यति मात्र लिनुपर्छ जसबाट मानिस सन्तुष्ट हुन सकुन् । तर प्रकृतिको सुन्दरता नबिगारुन् । उहाँका यस्ता गहकिला तर्क ,मिजासपन र सरल व्यवहारबाट प्रभावित भएर हुनुपर्छ गाउँ समाजमा बालकदेखि बृद्धसम्मका मान्छेहरू हजुरबा भनेपछि हुरुक्क हुन्थे । जो कोहिलाई पनि दिन गएको पत्तै हुनेथिएन बसेर उहाँको कुराहरु सुन्न थालेपछि । हजुरबाको विशेषता भनौँ वा विशिष्टता त्यही नै थियो ।
‘भन्नुहुन्छ भने ’ “कुनै पनि काममा सक्रिय भएर लाग्ने भनेको शरीरमा ताकत हुन्जेल मात्र रहेछ तरपनि आज सम्म अंग्रेजी दबाइ खानु प¥याछैन ! बिहान उठ्छु बाहिरफेर डुल्छु । कहिलेकाहीँ बाले सारेको नजिकैको वर पिपलको चौतारीमा जान्छु । पुराना दोस्तीहरु सँग यसो गफ हुन्छ । समय कटाउने त हो बाबु डाँडा माथिको जुन कतिखेर अस्ताउँछ कसलाई के थाहा ! ‘बुढो भयो सब रंग गयो आँगन भयो परदेश !’ त्यस्तै कहिले काहीँ टि.भि.हे¥यो देश परदेशको समाचार सुन्यो भजन कृतन ग¥यो । ‘ भन्नुहुन्छ भने ’ टिभी .मा पनि अब मनले चाहेको हेर्ने सुन्ने राम्रै व्यवस्था हुँदोरैछ जमाना धेरै फेरिएछ ! पहिला मुस्किलले रेडियो सुन्न पाइन्थ्यो । जे होस् दिन यसरी नै गएकाछन् ।” भन्दै आफ्नो स्वास्थ अवस्थाको कुरा सँगसँगै दिनहरु कट्ने गरेको एउटा आफ्नो जीवनी सुनाउँदै गए । जिन्दगी के रहेछ भन्ने सन्दर्भमा जीवनलाई आफूले पनि ठम्याउन नसकेको एउटा दृष्टान्त राख्दै गए । “मैले पनि एकिनका साथ ठम्याउन पक्कै सकिन जिन्दगीलाई , तर एउटा कुरा जरुर भन्न सक्छु । जिन्दगी काँडा विच फुल्ने एउटा सुन्दर फूल हो , इच्छा रहर र खुसीमा चम्कने एउटा तारा हो ,कर्म पथमा डटेर अघि बढ्ने एउटा योद्धा पनि हो । खासमा मैले पनि त्यस्तो ठुलो काम त केही गरेको हैन समय र परिबेश अनुसार हिँड्ने प्रयास गरेको मात्र थिएँ । मानव भएर एउटा मानवताको कर्तव्य पुरा गर्न खोजेको मात्र थिएँ । एकबारको जुनी यो अमृत जस्तो जीवन त्यतिकै खेर फाल्न हुन्न त्यो सबैले जान्नुपर्ने कुरा हो । ” भन्दैे , “यदि जमिनबाट पानी निकाल्नु छ भने अलग अलग ठाउँमा खोपिल्टो खनेर हैन एकै ठाउँमा गहिरो बनाउनुपर्छ । तपाईंँ सबथोक गर्न खोज्नुहुन्छ भने सबैमा सफल हुन गाह्रो हुन्छ । तपाईँ एउटै कुरामा लाग्नोस् ! त्यसैमा निरन्तर अघि बढ्नोस् ढिलो चाँडो तपार्इँ सफल बन्नुहुन्छ ।” भन्ने एउटा महत्वपुर्ण सुझाव पनि दिए उहाँले । त्यसैमा अरु थप्दै गए । “मेरो जीवनको अनुभवले के भन्छ भने तपार्इँ सधँै सकारात्मक भएर अघि बढ्नोस् । देश ,काल र परिवेश अनुसार अघि बढ्नोस् । परिस्थिति अर्को महत्वपुर्ण कुरा हो । समय र परिवेश जस्तै त्यहाँको रहन सहन अनुसार मान्छेको काम र अनुभवहरू फरक हुनसक्छन् । ‘भन्नुहुन्छ भने’ उनीहरूको हेर्ने र बुझ्ने दृष्टिकोणहरू फरक हुनसक्छ । र जिउने मार्ग फरक होलान् । र जीवनको आनन्द लिने तरिकाहरू पनि फरक हुनसक्छन् ! मात्र फरक यति हो उसको कर्म नै उसको भाग्य निर्माणको उद्गम हो । सफलता र असफलता त्यहीँबाट शुरु हुन्छ र त्यहीँ बाट टुँगिन्छ ।”र् मान्छेको जीवनमा कर्मको अत्यन्तै ठुलो महत्व रहेको छ !’ भन्ने कुरा कृष्ण भगवानले गीतामा दर्शाउनु भए जस्तै र्र शुभकार्य गर्न कहिल्यै आलस्य नहुनु ! ’ भन्ने रावणले मर्नु अघी लक्ष्मणसँग भनेका भनाईझैँ हजुरबाले आफ्ना अनुभव र वाक्याँसहरु त्यहीँ लगेर जोडेका थिए । र् जीवन एउटा सोचाई , बुझाई र भोगाई पनि हो !’ जुन कुरा हजुरबाले अन्तिमसम्म आउँदा व्यक्त गरिसकेका थिए । अन्य मान्छेहरुझैँ म पनि निकै प्रभावित भएको थिएँ उहाँसँगको त्यो एक बसाइमा । सितल छायाँ प्रदान गर्ने गाउँको बिचमा ठडिएको एउटा बुढो छहारीझैँ थिए त्यो गाउँमा हजुरबा । एउटा जिउँदो इतिहास ,सभ्यता र पे्रमको छहारी ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार