कोहलपुरको हवल्दारपुरमा समुदायमा आधारित रोग निगरानीसम्बन्धी अभिमुखीकरण



कोहलपुर।

कोहलपुर नगरपालिका–१४, हवल्दारपुरमा समुदायमा आधारित रोग निगरानी प्रणाली (CBS) सम्बन्धी वडास्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमै रोगको प्रारम्भिक पहिचान गर्ने, समयमै सूचना प्रवाह गर्ने तथा जनस्वास्थ्य संरक्षणमा स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको हो।

कार्यक्रममा पब्लिक हेल्थ रिसर्च तथा डेभलपमेन्ट संस्थाकी सहजकर्ता एलिना थापाले समुदायमा आधारित रोग निगरानी प्रणालीको उद्देश्य, कार्यविधि र महत्त्वबारे सहजीकरण गरेकी थिइन्। उनले नेपालमा देखापरिरहेका विभिन्न सरुवा रोग, तिनका प्रारम्भिक लक्षण, जोखिम तथा रोकथामका उपायबारे जानकारी दिँदै रोग नियन्त्रणमा समुदायको भूमिकालाई महत्त्वपूर्ण रहेको बताइन्।

अभिमुखीकरणमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहजीकरणका क्रममा कुनै पनि असामान्य स्वास्थ्य समस्या वा रोगका प्रारम्भिक लक्षण देखिएमा ढिलाइ नगरी सम्बन्धित स्वास्थ्य संस्थामा सूचना दिनुपर्नेमा जोड दिइएको थियो। समयमै सूचना प्राप्त भएमा रोगको सम्भावित फैलावट रोक्न तथा समुदायलाई सुरक्षित राख्न सहज हुने बताइएको थियो।

कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रेम पाण्डेले ‘हेलो स्वास्थ्य सेवा’को टोल फ्री नम्बर १११५ बारे जानकारी गराएका थिए। उनले शंकास्पद रोग, असामान्य स्वास्थ्य अवस्था वा सम्भावित प्रकोपसम्बन्धी सूचना नागरिकले निःशुल्क रूपमा १११५ नम्बरमा फोन गरेर दिन सक्ने बताए। समयमै सूचना प्रवाह भएमा सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्न सक्ने र सम्भावित महामारीको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने पाण्डेको भनाइ थियो।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार