काठमाण्डौ ।
रसुवाको टिमुरेमा गएको भदौ १० गते गएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बगेको र ती गाडीसँगै ४४१ चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीबाट मालवाहक सवारीसाधन र त्यसमा संलग्न व्यक्तिमा ठूलो क्षति पुगेको हो ।
यातायात व्यवस्था विभागले भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्ने क्रममा सरकारी तथा गैरसरकारी निकाय, निजी सङ्घसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग तथ्याङ्क माग गरेको थियो । विभागले असोज २ गते सूचना निकाल्दै सात दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।
त्यही आग्रहअनुसार नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले असोज ५ गते आफ्ना सदस्य सङ्घ, समिति तथा कम्पनीबाट सङ्कलन गरिएको प्रारम्भिक विवरण विभागलाई उपलब्ध गराएको हो । नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुनबहादुर सापकोटाले थप विवरण सङ्कलन भइरहेको बताउनुभएको छ । उहाँका अनुसार थप तथ्याङ्क प्राप्त भएपछि बाढीमा बगेका गाडी तथा सम्पर्कविहीन व्यक्तिको सङ्ख्या बढ्न सक्नेछ ।
रासस









प्रतिक्रिया दिनुहोस्