नियात्राः माल–रोड र आश्चार्यचकित पार्ने नैनीताल



नरेन्द्र देवकोटा “प्रशान्त“

म सानै थिएँ, ६÷७ कलासमा पढ्दै थिँएँ, गाउँका मानिसहरू हिउँदमा हाट बजार जाने भनेर जुम्लादेखि नेपालगन्ज हुँदै भारत तर्फ जान लागेको दृश्य देखिरहेको हुन्थेँ । उनीहरू भारतका कुनाकुना पुगेर भोगेका कुरा मैले सुन्ने गरेको थिएँ, जुन कुरा धेरै वर्षपछि यतिखेर पनि सम्झिरहेको छुँ । दशैँ तिहारपछि हिउँदभरी जुम्लामा हुने हिमपातको चिसो समय छलेर फागुनदेखि चैत्रको दोस्रो हप्ता हटारुहरू घर जताबाट पनि पुगिसक्थे । चैत्र १२ गते जुम्लाका मानिसले मार्सी धानको बिज राख्ने प्रारम्भको दिन हो । जब हटारुहरू प्रदेशबाट हाटबजार गरेर गाउँमा पुग्दथे, उनीहरूले आफ्ना हिउँदभरी घटेका राम्रा नराम्रा घटना र पल सुनाउँदथे । ती मानिसहरूको कुरा सुन्दा एकादेशको कथा जस्तै लाग्दथ्यो । घरमा आउँदा डोको भरी, लुगा कपडा, भाँडावर्तन, अल्मोडामा बनेका तामाका खट्कुँडा, ठुलाठुला भड्डु, ओदान, तामाका गाग्री र ठुला भाँडाकुँडा भोजभतेर जस्ता साझा काममा काम लाग्दथे । यस्ता कुरा करिव २०४०÷४१ सानैदेखि सुन्दै देख्दै आएको थिएँ । भारतको रुपैडिया, नानपारा, नैनिताल, अल्मोडा, नयाँदिल्ली, लखनउ, बम्बै (मुम्बई ) सिमला, उत्तराखण्ड, उडिसादेखि हरिद्वार, गयाजी, बनारस अयोध्या जगन्नाथ बद्रिनाथ केदारनाथ धाम आदि ठाउँहरू घुमेका भोगाइहरु सुन्दा म आपूmलाई पनि आफ्ना पुर्खाहरू हाटबजार गरेको ठाउँहरूमा पुग्ने र देख्ने मन लागि रहेको हुन्थ्यो । धेरै समयपछि नैनीताल घुम्ने अवसर जुरेकोले मेरो मन र आँखा चङ्गाझैँ भएर उडिरहेका थिए । हुन त यसभन्दा पूर्व नयाँदिल्ली, अक्षरधाम, ताजमहल, उडिसा राज्यमा पर्ने जगन्ननाथ मन्दिर, अयोध्या लगायतका ठाउँसम्म पुगिसकेको थिएँ । एकचोटि नैनीताल लखनऊ, जस्ता ठाउँमा घुम्न मन लागिरहको थियो । नेपालगञ्ज स्थित उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता यदुनाथ शर्मा सर र साथी नरेन्द्र शाहीसँग नैनीताल घुम्न जाने फरक फरक सल्लाह भयो । हामी जाने भनेको समय गत साउनको १ गते शुक्रबारको २ बजे थियो, तर दिउँसोको चार बजिसकेको थियो । गुरुजी बालकृष्ण चौधरीलाई गाडी स्टार्ट गर्न लगायौँ र गुलरिया बर्दियाबाट राजापुरतर्फ हुईँकियौँ । बाटोमा गुलरिया र राजापुर जोड्ने कोठीयाघाट पुलमा पुगेर फोटो खिच्यौँ । कोठियाघाट पुल पश्चिम नेपालको सबैभन्दा लामो पक्कीपुल मानिन्छ । हामी राजापुर पुगेपछि राजापुर नगरपालिकाका कार्यकारी अधिकृत दशरथ बुढाले खाजा खाएर जान आग्रह गरे । खुवै मीठो खाजा खुवाई न्यानो आतिथ्यसाथ लम्कितर्फ पठाए । साँझको ६.०० बजिसकेको थियो । गोधुली साँझमा हामी लम्की हुँदै घोडा घोडी ताल कैलाली पुगेका थियौँ । एकछिन ताल हेर्दै फोटो र भिडियो बनायौँ । ढिलो भैसकेकोले अलमल नगरी महेन्द्रनगरतर्फ हुइँकियौ । बाटोमा सडक किनारमा घना जङ्गल देखिन्थे, जहाँबाट चिसो वासन्ती हावाको झोक्का आइ– रहेको थियो । गाडीभित्र झ्यालका पल्लाबाट आउने चिसो मधुर हावाले यात्रालाई थप आनन्द दिइरहेको थियो । माथि हेर्दा निलो आकाश रङ्गीन बनेकोझैँ निलो देखिन्थ्यो । धर्तिभरी गर्मी पोखिएको हो कि ? झैँ लागेको थियो । साउन महिनाको बाँके र बर्दियाको उखरमाउलो गर्मी छल्न नैनीताल घुम्न जानु यसबेला उपयुक्त समय नै लागिरहेको थियो ।

महेन्द्रनगरमा करिव रातको ९.०० बजे पुगेका थियौँ । पानी जोडले परिरहेको थियो । नैनीताल घुम्न अवरोध हुने जस्तो भैरहेको थियो । बाटोमा अवरोध हुन्छ कि ? भन्ने पिर थियो अर्कोतिर झरी परिरहेको बेला नैनीताल र वरपरका दृश्य बादल र कुहिरोका कारण देख्न सकिएन भने यात्राको मज्जा नआउन सक्छ भन्ने पनि डर लागिरहेको थियो । महेन्द्रनगरमा हरि भुजेलले खानपिनको बन्दोबस्त मिलाएका थिए । उनी उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासका कर्मचारी हुन् । कुनै बेला म उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरमा बस्दा उनलाई गुन लगाएको रहेछु । यसैले पनि हामीलाई सम्मान स्वरुप खानपिनको बन्दोवस्त मिलाएको हुनुपर्छ । सुत्नका लागि जिल्ला सरकारी वकील कार्यालय, कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता प्रकाश भण्डारीले व्यवस्था मिलाएका थिए । खानापछि हामी सुत्न त्यहीँ अफिसमा गएका थियौँ । भोलिपल्ट बिहान अलिअलि पानी परिरहेको भएपनि एकछिन पछि छर्लङ्ग आकाश खुलेको थियो । आकाश खुलेपछि चाँदनी शाहको पानी परेपछिको आकाश खुलेझैँ भन्ने गितको याद आयो । बर्षात रोकिएपछि गड्डाचौकी पुग्यौँ । गड्डाचौकीका सईसाव जीवन गुरुङले खाजाको व्यवस्था मिलाएका थिए । गड्डाचौकी घर भएका जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगरका भूतपूर्व सुब्बा छत्रबहादुर थापा म त्यहाँ आएको थाहा पाएपछि भेट्न उहीँ आएका थिए । उनले भारतमा पानी महङ्गो पर्छ भनेर दुई बोतल पानी मलाई नासो दिए । उनको अगाध माया सद्भाव देखेर म कृतज्ञ भएँ । गड्डाचौकीमा सिमाना छुट्याउने एउटा जङ्गे पिलर थियो, त्यसमा नेपाल ८०५÷१ (७) लेखिएको थियो । हामीले यहाँ सम्झना स्वरुप फोटोपनि खिच्यौँ । सईसावले गड्डाचौकी सिमानामा चेकिङ विना नै गड्डाचौकी जाँच सीमा कटाइदिए, ओर्लने र लाइन लाग्ने झन्झटबाट मुक्त गरिदिए । यदुनाध सर भन्दै हुनुहुन्थ्यो मलाई लक्षित गरेर– बर्दियामा बसेर महेन्द्रनगर सम्मका ठाउँमा हामीहरूलाई राम्रो सम्मान गरिरहेका छन्, खासमा तपाईंले के कस्तो गुन लगाउनु भएको थियो र ? मैले भने– साथीभाइलाई मेरो व्यवहार मन परेर होला यति धेरै सम्मान गरिरहेका छन् । हामी महाकाली नदीको बोर्डर पुल पार गरि आँप बगान हुँदै बनबासा बजार पुग्यौँ । महेन्द्रनगरसम्म अफिसको गाडी थियो महेन्द्रनगरबाट नैनीताल जाने भारतीय मानिसकै गाडी रिजर्भ गरेर गएका थियौँ । बनबासा नजिकको आँप बगान आँप पाकेको समयमा नेपाल र भारतका गाउँ गाउँसम्म नपुगेको सायद कमै होला । यो बगान साँच्चै हेर्न लायक देखिन्थ्यो । बादल छाएकोले गर्मीको दवाव सहनु परेन, यात्रा शीतलमय बन्न गयो । बाटोमा पर्ने जङ्गलमा वन्य संरक्षितक्षेत्र लेखिएको थियो । हामीले जङ्गली जनावर एउटा पनि देखेनौँ । बाटोमा उत्तराखण्ड भारत लेखिएका साइन बोर्ड देखिन्थे । अव नेपालका कुनै डाँडाकाँडा देख्न सकिने अवस्था थिएन । मलाई नेपालमा नेपाली जनजिब्रोले गाउने एउटा लोकगितको याद आयो–

“बम्बै जाने रेलगाडीका पैयन गुड्न लाग्या
नेपालका डाँडाकाँडा अब छुटन लाग्या ।”

यो लोकगितले साच्चिकै पराई देशमा पुग्दा आफ्नो देशको झझल्को गराईरहेको थियो । साइनवोर्डमा लेखिएको उत्तराखण्डले केही कुरा मलाई सम्झायो । उत्तराखण्ड केवल सामान्य नाम होइन, यसले उत्तराखण्डको भौगोलिक अवस्थिति, नामाकरण, स्थापना, प्रशासनिक विभाजन र धार्मिक एवं सांस्कृतिक महत्वलाई समेट्दछ । उत्तराखण्ड उत्तर भारतमा अवस्थित एक पहाडी राज्य हो । यसको भूभाग उत्तरमा चीन (तिब्बत) पूर्वमा नेपाल, पश्चिममा हिमाञ्चल प्रदेश र दक्षिणमा उत्तर प्रदेश सम्म फैलिएको छ । राजनीतिक तथा प्रशासनिक विभाजनलाई हेर्ने हो भने इन्साइक्लोपेडिया बृटानिकाका अनुसार सन् २००० को नोभेम्बर ९ का दिन उत्तर प्रदेशबाट छुट्टिएर यो भारतको २७ औँ राज्य बनेको थियो । यसलाई पहिले उत्तराञ्चल भनिन्थ्यो । सन् २००७ मा यसको नाम परिवर्तन गर्दा उत्तराखण्ड नाम राखियो ।  इन्साइलो बृटानिकाकै अनुसार देहरादून शीतकालीन राजधानी तथा सबैभन्दा ठुलो सहर हो र गैरसैँण ग्रीष्मकालीन राजधानी हो । यसको कुल क्षेत्रफल ५३,४८३ वर्ग किलोमिटर छ । यो राज्य गढवाल र कुमाऊँ गरी दुई भागमा विभाजित छ । धार्मिक र सांस्कृतिक महत्वका दृष्टिले धेरैजसो हिन्दु तीर्थस्थल र मन्दिरहरू यस भूभागमा रहेकाले यसलाई “देवभूमि” पनि भनिन्छ । हिन्दुहरूको प्रसिद्ध चारधाम केदारनाथ, बद्रीनाथ, गंगोत्री र यमुनोत्री यसै राज्यमा पर्दछन् । पवित्र नदीहरू गङ्गा र यमुनाको उद्गमस्थल पनि यहीँ हो । चारधाम तिर्थयात्रा, हरिद्वार, उत्तरकाशी, यमुनोत्री, माता यमुनाको पुण्यभूमि, गङ्गोत्री, केदारनाथ, बद्रीनाथ सबै तिर्थ यसै प्रदेशमा पर्दछन् । यसैले उत्तराखण्ड प्रदेश नेपालीहरूका लागि धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । उत्तराखण्ड प्रदेशभित्र पर्ने यो यात्रा यसैपनि लाभप्रद लागिरहेको थियो । .हामी बिस्तारै नैनिताल जाँदा बाटोमा पर्ने उकाला मोडमा उक्लिदाको पहाड स्थित नलैना, ज्योतिकोट, बेलुवाखान, भूमिया मन्दिरलाई देखिरहेका थियौँ । गाडीमा लैबर लै चौबन्दीमा उनेको फुर्के रुमाल खै ? भन्ने नेपाली गित पनि बजिरहेको थियो । नैनिताल कुनैबेला कर्णाली प्रदेशभित्र पर्दथ्यो । जुन कुरालाई प्राज्ञ रत्नाकर देवकोटाले– “कुल देवताको रुपमा पुजिने मष्टो र यसका विविध पक्ष” भन्न्ने लेखको पहिलो पृष्ठको पहिलो अनुच्छेदमा यस्तो लेख्नु भएको छ– नेपालका सुदुर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रभित्रका महाकाली, सेती भेरी कर्णाली र राप्ती अञ्चलका २४ जिल्ला पर्दछन् भन्ने कुरा सबैलाई विदितै भएको कुरा हो । उपर्युक्त सबै जिल्लाभित्रको भू–भाग मित्रराष्ट्र चीनको हालको स्वशासित क्षेत्र तिव्वतको भू–भाग र मित्रराष्ट्र भारतको हालको उत्तराञ्चल भित्र पर्ने कुमाउँ गढवाल, नैनीताल, काश्मीर, कालापहाड आदि ठाउँ पनि कर्णाली प्रदेशभित्र पर्दथे “भनेर उल्लेख गर्नु भएको छ । तेह्रौ शताब्दी सम्ममा पनि कर्णाली प्रदेशको फैलावट उत्तरमा मानसरोवर दक्षिणमा भारत पूर्वमा त्रिशुली नदि, पश्चिममा कुमाउ गढवाल र नैनितालसम्म थियो भनेर साहित्यिक योद्वा दैलेखका जगत् प्रसाद उपाध्यायले प्रेम प्रकाश मल्लको ९१ औँ जन्म जयन्ती रचनावली कृतिविमोचन समारोह २०८३÷४÷१६ मा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेको एक कार्यक्रममा बताउनु भएको थियो । यसैले पनि पुर्खाले आर्जेको उ बेलाको नैनीताल कस्तो थियो ?, तत्पश्चात आजसम्म आईपुग्दा कस्तो छ ? भनेर हेर्न जान जिज्ञासा बढिरहेको थियो । हामीले बाटोमा महेन्द्रनगरबाट नैनीताल पुग्न करिव ४ घण्टा लगाएका थियौँ । जबजब नैनीताल सहरको नजिक पुग्दै थियौँ उति उति नैनीताल सहर र ताल कस्तो होला भनेर अनेक कौतुहलता मनमा जागिरहेका थिए । नैनीताल पुग्नु अघि नैनीतालको दृश्यावलोकन गर्न कतिखेर पाइएला भनेर मुटुको धड्कन भन्दा तिव्र कौतुहलता जागिरहेको थियो ।

जब नैनीताल पुग्यौँ । उत्तरतर्फ भिरालो पाखामा रहेको सूर्य होटेलमा झोला राखी फ्रेस भएर नैनीतालमा घुम्न निस्क्यौँ । बेसीमा नैनीताल, छेउमै नैनीदेवी मन्दिर, ताल वरीपरी पक्की माल– रोड, माल रोडको डिलभरी तालबाट सुरक्षित रहन फलामे तथा स्टिल रेलिङ बार लगाइएका थिए । तालका माथि उत्तरतिर बजार अनि होटेल थिए । तालको दक्षिणतिर पाखामा बाख्ला वस्तीको सहरनै थियो । पूर्व पश्चिम भने अलि पातलोवस्ती जस्तो लाग्यो । हामीले नैनीतालको दर्शन र बजार घुमघाम साँझ पख गर्यौँ । साँझमा नैनीताल सहर अत्यन्त व्यस्त, रमाइलो र बिजुली बत्तीको फरक फरक रङ्गको प्रकाशले दिपावलीको साँझजस्तै बहुतै झकिझकाउ थियो । करिव रातको ९.०० बजे सम्म घुम्यौँ । दिउँसोतिर खाना खाएकाले साँझको खाना हल्का– फुल्का मात्र खायौँ । नैनीताल पुग्ने बित्तिकै त्यहाँ माल रोड छेउ गाडी पार्किङ गराएको भारतिय रुपैयाँ ३००÷ बुझाउनु पर्दोरहेछ । होटेल बर्दियाबाटै बुक गरेका थियौँ । भारतिय डलर रु. ६०००÷ मा एउटा बक्समा ३ वटा कोठा मिलेका थिए । भारतको उत्तराखण्ड स्थित कुमाउ क्षेत्र नजिक पर्ने “नैनीताल“ सम्पुर्ण भारतीय नागरिकहरुको लागि उच्च लेक अर्थात प्रमुख हिल स्टेशनको रुपमा मानिदो रहेछ । नैनीताल सेरोफेरोमा पर्ने नैनी झील, नैना देवी मन्दिर, नैनीतालको वरिपरि रहेको माल रोड नैनीतालका मुख्य मुख्य आकर्षण स्थल मानिदा रहेछन् । नैनीताललाई भारतको उत्तराखण्ड राज्यमा पर्ने एक प्रसिद्ध ठाउँको रुपमा लिईँदो रहेछ । समुद्र सतहबाट करिब ६३४६ फिट उचाइमा अवस्थित यस सहरलाई भारतीय एवं नेपाली पर्यटकको लागि महत्त्वपूर्ण एवं शुन्दर पर्यटकीय सहर मानिनन्छ । यस सहरको नाम यहाँको नैनी तालबाट राखिएको हो । यसलाई भारतको “तालहरूको जिल्ला” पनि भनिदो रहेछ । नैतितालको नामाकरणबारे बुझ्दै जाँदा एक मान्यता अनुसार अत्रि, पुलतस्य लगायत अर्का एक ऋषिले मानसरोवरबाट यौटा प्वाल खनेर पानी ल्याएका रहेछन्, जसलाई त्रिऋषि सरोवर भन्न थालिएछ ।

भगवान शिवले सतिदेवीको मृत शरीर बोकेर हिँड्दा यहाँ माता सतीको बायाँ आँखा खसेकाले नैनीताल नाम रहन गएको हो भन्ने भनाई प्रचलित रहेछ । मलाई कैलाश पर्वत स्थित मानसरोवरबाट प्वाल पारी ल्याएको पानीले नैनीताल बनेको हो भन्ने पौराणिक कथा र माता सतीदेवीको बायाँ आँखा खसेकाले नैनीदेवी ताल नाम रहन गएको हो भन्ने किंवदन्ती सुनेर म आश्चार्चकित भएँ । सायद यहाँ आउने सबै यात्रुहरू आश्चर्य चकितमा पर्नु हुन्छ होला । आधुनिक खोज र बेलायती शासनकालको एक तथ्य अनुसार बृटिस शासन काल सन् १८४१ मा एक व्यापारी पीटर बैरन (ए। द्यबचचयल) ले नैनीतालको सुन्दरता देखेर यसलाई बाहिर ल्याउने काम गरेका थिए । सन् १८४२ मा व्यापारी पीटर बैरन (ए।द्यबचचयल) ले यहाँ पहिलो घर ’पिलग्रिम’ (एष्निचष्m) कटेज समेत बनाए । पछि अङ्ग्रेजहरूले यसलाई आफ्नो अधिनमा लिएका थिए । सन् १८६२ मा संयुक्त प्रान्त (ग्लष्तभम एचयखष्लअभक) को ग्रीष्म कालीन राजधानी बनाए, जब यहाँ ग्रीष्मकालीन राजधानी बन्यो तब यस राजधानीले यस सहरको विकासको तीव्र रुप दियो । नैनी ताल सहरको बीचमा रहेको आँखाको आकारको सुन्दर ताल, जहाँ डुङ्गामाथि चढेर धित मर्नेगरी रमाइलो लिन सकिन्छ । यस तालको पश्चिम किनारमा प्रसिद्ध धार्मिक स्थल नैनीदेवी मन्दिर रहेको छ भने तालको वरिपरि घुम्न र किनमेल गर्नका लागि रमाइलो र सुन्दर सडक रहेको छ, जसलाई माल–रोड (ःबिि च्यबम) भनिन्छ । कतै हिमाल कतै सेता चुचुराहरू स्पष्ट देखिने ठाउँमा स्नो भ्यु प्वाइन्ट रहेको छ । यही ठाउँबाट हिमाल हेर्न तराई क्षेत्रका नेपाली यात्रु, भारतीय नागरिक र बाह्य मुलुकका यात्रुहरु नैनीताल घुम्न आउने गर्दा रहेछन् । माल रोड र आसपासका प्रमुख तिव्बती मार्केट र भोटिया बजारमा पाइने प्रसिद्ध वस्तुहरूमा आकर्षक डिजाइनका फलफूल आकारका हस्त निर्मित तथा सुगन्धित मैनबत्तीहरूको लागि नैनीतालका यी ठाउँ विश्वभरका लागि प्रसिद्ध रहेछन् । यसका साथै कुमाउनी शैलीमा हातले बुनिएका उनी कपडा सल, स्विटर, ज्याकेट, मफलर र टोपीहरू सस्तो मूल्यमा पाइने रहेछन् । नैनीताल महङ्गो बजार जस्तो लागेपनि यहाँ काठका कलाकृतिहरू सल्लो र अन्य पहाडी काठबाट बनेका किचनमा चाहिने र सजावटका घरेलु सामग्रीहरू रहेछन् । नैनीतालको माल रोड,भोटिया र तिव्बती बजारमा खानको लागि पाइने बाल मिठाई लगायत फलफूलका उत्पादनहरू जाम, जेली, जुस, स्क्वास र अचारहरू रहेछन् ।

नैनीताल स्थित प्रमुख पर्यटकीय स्थलहरूः

माल रोडकै किनारमा नैनी झील (ीबपभ) अवस्थित छ । यस झीलमा आन्तरिक एवं बाह्य पर्यटकहरूले बोटिङ (नौकाविहार) गरेर मज्जा लिन सक्दछन् । नैनी झील लेक (ताल) को उत्तरी किनारमा अवस्थित प्रसिद्ध शक्तिपीठ नैनी देवी मन्दिर रहेको छ । यहाँ स्नो भ्यू प्वाइन्ट पनि रहेछन् । माल रोड नजिकै हिमालका सुन्दर चुचुराहरू हेर्न देख्न सकिने स्थानहरू पनि रहेछन् । यहाँ नैनीताल मात्र देखिएपनि यहाँ इको केभ गार्डेन पनि रहेछ, यहाँ जनावर आकारका प्राकृतिक गुफाहरू भएको पार्क रहेछ जुन बच्चाहरू र एड्भेन्चर मन पराउने यात्रुका लागि उपयुक्त रहेछ जहाँ समयभावका कारण घुम्न सकेनौँ । माल रोडबाट केही उचाइमा जीबी पन्त उच्च हिमाली चिडियाखाना (ल्बष्लष्तब िश्यय) रहेछ । यस चिडियाखानामा विभिन्न जातका जङ्गली जनावरहरु देख्न पाइने रहेछ, जहाँ पुग्न गाडीमा करिब १४ मिनेट जति लाग्ने रहेछ । चिडियाखानामा बाघ भालु चित्तल रेडपाण्डा लगायतका जङ्गली जनावर र डाँफे, कालिज लगायतका जातजातका आकर्षक पशुपन्क्षी पनि पाइने रहेछन् । हामी मौसम त्यति अनुकुल नभएकोले घुमेनौँ । मौसमपनि झरी लागेर घरी हुस्सुले ढाक्ने, घरी कुहिरो फैलिने गरेको थियो । प्रकृतिको यो लुकामारीमा जङ्गलको बीचमा जान अनुकुल मौसम थिएन । यहाँबाट सम्पूर्ण नैनी ताल सहर र वरपरका पहाडहरूको उत्कृष्ट दृश्य देख्न सकिने रहेछ । पिकनिक स्पटमा पनि घुम्न सकिने रहेछ । हामी पिकनिक स्पटतर्फ गएनौँ । बिहानमा नैनीताल र माल रोड वरपर मौसम सफा भएर घुम्न सहज भएको थियो । हामीले नैनीताल, मालरोड नजिकका वस्ती, प्रसिद्व व्यक्ति महात्मा गान्धीको शालिकसँगै फोटो खिच्यौँ । नैनीतालवासी मिलेर महात्मा गान्धीले भारतलाई स्वतन्त्र बनाउन खेलेको भूमिकालाई सम्मान गर्न शालिक बनाएको हुनुपर्छ । अङ्ग्रेजहरूले नैनीतालमा बनाएका चर्चहरू शैक्षिक, प्रशासनिक, आवास, पुस्तकालय, लगायतका संरचना देख्न सकिन्थ्यो । नैनीतालको पूर्वि किनारको एउटा खम्वामा रङ्गिन डाँफे चरा बनाएर राखिएको रहेछ । नेपालको राष्ट्रिय चराले नैनीतालमा उच्च स्थान पाई पर्यटकको मन लोभ्याइ रहेको देख्न पाउँदा अत्यन्त खुसी लाग्यो ।

अङ्ग्रेज हरू नैनीताल प्रवेश गर्नु अघि यो भूभाग नेपालको सिमानामा पर्दथ्यो । सन् १८१४–१६ बीचमा नेपाल–अङ्ग्रेज युद्ध भयो । यसपश्चात सुगौली सन्धि भयो । सुगौली सन्धिपछि कुमाउ क्षेत्र ब्रिटिश साम्राज्यको नियन्त्रणमा आयो । तत्पश्चात अङ्ग्रेजहरूले नैनीताल ताल (ल्बष्लष् ीबपभ) को वरिपरि युरोपेली शैलीका भव्य बङ्गला, भिल्ला र रिसोर्टहरू निर्माण गरे । ब्रिटिश अधिकारी र सैनिकका छोराछोरी पढाउन प्रतिष्ठित आवासीय विद्यालयहरू सेरवुड कलेज, सेन्ट जोसेफ कलेज, र सेन्ट मेरी नामक स्कूलहरू खोले । उनीहरूले बजार क्षेत्रमा, सडक, खानेपानी, ढल, चर्च र सेनेटरी (अस्पताल) बनाए । जसलाई आज नैनीतालको रुपमा देख्न सकिन्छ । हामी करिव बिहानको ९.०० बजेतिर कैँचीधामतिर लाग्यौँ । नैनीतालबाट झर्दा मौसम प्रतिकुल भई १० मीटर बाटो पनि देख्न मुस्किल भएको थियो । कैँँची धाम पुग्न करिव एक घन्टाजति लाग्यो । खोला किनारमा कैँची धाम मन्दिर रहेछ । आफूले किनेको प्रसाद फलफूल र कपडा मन्दिरमा देखाएर आफैले फिर्ता ल्याउने अनौठो प्रचलन रहेछ ।
मौसम प्रतिकुल नहुँदै हामी दिउँसो समयमै महाकाली टनकपुर बाँध पुल पार गर्यौँ । फर्किदापनि सईसावले सुरक्षाकर्मी र गाडी सुरक्षाजाँच स्थलसम्म पठाईदिएकाले कुनै झन्झट भएन । सईसाव, छत्र सुव्वासाव र हरिभुजेल भाइलाई धन्यवाद दिई पर्सिपल्ट आफ्नै अफिसमा आईपुग्यौँ । यात्रा सफल भएकोमा जय नैनीदेवी माँ भन्दै निद्रादेवीको साथमा पुग्यौँ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार