बाढीमा कर्णालीका १८५ जना सम्पर्कविहीन



नन्दराम जैशी । सुुर्खेत ।

भोटेकोशीको भीषण बाढीपछि कर्णालीका एक सय ८५ जना सम्पर्कविहीन भएका छन् । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कर्णालीका एक सय ८५ जना सम्पर्कविहीन भएका हुुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार हालसम्म आफन्त तथा परिवारका सदस्यले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा टिपाएको प्रारम्भिक विवरण हो । सम्पर्कविहीन हुनेहरूमा कर्णालीका १० जिल्लाबाट अधिकांश व्यक्तिहरू सडक तथा जलविद्युत् आयोजनामा मजदुरी गर्न गएकाहरू हुन् ।

साथै अध्ययन, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूको पनि अवस्था अज्ञात रहेको प्रहरीमा जानकारी आउन थालेको छ । हालसम्म उपलब्ध तथ्यांकअनुसार सम्पर्कविहीन हुनेहरूमा एक सय ५३ पुरुष, २५ महिला, चार बालक र तीन बालिका रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा धेरै जुुम्लाका ७० जना र सल्यान जिल्लाका ४९ जना रहेका छन् । हाल उनीहरू सबैको अवस्था अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार रसुवा र नुवाकोट जिल्लामा सडक र जलविद्युत् आयोजनामा मजदुरी तथा अन्य कामको सिलसिलामा रहेका व्यक्ति सम्पर्कविहीन छन् । आफन्तहरू परिवारको सम्पर्कमा नरहेको भन्दै विवरण टिपाउने काम जारी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्ने उनले बताए । परिवार तथा आफन्तले टिपाएको विवरणअनुसार सम्पर्कविहीन व्यक्तिको अवस्था बुझ्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । यस्तै सुर्खेतका १५ पुरुष र एक महिला गरी १६ जना, दैलेखका ६ पुरुष र एक महिला गरी सात जना सम्पर्कविहीन छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुुसार जाजरकोटका दुुई पुरुष, रूकुमपश्चिमका सात पुरुष, चार महिला र एक बालिका गरी १२, जुम्लाका ७० पुरुष, हुम्लाका ६ पुरुष, दुुई महिला, एक बालक गरी ९ जनाको अवस्था अज्ञात छ । यस्तै डोल्पाका एक पुरुष र एक महिला गरी दुई, मुगुका आठ पुरुष, चार महिला र एक बालक गरी १३, कालीकोटका तीन पुरुष, दुुई महिला र एक बालक गरी ६ जनाको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठोरका अनुसार यो सङ्ख्या अझै बढ्न सक्ने अनुुमान छ ।

यता आफन्तहरू भने सरकारी उद्धार टोलीले सम्भावित स्थानमा पुगेर खोजी तथा उद्धारमा जुुट्न आग्रह गरेका छन् । उनीहरूका परिवारले फोन तथा अन्य सञ्चार माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क स्थापित हुन नसकेको जनाएका छन् । कतिपय परिवारका सदस्यहरू आफ्ना आफन्तको अवस्था बुझ्न आफैँ घटनास्थलतर्फ जाने तयारीमा रहेको स्थानीय बताउँछन् । सरकारी संयन्त्रबाट प्रभावकारी र तीव्र उद्धार हुनुपर्ने उनीहरूको माग छ । बाढीपछि उत्पन्न मानवीय संकटसँगै सम्पर्कविहीनको सङ्ख्या बढ्दै गएपछि प्रभावित परिवारमा त्रास बढेको छ ।

एकातिर आफन्तको अवस्थाबारे जानकारी नहुनु र अर्कोतिर उद्धार तथा खोजी कार्य जोखिमपूर्ण हुनु परिवारका लागि थप पीडादायी बनेको हो । ‘बाढीले क्षति पु¥याएका क्षेत्रमा तत्काल खोज तथा उद्धार टोली परिचालन, सञ्चार सम्पर्क पुनःस्थापना र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियोस्,’ एक स्थानीयले भने, ‘सम्पर्कविहीन व्यक्तिहरूको खोजी, घाइते तथा जोखिममा रहेकाको उद्धार र प्रभावित परिवारलाई तत्काल सूचना उपलब्ध गराइयोस् ।’

१५ प्रदेशसभा सदस्यले गरे सहयोग

यता रसुवामा बाढीले जनजीवन प्रभावित भइरहेका बेला नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले बाढीपीडितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । काँग्रेस कर्णाली प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले बाढी प्रभावितका लागि दुुई लाख ५० हजार रूपैयाँँ सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको संसदीय दलले जनाएको छ । संसदीय दलको निर्णयअनुसार कर्णाली प्रदेशसभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यले जनही १५ हजार रूपैयाँँका दरले रकम संकलन गर्नेछन् । उनीहरूको व्यक्तिगत योगदानबाट संकलित रकम विपद् प्रभावितको राहत र पुनस्र्थापनामा प्रयोग हुने गरी सरकारी कोषमा पठाउने छन् ।

प्रदेशसभा सदस्य बेदराज सिंहका अनुसार बैठकले बाढीपीडितको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग गर्ने निर्णय गरेको हो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उद्धार र दीर्घकालीन पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोगको निर्णय गरिएको उनले बताए । विपद्को समयमा राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिबाट पीडितको पक्षमा सहयोग र ऐक्यबद्धता आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ । यसैगरी बैठकले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले समेत आर्थिक सहायता उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलले प्रदेश सरकारलाई औपचारिक रूपमा सहायता उपलब्ध गराउन आग्रह गर्ने भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार