‘खुला संसद् र युवा’ संवादः कानुन बनाउने थलोप्रति युवाको चासो बढाउने प्रयास



धनगढी ।

संसद् भन्नासाथ धेरै युवाको मनमा अझै पनि औपचारिक बैठक, भाषण र राजनीतिक बहसको चित्र आउँछ । तर, संसद् केवल जनप्रतिनिधि बसेर कानुन बनाउने ठाउँ मात्र होइन– नागरिकका आवाज, प्रश्न, अपेक्षा र सरोकार पुग्ने लोकतान्त्रिक थलो पनि हो । यही सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्यले धनगढी स्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)मा ‘खुला संसद् र युवा’ विषयक प्यानल छलफल तथा अन्तरक्रिया आयोजना गरियो । कार्यक्रममा विद्यार्थी तथा युवाले प्रदेशसभाको काम, कानुन निर्माण प्रक्रिया, नीति निर्माणमा नागरिकको पहुँच र निर्णय प्रक्रियामा युवाको भूमिकाबारे प्रत्यक्ष रूपमा प्रश्न राख्ने अवसर पाए ।

सृजनशील वातावरण संरक्षण तथा समाज विकास नेपालको आयोजना, सुदूरपश्चिम प्रदेशसभा सचिवालयको समन्वय तथा युएनडीपी (संसद सहयोग परियोजना)को सहकार्यमा आयोजित कार्यक्रम औपचारिक मन्तव्यमा मात्र सीमित रहेन । संसद् र नागरिकबीचको दूरी कसरी घटाउने भन्ने विषयमा प्रत्यक्ष संवादको माध्यम बन्यो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।

उनका अनुसार लोकतन्त्रको प्रभावकारिता निर्वाचनमा मत हाल्ने प्रक्रियामा मात्र सीमित हुँदैन । नागरिकले संसद् कसरी चल्छ, कानुन कसरी बन्छ र जनप्रतिनिधिले कसरी काम गर्छन् भन्ने विषयमा जानकार र चासो राख्ने हुनुपर्छ । विशेषगरी युवा पुस्ताले संसदीय गतिविधिलाई नजिकबाट बुझ्न सके सुशासन र जवाफदेहिताको संस्कार थप बलियो बन्ने उनको धारणा थियो । ‘कानुन निर्माण प्रक्रिया र संसद्का काम–कारबाहीबारे युवा पुस्ता जानकार हुनुपर्छ,’ सभामुख भण्डारीले जोड दिए । कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष युवालाई केवल श्रोता होइन, प्रश्नकर्ता बनाइनु थियो ।

अन्तरक्रियामा सहभागी विद्यार्थी तथा युवाले प्रदेशसभाको वास्तविक भूमिका, नीति निर्माणमा नागरिकको पहुँच, जनप्रतिनिधिसँगको संवाद र निर्णय प्रक्रियामा युवाको सहभागिताबारे जिज्ञासा राखे । प्रदेशसभा सदस्य लक्ष्मी विकले पनि युवालाई नीति निर्माणको तहसँग जोड्न यस्ता खुला छलफल प्रभावकारी हुने बताइन् । उनका अनुसार नीति निर्माणमा युवाको सहभागिता केवल प्रतिनिधित्वको विषय होइन, उनीहरूको अनुभव, सिर्जनशीलता र नयाँ सोचलाई राज्य सञ्चालनसँग जोड्ने अवसर पनि हो ।

संसद् बुझ्न कार्यपत्रदेखि प्रत्यक्ष संवादसम्म

कार्यक्रममा प्रदेशसभाका प्रशासकीय अधिकृत युवराज जोशीले प्रदेशसभाको संरचना, कार्यप्रणाली तथा कानुन निर्माणका विभिन्न चरणबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे । पत्रकार सबिता बुढाले सहभागी र अतिथिबीच संवाद चलाइन । प्रदेशसभा कसरी गठन हुन्छ ? विधेयक कसरी प्रस्तुत हुन्छ ? छलफल र समितिको भूमिका के हुन्छ ? कानुन निर्माणमा जनप्रतिनिधि र नागरिकको भूमिका कहाँ रहन्छ ? जस्ता विषयलाई युवामाझ स्पष्ट पार्ने प्रयास गरियो ।

संसदीय प्रक्रियाका यस्ता विषय सामान्य नागरिकका लागि प्रायः जटिल र औपचारिक लाग्न सक्छन् । तर, संसद्का निर्णयले नागरिकको दैनिक जीवनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सामाजिक न्यायसम्म प्रत्यक्ष प्रभाव पार्ने भएकाले संसदीय प्रक्रियाको आधारभूत जानकारी नागरिकका लागि महत्वपूर्ण हुन्छ । कार्यक्रममा युएनडीपीकी प्रतिनिधि क्यारिना श्रेष्ठको पनि विशेष उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार