कैलाली ।
नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । आफ्ना सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको विषयलाई लिएर काँग्रेसले सभामुखको भूमिका तटस्थ नभएको आरोप लगाएको हो । मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत मागेका बेला प्रदेशसभा बैठकमा बोल्दै काँग्रेस सांसद विक्रमसिंह धामीले निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउँदा आफ्नो पक्ष राख्ने अवसरसमेत नदिइएको भन्दै आपत्ति जनाए ।
‘निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउँदा स्पष्ट पार्ने मौका दिनुपर्ने हो,’ उनले भने, ‘उचित सुनुवाइको अवसर नदिई पदबाट हटाउनु लोकतान्त्रिक मान्यताविरोधी हो ।’ विश्वासको मत प्रस्तावमाथिको छलफलका क्रममा देउवालाई पदमुक्त गरिएको प्रसंग उठाउँदै धामीले सभामुखप्रति व्यंग्य गर्दै ‘सभामुख महोदय भनौँ कि सांसद पदका यमराज ?’ भनेका थिए ।
धामीको उक्त अभिव्यक्तिप्रति सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीका सांसद ओमविक्रम भाटले आपत्ति जनाए । उनले उक्त शब्द संसदको अभिलेखबाट हटाउन माग गरेका थिए । यस्तै सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशसभाका सदस्य देउवालाई एकाएक हटाइएको विषयमा प्रश्न उठाएका छन् । उनले कुनै व्यक्तिलाई जिम्मेवारीबाट हटाउँदा प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिसँग कम्तीमा एकपटक छलफल गर्नुपर्ने बताएका हुन् ।
प्रदेशसभा सदस्य प्रकाश देउवालाई एकाएक किन हटाइयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने शाहको भनाइ छ । ‘प्राकृतिक न्यायको आधारमा सम्बन्धित व्यक्तिलाई एकपटक पनि नसोधी यो गर्नु उचित होइन,’ उनले भने । सभामुख भिम बहादुर भण्डारीले कुनै अमुक उद्देश्य प्राप्तिका लागि आफ्ना गतिविधि अगाडि बढाउन नहुने बताउँदै शाहले सभामुखले आफ्नो पदको मर्यादा र प्रदेशसभाको गरिमालाई समेत ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई सहयोग पुग्ने गरी सभामुखले निर्णय गरेको भन्दै शाहले त्यसप्रति आफ्नो असहमति रहेको बताए । संवैधानिक र कानुनी प्रक्रियाअनुसार सरकार अघि बढ्दा आफूहरूको कुनै अवरोध नरहने स्पष्ट पार्दै उनले कुनै छलफल नगरी एकाएक निर्णय गर्नु उचित नभएको बताए । सभामुखले आफ्नो अधिकार १० दिन अगाडि २० दिन अगाडि वा १ महिना अगाडि पनि गर्न सक्थे। किन गरेनन् ? निवर्तमान मुख्यमन्त्रीले प्रश्न गरे ।









प्रतिक्रिया दिनुहोस्