अर्गानिक महको मूल्य वृद्धि भएपछि व्यवसायप्रति किसानको आकर्षण



जुम्ला ।

जिल्लामा उत्पादन हुने अर्गानिक महको मूल्य हालसम्मकै उच्च भएपछि मौरीपालन व्यवसायप्रति किसानको आकर्षण बढ्न थालेको छ । वर्षौँदेखि चरण क्षेत्रको अभाव, रोग–किराको प्रकोप, जलवायु परिवर्तन र बजारको अनिश्चितताबीच जोखिम मोलेर मौरीपालन गर्दै आएका किसान मूल्यवृद्धिसँगै उत्साहित बनेका हुन् । किसानहरूका अनुसार यसले मौरीपालनलाई थप व्यावसायिक बनाउने विश्वास पलाएको छ ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले चालू आर्थिक वर्षका लागि महको मूल्य उल्लेख्य रूपमा वृद्धि गरेको हो । यसले जिल्लाभरका मौरीपालक किसानमा नयाँ आशा जागेको छ । यसअघि किसानले बजारअनुसार फरक–फरक मूल्यमा मह बेच्नुपर्ने बाध्यता थियो । अहिले सरकारी दररेटले मूल्यमा एकरूपता ल्याएको भन्दै किसानले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन् ।

पातारासी गाउँपालिका–७ का मौरीपालक किसान टंक रावतले मूल्यवृद्धिले जोखिम मोलेर मौरीपालन गरिरहेका किसानलाई ठूलो राहत पुगेको बताए । उनीसँग हाल करिब एक सय मौरीघार छन् । गत वर्ष प्रतिकिलो १८ सय रुपैयाँमा मह बिक्री गरेका उनले वार्षिक करिब आठ लाख रुपैयाँसम्म कारोबार गर्दै आएका छन् । यस वर्ष प्रतिकिलो महको मूल्य एक्कासि ७०० रुपैयाँसम्म बढेपछि आफूहरू थप उत्साहित भएको उनी बताउँछन् ।

‘विगतमा महको मूल्य किसानअनुसार फरक–फरक हुन्थ्यो । कतिले सस्तोमा बेच्नुपथ्र्यो भने कतिले केही बढी पाउँथे,’ उनले भने, ‘हाल जिल्ला दररेट निर्धारण समितिले मूल्य तोक्न थालेपछि बजार व्यवस्थित भएको छ, लामो समयदेखिको हाम्रो माग सम्बोधन भएको छ ।’ उनका अनुसार रोग–किराको संक्रमणले मौरी बचाउन निकै कठिन बन्दै गएको छ । सरकारले अनुदान कार्यक्रम सञ्चालन गरे पनि संकटको बेला प्राविधिक सहयोग र रोग नियन्त्रणमा प्रभावकारी हस्तक्षेप हुन नसकेको किसानहरूको गुनासो छ ।

जिल्ला दररेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा महको मूल्य प्रतिकिलो करिब ५०० रुपैयाँले बढाएको जनाएको छ । गत वर्ष प्रतिकिलो १८ सय देखि दुुई हजार रुपैयाँसम्ममा बिक्री हुने महको मूल्य यस वर्ष उल्लेख्य रूपमा बढेपछि किसानले उत्पादन विस्तार गर्ने तयारी थालेका छन् । महसँगै मौरीघारको मूल्यसमेत पुनर्निर्धारण गरिएको छ । मौरीसहितको स्थानीय घारको मूल्य प्रतिगोटा १० हजार रुपैयाँ कायम गरिएको छ, जुन गत वर्ष नौ हजार रुपैयाँ थियो ।

तर मौरीबिनाको स्थानीय घारको मूल्य भने ६ हजार रुपैयाँमा झारिएको छ । यस्तै मौरीसहितको जुम्ली टपबार घारको मूल्य १३ हजार रुपैयाँ, मौरीबिनाको टपबार घार आठ हजार रुपैयाँ, कम्तीमा नौ फ्रेम भएको न्युटन खाली घार पाँच हजार रुपैयाँ, सुपरसहितको खाली घार सात हजार रुपैयाँ तथा मौरीको प्रतिफ्रेम १५ सय रुपैयाँ निर्धारण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

उनका अनुुसार जुम्लामा उत्पादन हुने अर्गानिक मह सुर्खेत, नेपालगन्ज, पोखरा, काठमाडौँलगायत देशका प्रमुख बजारसम्म पुग्ने गरेको छ । जुम्लामा लामो समयदेखि अर्गानिक मिनी मार्केट सञ्चालन गर्दै आएका रिसिराम पाण्डेका अनुसार जुम्ली महको माग बर्सेनि बढ्दो क्रममा छ । उच्च हिमाली क्षेत्रमा प्राकृतिक रूपमा उत्पादन हुने जुम्ली मह औषधीय गुणयुक्त र स्वादिष्ट मानिन्छ । यही कारण बजारमा यसको माग निरन्तर बढिरहेको छ ।

तर बढ्दो मागअनुसार उत्पादन वृद्धि हुन नसक्नु अर्को चुनौती बनेको छ । कृषि कार्यालयको तथ्यांकअनुसार जुम्लाका आठवटै स्थानीय तहका ६० वटै वडामा मौरीपालन हुने गरेको छ । जिल्लाभर करिब आठ हजार मौरीघार रहेका छन् । तर महबाट वार्षिक कति आम्दानी हुन्छ भन्ने यकिन तथ्यांक अझै तयार हुन सकेको छैन ।
मौरी विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा डोजर प्रयोग गरी जथाभावी सडक विस्तार, वन क्षेत्रको क्षयीकरण, चरण क्षेत्रको कमी, रासायनिक विषादीको प्रयोग तथा जलवायु परिवर्तनका कारण मौरीको वासस्थान र आहारमा असर परेको छ ।

यी कारणले मौरीपालन व्यवसाय नै संकटतर्फ धकेलिने जोखिम बढेको उनीहरूको भनाइ छ । महको मूल्यवृद्धिले किसानमा नयाँ उत्साह ल्याए पनि व्यवसायको दिगोपनाका लागि रोग–किरा नियन्त्रण, प्राविधिक सेवा विस्तार, चरन क्षेत्र संरक्षण, विषादीको प्रयोग नियन्त्रण र उत्पादनको ब्रान्डिङमा राज्यले विशेष ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा मूल्य बढेको उत्साह दीर्घकालसम्म टिकाउन कठिन हुने मौरीपालक किसानहरूको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार