सुर्खेत ।
कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी अझै फेला पर्न सकेको छैन । नदीमा जलसतह बढेका कारण गाडी पूर्ण रूपमा डुबेको र उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र. ०२–००१ ख. १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो ।
दुर्घटनापछि भिरमा अचेत अवस्थामा अड्किएका एक जना पुरुषको उद्धार गरिएको छ । उनको नाम र ठेगाना खुल्न बाँकी रहे पनि उनको मृत्यु भइसकेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल सेना तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका सुरक्षाकर्मीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन् ।
साथै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाको नेतृत्वमा गोताखोरसहितको टोली पनि सुर्खेतबाट घटनास्थलतर्फ प्रस्थान गरेको थियो । प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट बिहान ८ बजे छुट्दा पाँच जना सवार रहेको जानकारी प्राप्त भए पनि बाटोबाट थप यात्रु चढेका हुन सक्ने भएकाले दुर्घटनाका बेला गाडीमा कति जना थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
त्यसैले बेपत्ताको वास्तविक सङ्ख्या पनि पुष्टि हुन बाँकी छ । गाडी डुबेको स्थान प्रहरीचौकी पाल्तडाबाट करिब तीन किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ । घटनास्थलको भौगोलिक अवस्था जटिल तथा नदीको बहाव उच्च रहेकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्