नेपालगन्ज क्षेत्रमा अघोषित लोडसेडिङ



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित गरिमा पोलिमर इन्डष्ट्रिज प्रालिका सञ्चालक गौरव डागा विद्युत कटौतीले उद्योग सञ्चालन गर्नै समस्या भइरहेको बताउँछन् । ‘भोल्टेज गइहाल्छ। भोल्टेज कम भएपछि बन्द भएको मेसिनहरू पुनः सञ्चालनमा ल्याउन ढाई, तीन घण्टा लागिहाल्छ । फेरि सुरु गर्यो । लाइन फेरि जान्छ । मेसिन चलेन भने लेबरको पनि बेकार खर्च हुन्छ,’ डागाले भने । नेपाल हब्र्स प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक सकील अहमद जसगढको पनि डागाको जस्तै अनुभव छ ।

लो भोल्टेजले मेसिनहरू एक्कासी बन्द हुनेदेखि पार्टपुर्जा बिग्रने समस्याहरू आजित बनाइरहेको जसगढले बताए । जसगढले अहिले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले विद्युतको समस्या समाधान गर्ने अपेक्षा रहेपनि त्यस्तो हुन नसकेको बताए । विद्युत अनियमित र लो भोल्टेजले नेपालगन्जका उद्योगहरू मात्रै प्रभावित भएका छैनन्, यहाँको जनजीवन नै कष्टकर भइरहेको छ । स्थानीय ओम पियुश बनियाँ भन्छन्, ‘दिनभरी बत्ति आउने जाने गर्छ ।

कहिले भोल्टेज कम हुने कहिले धेरै । यस्तो गर्दा घरमा भएको फ्रिजÞ, टिभी, फ्यान र एसी बिग्रियो भने यसको जिम्मेवारी कसले लिन्छ ? रातभरि बच्चाहरू सुत्न पाउन्नन्। दिनभरी मान्छे काम गरेर राति सुत्न पाउन्नन् । आखिरमा विद्युत प्राधिकरणले गर्न के खोजेको हो ?’ देशकै बढी गर्मी हुने स्थानमा पर्नेे नेपालगन्ज क्षेत्रमा हरेक गर्मी मौसममा विद्युत अनियमितता र लो भोल्टेजको समस्या निम्तने गरेको छ । जसले गर्दा पंखा, एसी, कूलरले काम नगर्ने तथा बिग्रने र अन्य विद्युतीय उपकरणमा पनि क्षति पुग्ने गरेको छ ।

पछिल्ला वर्षमा विद्युत कटौति तुलनात्मक रूपमा घटेपनि लो भोल्टेजको समस्या भने जस्ताको तस्तै छ । यद्धपि अहिले पनि समय समयमा हुने विद्युत कटौतिले नागरिकहरूले सास्ति खेपिरहेका छन् । पछिल्ला केही दिनयता मध्यरातमा विद्युत कटौति हुँदा नागरिकहरूको निद्रासमेत विथोलियो । यसरी विद्युत कटौति हुँदा विद्युत प्राधिकरणले ‘सिस्टम फेल’ भएको बताउने गर्दछ । सिस्टम फेल हुँदा पुनः आपूर्ति सुचारु गर्न आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने भनेर जानकारी दिइएपनि त्यसभन्दा दोब्बर समयसम्म विद्युत कटौति हुने गरेको छ ।

यस्तो समस्या दोहोरिएपछि नेपालगन्जका स्थानीयहरू आक्रोशित भइरहेका छन् । विद्युत कटौतिले उद्योगहरूले एकैदिन लाखौँको घाटा व्यहोर्नुपरिरहेको उद्योगीहरूको भनाइ छ । उद्योगी डागाले मिसन टुडेसँग भने, ‘प्लाष्टिकको सामान बनाउँदा प्लाष्टिक दाना पगाल्नु पर्ने हुन्छ । तर, बिचमै विद्युत कटौति भयो पगालिएको प्लाष्टिक चिसो भइसकेको हुन्छ । दोहोरो तेहेरो काम गर्नुपर्दा हाम्रो खर्च धेरै नै बढेको छ ।’ नेपाल विद्युत् प्राधिकरणले भारत तथा बंगलादेशलाई प्रतिदिन १७ हजार मेगावाट आवर विद्युत निर्यात गरिरहेको छ । तर, नेपालभित्रै सबैभन्दा बढी गर्मी हुने सहरमा भने नागरिकहरू विद्युत आपूर्तिमा हुने कटौति र गुणस्तरहीन विद्युतको मारमा छन् ।

उद्योगी जसगढले भने, ‘विद्युत विदेशमा बेचिरहेको भनेर एकातर्फ खबर आउँछ । अर्काेतर्फ हामी यता विद्युत कटौतिले हैरान छौँ । पहिला देशभित्रकै नागरिकहरूलाई कसरी गुणस्तरीय विद्युत उपलब्ध गराउने भन्नेमा पो सरकारको ध्यान हुनुपर्ने हो ।’ तर, अहिले भइरहेको विद्युत कटौति र भारतमा भइरहेको निर्यातको कुनै सम्बन्ध नरहेको विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सन्जय कुुमार मिश्रा बताउँछन् । उनका अनुुसार नेपालगन्जमा विद्युत कटौतिको मुख्य कारण राष्ट्रिय प्रसारण लाइनबाट आउने विद्युत आपूर्ति नै बन्द हुनु रहेको बताउँछन् । मिश्राले नेपालगन्जमा पछिल्लो वर्षमा विद्युत कटौति निकै कम भएको दाबी समेत गरे ।

समस्या समाधानका लागि ३३ केभिएको सर्किट थप्नुपर्ने

विद्युत प्राधिकरण नेपालगन्ज वितरण केद्रका प्रमुख मिश्राका अनुसार अहिले उत्पादन केन्द्रसँग जोडिएको १३२ केभिए क्षमताको राष्ट्रिय प्रसारण लाइनबाट कोहलपुरस्थित ग्रिडमा आउँछ । ग्रिडहरू विद्युतको होलसेलर जस्तै पावर आपूर्ति केन्द्र हुन् । कोहलपुर ग्रिडबाट उक्त विद्युत ३३ केभिए क्षमतामा झारेर नेपालगन्ज ल्याइने गरिन्छ ।

जब राष्ट्रिय प्रसारणको लाइनमै विद्युत आपूर्ति भन्द हुन्छ तब ‘सिस्टम फेल’ भएको भनिने मिश्रा बताउँछन् । अहिले नेपालगन्जमा हुने विद्युत कटौति यही सिस्टम फेलकै कारण हुने गरेको उनले बताए । यस समस्याको समाधानका लागि कोहलपुरबाट नेपालगन्ज विद्युत पठाउनका लागि थप ३३ केभिए विद्युत सर्किट थप्नुपर्ने उनले बताए । यसका लागि कोहलपुरदेखि पिप्रहवा चोकसम्म ३३ केभिए क्षमताको लाइन बिस्तारका लागि टेण्डर भएर अहिले काम अघि बढिरहेको उनले जानकारी दिए । उक्त काममा पनि स्थानीयहरूको अवरोध रहेकोले काममा ढिलाई भइरहेको मिश्राको भनाइ छ ।

‘तर यसमा धेरै कठिनाई हामीलाई भइरहेको । अहिले हामी कोहलपुर वडा नम्बर ९ सम्म पुगेका छौँ । त्यहाँ स्थानीयहरूले विरोध गरेपछि काम रोकिएको छ’ मिश्राले भने। अर्काेतिर राष्ट्रिय प्रसारण लाइन नै बन्द हुनुको कारणमा विद्युत उत्पादनभन्दा खपत बढी हुनु वा कुनै विद्युत उत्पादन केन्द्रको विद्युत उत्पादनमा प्राविधिक समस्या आउनु हुने गरेको उनी बताउँछन् । यस्तो बेला मागलाई आपूर्तिले धान्न नसकेपछि विद्युत लाइनले धान्न नसकेर बन्द हुने गरेको उनको भनाइ छ ।

यस समस्याको समाधानका लागि पनि राष्ट्रिय प्रसारण अवरुद्ध हुने अवस्थामा पनि नेपालगन्ज तथा पश्चिम नेपालका गर्मी हुने क्षेत्रलाई पहिलो ग्राह्यता दिएर विद्युत सुचारु गर्ने व्यवस्था गर्नका लागि केन्द्रका पटकपटक ध्यानाकर्षण गराइसकेको पनि मिश्राले बताए । अर्कोतिर देशभित्रै विद्युतले माग धान्न नसक्ने अवस्थामा भारतमा विद्युत किन बेचिरहेको भन्ने प्रश्न पनि कतिपय उठाउने गरेको भन्दै मिश्राले विद्युत निर्यातसँग अहिले हुने गरेको कटौतिको सम्बन्ध नरहेको बताए ।

उनले भने, ‘विद्युत बेचिरहँदा हामी फेरी भारतबाटै किन्छौँ पनि । किनभने विद्युत भएर मात्रै हुँदैन, त्यसलाई बोक्ने प्रसारण लाइन पनि चाहिन्छ । त्यसकारण विद्युत प्रसारण लाइनले धान्न नसक्ने विद्युत बेचिरहँदा बेचेकै कारणले विद्युत कटौति भयो भन्न मिल्दैन ।’ मिश्राले पछिल्लो नेपालगन्जको आन्तरिक वितरण प्रणालीका कारण विद्युत कटौति निकै कम भएको पनि दाबी गरे । उनले भने, ‘नेपालगन्जको आन्तरिक कारणले विद्युत कटौति भएको छैन । हामीले पछिल्ला वर्षहरूमा ट्रान्सफर्मर थपेका छौँ । यसैगरी फिडरहरू पनि बढाएका छौँ । जसले आगलागी तथा अन्य कुनै विपद्का बेलाबाहेक नेपालगन्जको आन्तरिक लाइनका कारणले विद्युत कटौति भएको छैन ।’

यसैगरी वर्षा लाग्नुअघि नै तार फेर्ने तथा बिग्रिन सक्ने उपकरण मर्मत तथा फेरबदल गर्ने काम सकिसकेको उनले दाबी गरे । झाका अनुसार नेपालगन्जमा न्यून भोल्टेज हुनुको पनि मुख्य कारण विद्युत उत्पादन केन्द्रबाट नेपालगन्जको दूरी टाढा हुनु हो । ‘नजिक उत्पादन केन्द्र छैन् । टाढाबाट ल्याइएको विद्युतको भोल्टेज बाँडिदा बाँडिदै नेपालगन्जसम्म आइपुग्दा निकै कम भएसकेको हुन्छ,’ उनले भने । भोल्टेजको समस्या समाधानका लागि भने दीर्घकालमा नेपालगन्ज आसपासकै क्षेत्रमा कुनै विद्युत उत्पादन केन्द्र निर्माण हुनु आवश्यक रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार