लुम्बिनीमा ४ मन्त्रीको राजीनामा स्वीकृत, नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया अघि बढ्यो



लुम्बिनी ।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट सहभागी ४ जना मन्त्रीले सामूहिक रूपमा दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेमबहादुर सारू र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्रीले मन्त्रीहरूको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी १ साउनदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ । सत्ता साझेदार दलहरूबीच सरकारको नेतृत्व परिवर्तनसहित पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्य यथावत् रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको जनाएको छ ।

सत्ताको सहयात्री दल कांग्रेसले भने नेतृत्व नै परिवर्तन गर्नुपर्ने अडान राख्दै आएको छ । यहाँ सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वसहमतिअनुसार अब कांग्रेसले नेतृत्व पाउनुपर्ने उसको अडान छ । कांग्रेसबाट मुख्यमन्त्री बन्ने व्यक्ति भने अझै टुंगो लागिसकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार