कागकोटमा फोरजी सेवा चलेपछि स्थानीय खुसी



डोल्पा ।

जिल्लामा नेपाल टेलिकमले छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । कागकोटमा फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् । दुर्गम क्षेत्रमा पहिलोपटक गुणस्तरीय मोबाइल इन्टरनेट सेवा विस्तार भएपछि स्थानीयको दैनिक जीवन, शिक्षा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा सहजता आएको हो ।

यसअघि फोन सम्पर्क र इन्टरनेट सेवामा समस्या झेल्दै आएका स्थानीयवासीले अब सहज रूपमा भिडिओ कल, अनलाइन अध्ययन, सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल सेवा प्रयोग गर्न पाएका छन् । फोरजी सेवा सञ्चालनसँगै सरकारी कामकाज तथा सूचना आदानप्रदान समेत छिटो र प्रभावकारी भएको स्थानीयले बताएका छन् ।

स्थानीयवासीका अनुसार दुर्गम भूगोलका कारण लामो समयदेखि भरपर्दो सञ्चार सेवाको अभाव थियो । अहिले फोरजी सेवा सुरु भएपछि गाउँपालिकावासीमा उत्साह थपिएको छ । विशेषगरी विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा व्यवसायीलाई सेवा विस्तारले धेरै राहत पुगेको जनाइएको छ । गाउँपालिकाले सञ्चार पहुँच विस्तारसँगै डिजिटल प्रविधिको उपयोग बढ्ने विश्वास व्यक्त गरेको छ ।

स्थानीय सरकारले दुर्गम बस्तीमा सञ्चार सेवा विस्तार हुनु विकासको महत्वपूर्ण आधार भएको जनाएको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए ।

उनका अनुसार नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या अब ७५० पुगेको छ । माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी छ ।

नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ । फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुने अपेक्षा छ । साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु¥याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार