धनगढीको भ्रमण टोली बाटोबाटै फिर्ताः लाम्पाटामा किन हुँदैछ चौकी निर्माणमा अवरोध ?



कैलाली ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत बाजुराको रानीसैन गइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाको भ्रमण टोली बाटोबाटै फिर्ता भएको छ । असुरक्षाको कारणले उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल नेतृत्वको ४० सदस्यीय भ्रमण टोली हिमाली गाउँपालिका–३ लाम्पाटाबाट फिर्ता भएको हो ।

त्यहाँबाट रानीसैन पुग्न झण्डौ पाँच घण्टा लाग्छ । लाम्पाटामा प्रहरी चौकी निर्माणको विषयमा केही दिनदेखि विवाद हुँदै आएको छ । हुम्लाका नागरिकले चौकी निर्माणमा पटकपटक अवरोध गर्दै आएका छन् । मंगलबार उपमहानगरको भ्रमण टोली लाम्पाटा पुग्दा हुम्लाका स्थानीय हातपातमा उत्रिएपछि पाँच जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सो क्रममा पाँच जना घाइते भएका हुन् ।

बाजुराकै भूमिमा पर्ने लाम्पाटामा हुम्लावासीले प्रहरी चौकी निर्माणमा अवरोध गर्नुको कारण भने खुलेको छैन । स्थानीयका अनुसार उक्त क्षेत्र जडीबुटीका लागि प्रख्यात छ । प्रहरी चौकी स्थापना भएपछि जडीबुटी संकलनमा समस्या हुने डरले हुम्लावासीले चौकी निर्माणमा अवरोध गरेको बताइएको छ ।

लाम्पाटा विवाद समाधान गर्न बाजुराका स्थानीय तहको माग

बाजुराको उत्तरपूर्वका चार स्थानीय तहका प्रमुखहरूले लाम्पाटा क्षेत्रको विवाद समाधान गर्न माग गरेका छन् । हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढीनन्दाका अध्यक्ष तथा नगरप्रमुखले विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

‘सत्य तथ्य र प्रमाणका आधारमा यस विवादको निराकरण गरी थप दुर्घटनाबाट जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समितिको कार्यालय बाजुरा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, नेपाल सरकार गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साक्या लाग्नाभन्दा तलका जेखुङ्गखर्क, लेप्चेखर्क, मायोङ्ग्खर्क, रानीखर्क, धौली खर्क, च्याचौर र लाम्पाटा बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै त्यहाँका स्थानीय नागरिकले उपभोगको आधारमा आफ्नो हो भनी स्थानीय नागरिकमाथि गरिएको हमला निन्दनीय हुनुका साथै रानीसैन क्षेत्र र सिमावर्ती क्षेत्रका जनताको दाबी निराधार र तथ्यहीन छ ।’

हिमालीका अध्यक्ष गोबिन्दबहादुर मल्ल, स्वामीकार्तिकका अध्यक्ष भरतबहादुर रोकाया, जगन्नाथका अध्यक्ष कालीबहादुर शाही र बुढीनन्दाका नगरप्रमुख जनककुमार बोहराले २०८३ जेठ ३ गते हिमाली गाउँपालिकाको टोलीसहित कर्मचारी र हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ भन्ने अभियानमा रहेका धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालसहित पत्रकारहरू रानीसैनको पयर्टन प्रवद्र्धन गर्ने उद्देश्यले जाने क्रममा गरिएको सांघातिक हमला तथा कुटपिटको घोर भत्सना तथा निन्दा व्यक्त गरेका छन् ।

‘बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं ३ स्थित लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं २ थालीलगायत उक्त क्षेत्रका स्थानीय नागरिकहरू आएर एक्कासि आक्रमण गर्दा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं ३ बस्ने वडा सदस्य पेमा गारा गुरुङ्ग, लक्ष्मी गुरुङ्ग, मिन कुवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि हमला गर्ने दोषीउपर कानुनबमोजिम कडाभन्दा कडा कारबाही प्रक्रिया अगाडी बढाइ दिनहुन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हिमाली गाउँपालिकाको वडा नं ३ को क्षेत्रमा पर्ने लाम्पाटा, च्याचउर रानीसैन साविक बिच्छ्या गाविसका ८ नागरिकले उपभोग गर्दै आएको र नेपाल सरकारको नापी विभागले सन २००१ मा फिल्ड भेरिफिकेसनसहित जारी गरिएको नेपालको नक्सा सिट नं २९८१.०३ मा स्पष्टसँग साक्या लाग्ना, डाँडालेप्च्या र ठोसाभन्दा माथि हुम्ला र तल बाजुरा भन्ने छुट्याइएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार